पाेखराका कानुन व्यवसायीको कोरोना बिमा
समाधान संवाददाता
पोखरा, ३० चैत
नेपाल बार एसोसिएसन उच्च अदालत पोखराले आफ्ना सदस्यहरुको कोरोना बिमा गर्ने भएको छ । कोरोनाका संक्रमण बढेका र लागि हालेमा पनि केही राहत हुने भएकाले उच्च बारको अग्रसरतामा बिमा गर्न लागिएको हो ।
शिखर इन्स्योरेन्समार्फत बिमा गराउने गरी बारले ३३ प्रतिशत अर्थात् २ सय रुपैयाँ र सदस्यको तर्फबाट ६६ प्रतिशत अर्थाथ् ४ सय रुपैयाँ लगानी हुनेगरी बिमा गर्ने निर्णय भएको उच्च बार पोखराका अध्यक्ष रोहितराज बास्तोलाले जानकारी गराए । संस्थामा ४ सय ६२ सदस्य रहे पनि इच्छुककाे मात्र बिमा गरिने भएकाे छ ।
यसका लागि सहसचिव मीना रानाभाटको संयोजकत्वमा ईश्वर चिलुवाल सदस्य र दीपेन्द्र अर्याल सदस्यसचिव रहने गरी समिति बनाइएको छ ।
बारको शुक्रबारको बैठकले कोरोनाबाट प्रभावित कानुन व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले राहत कोष सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसैगरी कार्यालयमा पूर्व अध्यक्षहरुको फोटो राख्न सहयोग गर्ने समितिलाई धन्यवादका साथै अधिवक्ता कृष्णप्रसाद तिमिल्सिनाकी आमाको निधन भएकोको शोक प्रस्ताव समेत पारित गरिएको छ ।
तपाईको प्रतिक्रिया