नेकपा २७ द्वारा स्वास्थ्य तथा खाद्यान्न सामग्री वितरण

समाधान संवाददाता
पोखरा, ३० जेठ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २७ कमिटीले जनप्रकाश माविको क्वारेन्टिनमा बसेका व्यक्तिहरुलाई स्वास्थ्य तथा खाद्यान्न उपलब्ध गराएको छ । पोखरा २९ स्थित उक्त विद्यालयको क्वारेन्टिनमा विभिन्न मितिमा भारतबाट आएका २३ जना बसिरहेका छन् ।
नेकपा २७ का अध्यक्ष सूर्यमणि लामिछानेले वडाध्यक्ष चेतबहादुर गुरुङलाई स्यानिटाइजर, मास्क, खानेपानी, बिस्कुट र साबुन हस्तान्तरण गरेका हुन् ।
‘क्वारेन्टिनको व्यवस्थापनमा सहयोग पुगोस् भनेर हामीले सहयोग गरेका हौं,’ नेकपा २७ का अध्यक्ष सूर्यमणि लामिछानेले भने, ‘हाम्रै छिमेकी वडामा भएको र हाम्रै वडाबासी पनि त्यहाँ रहेकाले उनीहरुको व्यवस्थापनमा कमी नहोस् भनेर सहयोग उपलब्ध गराएका हौं ।’ क्वारेन्टिनमा वडा २७ का ७ जना छन् ।
कोरोना महामारीका कारण मुलुक बाहिरबाट आउने व्यक्तिहरुलाई स्थानीय तहले महानगर भित्र विभिन्न ठाउँमा क्वारेन्टिनमा व्यवस्थापन गरिरहेको छ ।
समुदायमा संक्रमण फैलिन नदिन मुलुकबाहिर आउने व्यक्तिहरुलाई क्वारेन्टिनमै राखेर लक्षण परीक्षण गर्न सरकारले निर्देशन जारी गरेको छ ।
तपाईको प्रतिक्रिया