न्यायाधीशमाथि नै अन्याय

समाधान संवाददाता २०७७ जेठ ३० गते १८:५८

भरत कोइराला
पोखरा

Advertisement

पाल्पाको व्राह्मण परिवारमा जन्मे हुर्केको १ युवाको लक्ष्य थियो सरकारी अफिसर । साथीभाइ र परिवारले त्यसैमा हौस्याउँथे । बिएल उत्तीर्ण गरेपछि लोकसेवाकै तयारीमा लागे । लगातार लगावको परिणाम चैत २०३९ मा सरकारी वकिलमा नाम निकाले । पहिलो पोस्टिङ भयो जिल्ला सरकारी वकिल कार्यालय लमजुङ । बढुवा हुँदै उच्च अदालतको मुख्य न्यायाधीशसम्म पुगे ।

उनै यज्ञप्रसाद बस्यालले आइतबारबाट अनिवार्य अवकाश पाउँदैछन् । न्यायालय, बार र सामाजिक वृत्तमा निकै इमान्दार कहलिन्छन् । झन्डै ४ दसकको जागिरे जीवनमा उनी विवादमा आएनन् । न्यायसम्पादनका क्रममा दबाब र प्रभाव पनि आए होलान् । तर ती सबै दबाब र प्रभावमा नपरी उनले निरन्तर न्याय सम्पादन गर्दै आए ।

Advertisement

लगाव र इमान्दारिताकै कारण उच्च अदालतको मुख्य न्यायाधीशसम्म पुगेका बस्याललाई सर्वोच्चको ढोका पनि खुलै थियो । समयमै परिषद बसेर निर्णय गरिदिएको भए उनी सर्वोच्चको न्यायाधीशमा नियुक्त हुने सम्भावना थियो । विडम्बना सरकारलाई लकडाउन वाहाना बनेको छ । त्यसको मारमा परे न्याय क्षेत्रका १ इमान्दार सिपाही ।

उच्च अदालत बार पोखराले शुक्रबार उनलाई औपचारिक कार्यक्रमका साथ बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा उनी धेरै बोलेनन् । जागिरे जीवनको सुरुदेखिका केही प्रंसग कोट्याए । उनले भने, ‘जागिरे जीवनमा कोहीसँग केही गुनासो रहेन, जाने बेलामा एउटा धोको बाँकी नै रह्यो, समयमै परिषदको निर्णय नहुँदा आफैलाई न्याय परेन कि भन्ने लागेको छ ।’

Advertisement

हुन पनि अहिले सर्वोच्च अदालतमा न्यायाधीशको २ दरबन्दी खाली छ । बस्याल वरिष्ठताका हिसावमा ३ नम्बरमा पर्छन् । १ नम्बरमा कुमार चुडाल, २ नम्बरमा नहकुल सुवेदी छन् । नहकुल सुवेदी सिधै उच्चको मुख्य न्यायाधीशमा नियुक्त भए पनि कार्यकाल ५ वर्ष पुगेको छैन ।

प्रधानन्यायाधीश अध्यक्ष रहने परिषदको बैठक बेलैमा बसेको भए उनी २ वर्ष सर्वोच्चको न्यायाधीश हुनेथिए । त्यसो त वरिष्ठताका आधारमा कुमार चुडाल यस अघि नै सर्वोच्चमा नियुक्त हुनुपर्ने थियो । तर उनीभन्दा कनिष्ठतालाई नियुक्त गरेपछि उनी पालो कुरेरै बसेका छन् । यही अवस्था रह्यो भने उच्च अदालत जनकपुरमा मुख्य न्यायाधीश हरिप्रसाद पोखरेल पनि सर्वोच्चमै नपुगी अवकाश पाउनेछन् । हरिप्रसाद पोखरेल साउनको पहिलो साता अनिवार्य अवकाश पाउँदैछन् । न्यायाधीशको उमेर हद जिल्ला र उच्चमा ६३ र सर्वोच्चमा ६५ वर्ष छ ।

उच्च अदालत बार पाेखराका अध्यक्ष राेहितराज बास्ताेला न्यायाधीश बस्याललाई मायाकाे चिनाे हस्तान्तरण गर्दै ।

केही वर्ष पहिला माधव चालिसे पनि यसैगरी कोपभाजनमा परेका थिए । वरिष्ठताको आधारमा अगाडि रहे पनि परिषदले बेलैमा निर्णय नगरिदिएका कारण उच्च अदालत पोखराबाटै उनी २०७० असार २५ बिदा भएका थिए । त्यसो त २०६८ चैत २६अवकाश लिएका हरिराम कोइराला, २०६८ चैत २८ मा अवकाश लिएका जागेश्वर सुवेदी, २०६९ भदौ १ मा अवकाश लिएका हरिबाबु भट्टराई, २०६९ असोज ४ मा अवकाश लिएका अलि अकबर मिकरानी पनि मुख्य न्यायाधीश भएर पनि सर्वोच्च टेक्न पाएनन् ।

चालिसेसँगै २०७० मा अवकाश पाएका हरिप्रसाद घिमिरे (वैशाख ४), विश्वनाथ जोशी (वैशाख १९), खेमराज शर्मा (वैशाख २३), लोकेन्द्र मल्लिक (साउन २१), केशरीराज पण्डित (असोज २२), केशवप्रसाद मैनाली (माघ १) र दुर्गाप्रसाद उप्रेती (फागुन ५) मुख्य न्यायाधीश भएर पनि सर्वोच्च पुग्न पाएनन् । खिलराज रेग्मी सरकार प्रमुख भएपछि कामु प्रधानन्यायाधीश भएका दामोदर शर्माका पालामा जिल्ला र उच्च अदालतमा नियुक्तिको सिफारिस गरिए पनि सर्वोच्चमा नियुक्त गर्न नसक्दा त्यतिबेला उच्चका मुख्य न्यायाधीशहरु मर्कामा परेका थिए ।

उच्च बार पोखराले शुक्रबार गरेको बिदाइ समारोहमा न्यायाधीश बस्यालले गण्डकीमा पहिलो नियुक्ति भएर गण्डकीबाट अवकाश पाउनु सुखद संयोग रहेको भनाइ राखे । लमजुङमा जिल्ला सरकारी वकिलको नियुक्ति पाएका उनले अञ्चल सरकारी वकिलको कार्यालय पोखरामा पनि केही समय काम गरे । जिल्ला न्यायाधीशमा नियुक्त भएपछि उनले गोरखा जिल्ला अदालतमा काम गरे । पछिल्लो पटक पोखरामा उनी ११ महिनाअघि हाजिर भएका थिए । फौजदारी मुद्दामा बढी काबिल मानिएका उनले अदालतले गरेका फैसला र आदेश कार्यान्वयन नभएकोमा दुख मनाउ गरे ।

बिदाइ कार्यक्रममा उच्च बार पोखराका अध्यक्ष रोहितराज बास्तोलाले झण्डै १ वर्षको अवधिमा न्यायाधीश बस्यालले पोखरामा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे । गएको वर्ष विवादास्पद आदेशका कारण उच्च अदालत पोखराका २ न्यायाधीशले राजीनामा दिनुपरेको र १ जना बर्खास्तीमै परेको घटना दुखदायी रहेको भन्दै अब पोखराले यस्ता घटनाको सामना गर्नु नपरोस भनी कामना गरे । प्रादेशिक क्षेत्राधिकारको विषयमा गम्भीर त्रुटि गरी आदेश गरेकै कारण न्यायाधीशद्वय रामचन्द्र यादव,जीवनहरि अधिकारीले राजीनामा दिएका थिए भने नरबहादुर शाहीलाई बर्खास्तीमा परेका थिए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे, पदमपाणि देवकोटा, बार काउन्सिल सदस्य मुकुन्द अर्याल, जिल्ला बार अध्यक्ष मुक्तिनाथ सापकोटा, उच्च बारका पूर्व अध्यक्ष जगन्नाथ ढकाल, उच्च बार सहसचिव मीना रानाभाट लगायतले शुभकामना व्यक्त गरे ।


उच्च अदालत पाेखरा परिवारले गरेकाे बिदाई ।

तपाईको प्रतिक्रिया