गोरखामा पिसिआर मेसिन किन्ने तयारी

समाधान संवाददाता २०७७ जेठ ३० गते १९:१७

मोहसिन अलि मियाँ
गोरखा

पिसिआर मेसिन खरिद गर्नका लागि गोरखामा प्रक्रिया सुरु भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा जिल्लाका स्थानीय तहहरुका प्रमुख लगायत सरोकारवालाहरुको बैठकले जिल्लामै पिसिआर मेसिन मार्फत कोरोना भाइरसको परिक्षण गर्न सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो ।

बैठकले गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको संयोजकत्वमा ३ सदस्यीय अध्ययन समिति बनाएको छ । समितिमा स्वास्थ्य कार्यालय गोरखाका प्रमुख विद्या तामाङ, जिल्ला अस्पतालका डा. कमल रोका छन् । कोरोना भाइरस जिल्लामै परिक्षण गर्न गोरखाका ११ वटै स्थानीय तहको संयुक्त लगानी मार्फत पिसिआर मेसिन खरिद गर्न लागिएको हो । त्यसका लागि पहिलो चरणमा समितिले जिल्लामा त्यसको सभ्भाब्यता अध्धयन गर्ने जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले बताए ।

Advertisement

सम्भावना, मूल्य, प्राविधिक विषय, जनशक्ति, प्रयोगशाला लगायतका विषयमा नगरप्रमुख पन्तको संयोजकत्वको समितिले अध्ययन गरी आगामी बैठकमा प्रतिवेदन पेश गर्नेछ । सो पश्चात अर्को प्रक्रिया सुरु गरिने प्रमुख गुरुङले बताए । त्यस्तै बैठकले जिल्लामा निर्माण गर्न लागिएको १ सय ६५ बेडको आइसोलेसन कार्य सम्पादन समिति समेत गठन गरेको छ । समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ संयोजक रहने गरी समिति बनाइएको हो ।

सदस्यहरुमा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा छन् । यस्तै गरी बैठकले गोरखा नगरपालिकाका उपप्रमुख विनाकुमारी श्रेष्ठको संयोजकत्वमा जिल्ला स्तरीय अनुगमन समिति समेत बनाएको छ ।

Advertisement

समितिमा जिल्लामा क्रियाशील राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज संसंस्थाका प्रतिनिधी, पत्रकार लगायत सदस्य रहनेछन् । समितिले जिल्लामा निर्माण भएका क्वारेन्टिन, आइसोलेसन लगायतको गुणस्तर, ब्यवस्थापन, सेवा प्रवाह लगायतका क्षेत्रमा अनुगमन गर्नेछ ।

गोरखाबाट हालसम्म कोरोनाको पिसिआर परिक्षणका लागि गण्डकी प्रदेशको राजधानी पोखराका साथै काठमाडाै पठाइँदै आएको छ । हालसम्म गोरखाका ११ वटै स्थानीय तहमा गरी ६ सय ६ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन भएकोमा १४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ३ सय ४० जनाको रिपोर्ट आउनै बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।

संक्रमण देखिएकामध्ये ९ जना गण्डकी, ४ जना भिमसेन थापा गाउँपालिका र १ जना पालुङटार घर भई प्रहरी हिरासतमा रहेकालाई कोरोना देखिएको हो । हाल उनीहरुलाई गोरखा अस्पतालको आइसोलेसनमा राखिएको छ । उनिहरुको पछिल्लो स्वास्थ्य अवस्था स्थिर रहेको र कसैलाई पनि कुनै समस्या नदेखिएको जिल्ला अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया