आऊ युवा क्वारेन्टाइन बनाउन जाऊँ

समाधान संवाददाता २०७७ जेठ ३१ गते १४:०७

विवेक त्रिपाठी

कोभिड १९ चीनको बुहानबाट सुरु भएर विश्वभर माहामारीको रुपमा फैलिरहेको छ। जसबाट हाम्रो मुलुक नेपाल पनि अछुतो रहन सकेन । हाम्रो मुलुकमात्र होइन विश्वका कुनै पनि मुलुक यो संकटसँग अछुतो रहन सकेनन् । तर,यो महामारीसँग जुद्ध सक्ने पूर्व तयारी पनि त कसैसँग थिएन । अन्य मुलुकका सिकाइ सिक्दैजाँदा तयारी थपिँदै गएका छन् ।

आशा गरौं निकट भविष्यमा उपचार पत्ता लाग्ला । हाम्रो देशमा पनि संक्रमण देखिएपछि क्वारेन्टाइन,कोरोना परीक्षण लगायत व्यवस्थापन तीब्र गतिमा गर्नुपर्ने भयो र गरियो र अहिले पनि गरिँदैछ । तर कतिपय कुरालाई लिएर केही विवाद पनि भएको छ। जस्तो अमेरिकामा पनि कोरोना टेस्ट किटलाई लिएर विवाद छ।

Advertisement

हाम्रो मुलुकमा पनि विभिन्न कोणबाट यसको रोकथामका कुरा उठेका छन्, त्यो स्वाभाविक हो। उठ्नुपर्छ समाधानका उपाय खोजिनुपर्छ बल्ल हामी यो युद्ध जित्नेछौं । तर त्यो सुस्प्रष्ट हुनुपर्छ । तार्किक हुनुपर्छ ।

नयाँ रोगका कारण सिंगो मानव समुदाय हामी सबै त्रसित छौं । त्रासका कारण हामी त्यस प्रति बढी सजग पनि छौं । यो सान्दर्भिक कुरा छ । तर, हाम्रो मुलुकमा भएका पछिल्ला केही घटनाक्रमले अब त्रास आक्रोशमा परिणत गरिन खोजे जस्तो लाग्दै छ। जब मान्छेले चेतना गुमाउँछ हिंस्रक बन्छ ।

Advertisement

हिंसाको परिणाम के हुन्छ भनेर म बबुरोले तपाईंहरुलाई बुझाइ रहनु नपर्ला । तपाईंहरु जान्ने हुनुहुन्छ । हाम्रो डरको फाइदा उठाएर हामीलाई हिंस्रक बनाउन खोज्ने खालका गतिविधि देखिन थालेका छन् । यो प्रवृत्ति गलत छ । सजग रहनुपर्छ भन्ने सन्देश भावसहितको आलेख हो यो।

म केही उदाहरण दिन चाहन्छु र आन्दोलनकर्ताहरुलाई प्रश्न गर्न चाहन्छु। हाम्रो सरकार छ हामीलाई जोगाई हाल्छ नि भनेर डान्सबार,पब,हुल र भिडभाड गर्दै हिँडे्ने नागरिकको विश्वास भएका मुलुकमा त सरकारले हात उठाउनुपरेको उदाहरण हाम्रो आँखा अगाडि नै छन् । हाम्रो देशमा त सरकारले अब जोगाउँदैन भन्ने लागेर नै सडकमा उत्रिएकाले विश्वास गर्ने त कुरै भएन ।

म सोध्न चाहन्छु तपाईंहरुले कोरोनाबाट बँच्न चालेका कदम के के हुन् ?कति नागरिकलाई कोरोना संक्रमित हुनबाट जोगाउनुभयो ? क्वारेन्टाइन डब्लुएचओको मापदण्ड अनुसार भएन भनेहरु डब्लुएचओले नै भनेको भिड जम्मा नगर्नुहोस् । सार्वजनिक स्थलमा नजानुस्, भनेको किन भुल्नु भएको ?

किन नमान्नु भएको ?कति नागरिकहरुलाई डब्लुएचओको प्रोटोकल अनुसारको क्वारेन्टाइन बनाएर तपाईंहरुले राख्नुभयो ? सिर्फ हंगामा गरेर अभियन्ताको ठूलो माला भिर्न सक्नुहोला तर असल नेता बन्न सक्नु हुन्न । असल नेता सही मार्ग निर्देश गर्छ समाधानका उपायहरू देखाउछ आफै समाधान गर्छ ।

भिडभाड खोज्दैन । त्यसैलेत डाक्टर ललितकुमार दासहरु जस्ता भिड खोज्दैनन् । एउटा भोटले नेता बदल्न सक्छ भने त्यही एउटा व्यक्तिले एक्लै सिंगो व्यवस्था बदल्न किन सक्दैन ?

जरुर सक्छ । तर, उद्देश्य देखाउने÷देखाइदिने हुनु भएन । यो इखले भरिएर देखाइदिने आन्दोलन जस्तो बन्दै छ। युवाको जोसलाई डाक्टर दास बन्ने प्रेरणा दिऊँ गणेशमानले भने जस्तो भेडा बनाउने काम बन्द गरौं ।

सरकारले जसरी गर्नु पथ्यो गर्न सकिरहेको छैन यो तितो यथार्थ हो । विश्वका सम्पन्नशाली राष्ट्रहरु अमेरिका, इटली भारत लगायत देशहरु आज कोरोनाको अगाडि निरीह प्राय: छन् । त्यसैले त विश्वमा स्वास्थय संकटकाल घोषणा गरिएको छ । यता केही गरेन भनेर फेरि हामी युवा पनि अबुझ बन्ने ।

सरकारले सकेको सरकारले गरेको छ हामीले सकेको हामीले किन नगर्ने ? हाम्रो राष्ट्रसँग प्राविधिक ज्ञानको अभाव छ । जनशक्तिको अभाव छ । ब्युरोक्रेसी र हाम्रो केही नेतृत्वमा अल्पज्ञान पनि छ । विदेशी मुलुकमा श्रमिकको रुपमा गएका हाम्रा दाजुभाइहरुलाई स्वदेश ल्याउने सही व्यवस्थापन गर्ने सुरक्षित राख्ने उपाय खोज्नुको बदला नारा लगाउन पुग्नु अलि गलत भएन ?

सोचौं त साथीहरु । हो सरकारसँग पनि अभाव होलान् हामीहरुसँग जस्तै । हाम्रो सरकार हो भने सामना पनि त हामी सबै मिलेर गर्नु पर्ने होला नि। लिपुलेक हाम्रो भन्दा हामी सबै एक भएर लाग्छौं तर कोरोनाको महाविपत्तिमा पनि सँगै लड्न पाए ?

सीमित स्रोत र साधनबीच पनि सही उपाय बनाएर विदेशी भूमिमा भएका हाम्रा दाजुभाइलाई स्वदेश ल्याएर सहीव्यवस्थापन गर्न पाए । यता सोचौं न । समाधान यस्ता विषयमा खोजौं सडकमा होइन ।

काठमाडौंमा र पोखरा लगायत केही सहरहरूमा गरिएको प्रदर्शनीमा कति कुराहरु सचेत नागरिकहरुले राख्नुपर्ने कुराहरु राख्नु भएको छ । म सम्मान गर्छु । तर तिनै कुरा राख्नलाई यत्रो हंगामा किन गर्नुपर्छ र? त्यो भिड जम्मा पार्न तपाईंहरुले सोसल मिडियाको प्रयोग गर्नु भएको छ । अझ सोसल साइटमा पहँुच भएकाहरु नै आन्दोलनमा उपस्थित हुनुहुन्छ सबैजना ।

त्यो सोसल साइटले यत्रो भिड जम्मा गर्ने सक्छ भने त्यहीबाट सरकारलाई सुझाव दिन पनि सक्थेन होला र ?तर, तपाईंहरुले गर्नु भएन किन ?

भिडियो पोस्टर बनाएर तपाईंहरु मान्छे बोलाउन सक्नु हुन्छ तर तिनै कुरा सोसल साइटमा भिडियो,पोस्टरमार्फत किन राख्न सक्नुभएन ? के डब्लुएचओको नियम सरकारलाई मात्र लाग्ने हो तपाईंलाई लाग्दैन कि तपाईंहरुले मान्नु पर्दैन ?

संक्रमण अझै भयावह रुपमा फैलियो भने जिम्मेवार को हुने ?सरकार ! करिब ९० दिनयता घरभित्र बस्दा बस्दै वाक्क लागेर यसो फ्रेस हौं भनेर निस्कनु भएको हो भने मेरो भन्नु केही छैन ।होइन भने तपाईंहरु किन समाज प्रति उत्तरदायी नहुने ?

कोरोना महामारीसँग जुध्न के भने जस्तो तयारी सबै मुलुकले गर्न सकिरहेका छन् त ? अवश्य छैन तर गरेन भन्ने लागेकाहरु क्वारेन्टाइन बनाउन जाने हो कि कागज लिएर भिड जम्मा गर्न ?

सर्वेसर्वा सरकार त होइन नि सरकारलाई दबाब दिन भिड जम्मा पार्न सक्नेहरु स्वास्थ स्वयंसेवकको रुपमा फिल्डमा जान सक्नु हुन्छ कि नाईं ?

यो महाविपत्तिको बेला । जब युवाहरु देखावटी राजनीतिमा विश्वास गर्छन् र त देशको हालत यस्तो हुन्छ । आउनुहोस् त्यो भिडलाई लिएर क्वारेन्टाइन बनाउन जाऊँ, जहाँ छौं । त्यहाँ वरपरका मजदुर गरिब बस्तीहरुमा खाना बोकेर जाऊँ।आफ्नो गाउँटोल छरछिमेक सुरक्षित राखौं । आफू पनि सुरक्षित बसौ । अरु हिसाबकिताब पछि गरौंला । अहिले कोरोनालाई जितौं। भोकमरीलाई जितौं।

त्रिपाठी राष्ट्रिय युवा परिषद् संघीय युवा सञ्जालका केन्द्रीय अध्यक्ष हुन्

तपाईको प्रतिक्रिया