पाल्पाली समाजले गर्‍यो मुख्य न्यायाधीश बस्यालको बिदाइ

समाधान संवाददाता २०७७ जेठ ३१ गते २०:५३

समाधान संवाददाता
पोखरा

Advertisement

पाल्पाली समाज पोखराले उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको शनिबार बिदाइ गरेको छ ।

२०३९ सालदेखि नेपालको न्यायिक क्षेत्रमा क्रियाशील बस्याल पोखरामा मुख्य न्यायाधीशबाट आइतबारबाट निवृत्त हुँदैछन् । उच्च अदालत पोखरामा १ वर्ष भन्दा बढी बिताएका उनी उमेर हदका कारण निवृत्त हुन लागेका हुन् ।


बिदाइ कार्यक्रममा मुख्य न्यायाधीश बस्यालले जागिरबाट अवकाश भएपनि सामाजिक जीवनमा मानिस अवकाश नहुने भन्दै पाल्पाली समाजको हितमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अख्तियारको मुद्दा हेर्ने हो भने पनि कुनै पनि पाल्पाली भ्रष्टाचार मुद्दामा नलागी इज्जत र सम्मानपूर्वक जीवन बाँचेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘पोखरा बसाइका क्रममा कुनै पनि पाल्पाली सदस्य यस्तो खालको मुद्दा पर्‍यो भनी आएनन् ।’

मानिसको जीवनमा जग, जीवन र जागिर आफ्नो काबुमा नरहने उनको भनाइ छ । देशको परिस्थितिले न्याय परिषद्को बैठक नबस्दा आफू सर्वोच्चमा न्यायाधीशको निम्ति तेस्रो वरियतामा रहे पनि हुन नसकेको गुनासो गरे । यद्यपि अहिलेसम्मको जागिरे जीवनमा निष्कलंक भएर निवृत्त हुन पाएकोमा आफू खुसी नै रहेको बताए ।

Advertisement

पाल्पा बराङ्दीका बस्यालले न्याय सेवा सुरु गर्नुअघि ४ वर्ष खाद्य संस्थानमा काम गरेको सुनाए ।

कार्यक्रममा मुख्य न्यायाधीश बस्याललाई समाजका अध्यक्ष कुलप्रसाद घिमिरे, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, निवर्तमान अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल, सल्लाहकार जनपुकार मुनकर्मी, डा. हुमप्रसाद न्यौपानेलगायतले संयुक्तरुपमा टीका लगाउँदै पाल्पाली ढाकाटोपी, मायाको चिनो प्रदान गरेका थिए ।

समाजका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन प्रथम उपाध्यक्ष रेशम रचकले गरेका थिए ।

तपाईको प्रतिक्रिया