‘माइला कान्छा अभियान’ बाट ३ सय ५० लाई राहत

समाधान संवाददाता २०७७ जेठ ३१ गते २०:५८

समाधान संवाददाता
पोखरा

बन्दाबन्दीले समस्यामा परेका पोखरा महानगरका १० वडाका ३ सय ५० विपन्न परिवारलाई ‘माइला कान्छा अभियान’बाट राहत वितरण गरिएको छ ।

पोखरा –९ स्थित प्रदर्शनी केन्द्रबाट अभियानकर्मी माया गुरुङ र पार्वती गुरुङले एक बोरा चामल, तेल, नुन र सोयाबिन गरेर ३ सय ५० परिवारलाई राहत वितरण गरेका हुन् ।

Advertisement

युके निवासी माया र पार्वती गुरुङ नेपाल आएलगत्तै बन्दाबन्दीमा परेपछि समस्यामा परेका विपन्न परिवारलाई अभियान मार्फत राहत संकलन गरेर वितरण गर्दै आएका छन् ।

‘बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाइरहेका छन्, काम गरेर खाने वातावरण बन्न सकेको छैन, असहज परिस्थितिमा सेवा नै धर्म हो भनेर राहत वितरणमा जुटेका हौं,’ अभियानकर्मी माया गुरुङ (कान्छा)ले भनिन् । उनले राहतमा एक बोरा चामल नुन, तेल, सोयाबिन लगायतका सामग्री वितरण गरेको जानकारी दिइन् । उनका अनुसार यो अभियानको राहत वितरणको अन्तिम कार्यक्रम हो ।

Advertisement

अभियानका अर्का सदस्य पार्वती गुरुङ (माइला)ले रोगले भन्दा पनि भोकले मरिने समस्या देखिन थालेपछि अभियान मार्फत सहयोगमा जुटेको बताइन् । ‘अभियानलाई युके निवासी नेपाली दाजुभाइ दिदीबहिनीबाट निरन्तर सहयोग भयो र लक्षित वर्गसम्म सहयोग पु¥याउन सफल भयौं,’ उनले भनिन् । उनले हालसम्म माइला कान्छा अभियानबाट करिब १८ लाख संकलन भएको र सो रकमबाट १ हजार भन्दा बढी परिवारलाई राहत सामग्री कतिपय अवस्थामा नगद रकम समेत वितरण गरेको बताइन् ।

शुक्रबारनै सोही स्थानबाट तमु प्ये ल्हु संघ युके आमा समूहका अध्यक्ष विष्णु गुरुङ संयोजकत्वमा संकलित १ लाख ४० हजार रकमबाट ७० जना विपन्न परिवारलाई राहत वितरण गरिएको छ । राहत लिन आउन सक्नेलाई सोही स्थानबाट र लिन आउन नसक्नेलाई घर घर मै राहत पु¥याएको राहत वितरण कार्यक्रममा समन्वय गरिरहेकी कांग्रेस नेतृ सरस्वती गुरुङले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया