पत्रकार महासंघ कास्कीमा आवद्ध पत्रकारको बीमा

समाधान संवाददाता २०७७ जेठ ३१ गते २१:०२

समाधान संवाददाता
पोखरा


नेपाल पत्रकार महासंघ कास्कीले आफ्ना सदस्यहरुहरुको कोरोना बिमा गराएको छ । तमु धिं युकेको आर्थिक सहयोगमा २ सय ६१ जनाको बिमा गरिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

महासंघमा आवद्ध ३ सय २ मध्ये बाँकी ४१ जना पत्रकारले आआफ्ना मिडिया हाउसबाट र अन्य केहीले व्यक्तिगत ढंगले पहिले नै कोरोना बिमा गरेका छन् ।

Advertisement

श्रेष्ठले देशभरीनै यति धेरै पत्रकारहरुको बिमा गर्ने महासंघ कास्की पहिलो संस्था भएको दाबी गरे । पत्रकारको बिमाका लागि आर्थिक सहयोग उपलब्ध गराउने युकेको प्रतिष्ठित गोर्खा कप तथा नेपाली मेलाको आयोजक तथा सामाजिक योगदानमा अग्रणी संस्था तमु धिं युकेप्रति हार्दिक आभार व्यक्त गरे ।

प्रत्येक पत्रकारको बिमा शुल्क ६ सय रहेको छ । कोरोना बिमा विमित पत्रकारलाई पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएमा एकमुष्ठ १ लाख प्रदान गरिने बिमा कम्पनीले जनाएको छ ।

Advertisement

पोखरामा कोरोना संक्रमण पुष्टि भएपछि नेपाल पत्रकार महासंघको गत सोमबार बसेको अनलाइन बैठकले पेसागत जिम्मेवारीका कारण कोरोनाको जोखिममा अग्रपंक्तिमा रहेका कास्कीका सबै पत्रकारहरुको कोरोना बिमा गर्ने निर्णय गरेको थियो ।

सदस्य पत्रकारको कोरोना बिमा गर्न गत मंगलबार नेपाल पत्रकार महासंघ कास्की र सिद्धार्थ इन्स्योरेन्स कम्पनी बीच ७ बुँदे लिखित सम्झौता भएको सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

तिमिल्सिनाका अनुसार पत्रकारहरुको बिमाका लागि नेपाल पत्रकार महासंघ कास्की मार्फत तमु धिं युकेबाट प्राप्त १ लाख ८० हजार मध्ये महासंघका सदस्य पत्रकार (२६१)को बिमा शुल्क १ लाख ५६ हजार ६ सय भुक्तानी गरी बाँकी रकम २३ हजार ४ सय सहयोग दाताकै आग्रहमा महासंघमा आवद्ध नभएका आदिवासी जनजाति पत्रकारको बिमा गर्नका लागि फोनिज कास्कीलाई हस्तान्तरण गरिएको छ ।

तपाईको प्रतिक्रिया