गल्याङको क्वारेन्टाइनमा बसेका भन्छन् : खानेपानी त छैन, हात धुने ?

समाधान संवाददाता २०७७ जेठ ३१ गते २२:२९

अनुप पौडेल, पोखरा

स्याङ्जाको गल्याङ नगरपालिकाका १८ जनामा शुक्रबार कोरोना पुष्टि भयो । क्वारेन्टाइनमा बसेका १६ जनाबाहेक क्वारेन्टाइनको सरसफाइमा खटिएको १ दम्पत्तिमा कोरोना देखिएको हो ।

उनीहरु सबैको अहिले भीरकोट नगरपालिका–१ हेलुस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

Advertisement

संक्रमितलाई आइसोलेसन लगे पनि गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसिरहेकाहरु पालिकाले चासो नदिँदा आफूलाई पनि कोरोना सर्छ कि भन्ने भयमा छन् ।

‘हामीसँगै क्वारेन्टाइनमा बस्नुभएका १६ जनामा शुक्रबार कोरोना पोजेटिभ आयो । तर संक्रमितसँगै बसेका अरुलाई जस्ताको तस्तै छोडियो,’ क्वारेन्टाइनमा बसिरहेका १पुरुषले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘अरुलाई संक्रमित बसेकै ठाउँमा नराख्नुपर्ने हो । संक्रमण नभएकालाई पनि पोजेटिभ आउने डर भयो ।’

Advertisement

संक्रमितलाई व्यवस्थापन गर्न क्वारेन्टाइनमा आउँदा नगरप्रमुखलाई पूरै भवनलाई सेनिटाइज गर्न आग्रह गरेपनि वास्ता नगरेको ती पुरुषले गुनासो गरे । उनका अनुसार क्वारेन्टाइनमा खाना र बस्नको व्यवस्था राम्रो भएपनि पानीको निकै ठूलो समस्या छ ।

गल्याङको क्वारेन्टाइन

‘कोरोनाबाट बच्न हात धुनुपर्छ भन्ने सुनेको हो । तर यहाँ त धारोमा पानीको निकै ठूलो समस्या छ,’ भारतबाट १ साता पहिले आएका ती पुरुषले भने, ‘पानी बाहिरबाट लिएर आउनपर्छ । प्रशासनले हाम्रो स्वास्थ्यमा खेलवाड गरेको हो कि भन्ने लागेको छ ।’

शौचालयको ढोकामा महिला शौचालय लेखिएको भएपनि पुरुषले नै उक्त शौचालय प्रयोग गर्ने गरेका छन् । पिउने पानीको राम्रो व्यवस्था नहुँदा उक्त क्वारेन्टाइनमा बसेकाहरु १ साता पहिले आन्दोलनमा उत्रिएका थिए ।

पिउने पानीमा केही हदसम्म सुधार भए पनि सँगै बसेकामा कोरोना देखिएपछि संक्रमण हुने डर बढिरहेको ८ दिनदेखि उक्त क्वारेन्टाइनमा बसिरहेका अर्का पुरुषले बताए ।

‘पोजेटिभ आएकासँग एउटै कोठामा बसेकाहरु त्रासमा हुनुहुन्छ । उहाँहरु आवाज निकाल्न सक्ने स्थितिमै हुनुहुन्न । पानीको समस्याले मानसिक त्रास छ,’ ती पुरुषले भने ।

भारतबाट १ साता पहिले गल्याङ आएर क्वारेन्टाइनमा बसेका अर्का पुरुषले क्वारेन्टाइनको दुर्गन्धित चर्पीबाट संक्रमण फैलन जोखिम उच्च रहेको बताए ।

उनले भने, ‘नुहाउन पाइएको छैन । चर्पी जाउँ भने साह्रै फोहोर छ । नजाउँ विकल्प छैन । अरुभन्दा पनि त्यहीँबाट कोरोना सर्छ भन्ने डर भयो ।’ पलिकाको क्वारेन्टाइनभन्दा घरमै सेल्फ क्वारेन्टाइनमा बस्दा सुरक्षित हुन सकिने ती पुरुषले बताए ।

‘यहाँभन्दा त घरमै सेल्फ क्वारेन्टाइनमा बस्दा सुरक्षित भइन्छ । यहाँ त हात धुने पानी परैको कुरा पिउने पानी पनि छैन,’ ती पुरुषले गुनासो गरे ।

राजनीति भयो : नगरप्रमुख अधिकारी

क्वारेन्टाइनमा बसेकाहरुले व्यवस्थापन राम्रो नभएको बताइरहँदा नगरप्रमुख भूपराज अधिकारीले क्वारेन्टाइनमा बसेकाहरुले भनेजस्तो समस्या नरहेको दाबी गरे ।

हुँदै नभएको समस्या देखाएर संकटका बेला राजनीति गरेर भ्रम फैलाइएको उनले बताए । ‘क्वारेन्टाइनमा केही समस्या छैन । योबेला धमिलो पानीमा माछा मार्न खोजे । कसरी हुन्छ बदनाम गर्न लागिपरेका छन्,’ नगरप्रमुख अधिकारीले भने ।

संक्रमितलाई अस्पताल लगेपछि उनीहरु बसेको ठाउँलाई पूर्ण सेनिटाइज गरेको उनले बताए । संक्रमितसँगै एउटै कोठामा बसेकाको पिसिआर गर्ने तयारी भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।

उनले भने, ‘पहिले पानीको समस्या थियो । अहिले समाधान भयो । संक्रमितसँगै एउटै कोठामा बस्नुभएकाहरु त्यहीं हुनुहुन्छ । उहाँहरुको पिसिआर गरेर मात्रै घर पठाउँछौं ।’

गल्याङका ५ ठाउँमा बनाइएको क्वारेन्टाइनमा अहिले झन्डै २ सय जना बसिरहेको नगरप्रमुख अधिकारीले जानकारी दिए ।

३२३ जनाको रिपोर्ट आउन बाँकी

स्याङ्जाका विभिन्न पालिकाबाट पठाइएका ३ सयभन्दा बढी स्वाबको रिपोर्ट आउन बाँकी छ । १ साताअघि देखि पोखरा पठाइएका ७ पालिकाका ३ सय २३ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै अर्जुनचौपारी गाउँपालिकाका १२२, चापाकोट नगरपालिकाका ८४, गल्याङ नगरपालिकाका २०, आँधखोला गाउँपालिकाका १५, विरुवा गाउँपालिकाका ६, फेदीखोला गाउँपालिकाका ५, वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाका समान ३४÷३४ जनाको स्वाबको रिपोर्ट आउन बाँकी छ ।

‘अर्जुनचौपारी, वालिङ र चापाकोटमा भारतबाट आउने धेरै हुनुहुन्छ । हरिनास गाउँपालिका, पुतलीबजारमा २/३ जना भएकाले केही दिनमा फेरि स्वाब लिन्छौं,’ प्रमुख शर्माले भने ।

स्याङ्जा जिल्ला अस्पतालमा उपचाररत ३ कोरोना संक्रमितसहित २ स्वास्थ्यकर्मीको स्वाब शनिबार पोखरा पठाएको अस्पतालकी कोरोना फोकल पर्सन डा. अन्जु अर्यालले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया