लकडाउनमा फोहोर उठेन तर उठाइयो कर

ईश्वर देवकोटा
पोखरा
बेगनास खरबारी डाँडामा पोखरा महानगरले फोहोर संकलन गर्न लकडाउन भएदेखि नै पठाएन ।
सरकारले लागु गरेको लकडाउनमा फोहोर मैला संकलन गर्ने कार्यलाई अत्यावश्यक सेवा अन्तर्गत राखेकाले सेवा नरोक्नुपर्ने हो ।
तर पोखरा ३१ को खरबारी डाँडाका स्थानीय तथा व्यवसायीले फोहोर संकलन कै लागि कुनै सवारी आएको पत्तो पाएनन् ।
एकैपटक ३ महिनापछि फोहोर संकलनका लागि जेठ २९ गते खरबारी डाँडामा गाडी पुग्यो ।
लकडाउन अवधिले व्यापार अझै ठप्प छन् । फोहोर उत्र्सजन हुने कुरै भएन ।
दामोदरभक्त थापाले सञ्चालन गरेको रुपा भ्यु गेस्ट हाउसबाट भने फोहोर संकलन पुगेको टोलीले भने कर नउठाई सेवा नदिने अडान लियो ।
३ महिनापछि जेठको अन्तिममा फोहोर उठाउन आएकाले सेवा नपाएको अवधिको कर नलिन उनले आग्रह गरे ।
पूरै कर नतिरेसम्म २ पोका जम्मा भएको फोहोर पनि नउठाउने अडान टोलीले लिएपछि सेवा नपाएको ३ महिनाको पनि कर तिरे ।
बिहीबार उनीसहित अन्य व्यवसायी र स्थानीयले पनि त्यसरी नै कर तिरेका छन् ।
थापाले फागुनदेखि जेठसम्मको एकमुष्ठ १ हजार रुपैयाँ तिरेको रसिद उपलब्ध गराएका छन् ।
सेवा नदिएको अवधिमा पनि महानगरले कर असुल्न नछाडेको थापाले गुनासो गरे ।
‘लकडाउनमा सेवा पाइएन । नियमित सेवा लिन कर नतिर्ने भन्ने त होइन तर सेवा नै नलिएको अवधिको कर एकमुष्ठ नतिरी सुखै पाइएन,’ उनले भने, ‘एकैपटक ३ महिनापछि गाडी आएर कर तिर्नै पर्ने भने पछि बुझायौं ।’
सामान्य अवस्थामा पनि साविकको लेखनाथ क्षेत्रमा नियमित फोहोर संकलन हुँदैन ।
फोहोर संकलन हुने नियमित तालिका पनि छैन । मन लागेको बेला आउने र मन नलागेको बेला नआउने गरेको लेखनाथबासीको गुनासो छ ।
साविक लेखनाथ क्षेत्रको फोहोर संकलनका लागि महानगरले प्रगति संसार नेपाल कम्पनीलाई जिम्मा दिएको छ ।
महानगरको सरसफाइ शाखाकी प्रमुख कल्पना बरालले गुनासो महानगरमा पनि आएकाले वास्तविकता बुझ्ने क्रममै रहेको सुनाइन् ।
अत्यावश्यक सेवा अन्तर्गत परेकाले सेवा रोक्न कुनै पनि निर्देशन नरहेको उनले स्पष्ट पारिन् ।
‘सेवा रोक्न हामीले भनेका छैनौं । फोहोर संकलन गर्न भनिरहेका थियौं,’ उनले भनिन्, ‘लकडाउनमा अवधिमा महानगरले नलिने निर्णय ग¥यो भने अलग कुरा होला । रेसिडेन्सल कहाँ नपुगेको छन् भने त तिर्ने कुरा पनि आएन । सेवा पाएकाहरुबाट नउठाऔं भनेर हामीले भनेका पनि छैनौं ।’
गुनासो आएपछि कम्पनीका प्रतिनिधिलाई अहिल्यै शुल्कका लागि ताकेता नगर्न भनिएको प्रमुख बरालले बताइन् ।
सेवा नपाएको नै हो भने शुल्क तिर्न जरुरी नरहेको उनको भनाइ छ ।
‘महानगरले पनि प्राइभेटसँग पार्टनसिप गरेको हो । शुल्कमा छुट दिनुपर्ने हो भने उनीहरुले दिँदैनन् । हामीले नै भन्नुपर्छ । यो अवधिमा फोहोर उठाउन नै नगएको हो भने ताकेता नगरको भए हुन्थ्यो । हामी बुझ्छौं,’ उनले भनिन् ।
तपाईको प्रतिक्रिया