शिक्षा नहुँदा अभाव, अभाव हुँदा तनाव

समाधान संवाददाता २०७७ जेठ ३२ गते १६:४०

डिलकुमारी पौडेल

नेपाल एक सानो, सुन्दर, भूपरिवेष्ठित र अल्पविकसित देश हो । यहाँ विकासका पूर्वाधार अझै उपलब्ध हुन बाँकी नै छ । जब विकासका पूर्वाधार पूर्ण हुन्छन् तबमात्र विकासको गति अगाडि बढ्न सक्छ ।

विकासका मुख्य पूर्वाधार भनेको नै शिक्षा, स्वास्थ, यातायात, सञ्चार आदि हुन् । यसैले यी पूर्वाधार मजबुद र सवल रुपमा लागु गर्ने भएमात्र विकासले दु्रत गति लिन सक्छ ।

Advertisement

हाम्रो देशमा विभिन्न बाधा तथा कठिनाइले गर्दा विकासले गति लिन गाह्रो भएको छ । जस्तै कमजोर अर्थतन्त्र, भौगोलिक बनोट, राजनीतिक अस्थिरता आदि ।

जहाँ विकासको कमी हुन्छ त्यहाँ अभाव, अशिक्षा, गरिबी आदि जोडिएर आएका हुन्छन्, जसले मानिसको जीवनशैलीमा ठूलो प्रभाव पारेको हुन्छ ।

Advertisement

त्यसैले मानवको विकास शिक्षा,स्वास्थ र आम्दानीको त्रिकोणात्मक संयोजनको मेल भयो भने मात्र यसलाई विकास भएको वैधानिकता दिन सकिन्छ ।

अहिले मानव विकास सूचाकमा विश्वको १४७ औं स्थानमा छ । शिक्षामा ६७ दशमलव प्रतिशत मानिसको पहुँच छ । यसले के देखाउँछ भने शिक्षाबाट बञ्चित अझै पनि धेरै छन् । जसको कारण अझै पनि मानिसको खानपान रहनसहनको शैलीमा सक्षमता र सभ्यता फस्टाउन सकेको छैन ।

नेपालको जीवनशैली ठाउँ,जात अनुसार फरक छ नै ।यहाँ उच्च वर्गदेखि निम्न वर्गका मानिसको बसोबासछ । कति मानिस साधारण शिक्षादेखि उच्चशिक्षासम्ममा भौगोलिक विकटताको कारण या अन्य कारणले शिक्षाको ओझेल परेका छन् । गाउँ छाडेर सहरमा दैनिक ज्यालादारी गरेर खाने मानिसको जमात पनि प्रशस्त देखिन्छ ।

ठाउँ अनुसार जीवनशैली त अवश्य हुन्छ नै तर कमजोर आर्थिक अवस्था अनि शिक्षाको अभावको कारण मानिसको जीवनशैलीमा धेरै फरक पर्छ ।

शिक्षाबाट वञ्चित मानिसमा बाँच्ने कलाको कमी अवश्य हुन्छ । जो व्यक्ति शिक्षाको पहुँचबाट टाढा छ उसको आर्थिक पाटो बलियो भए पनि जीउने कलामा कमजोर पक्ष देखिनछ नै ।

परिश्रमले बाच्न सिकाउँछ तर शिक्षाले व्यवस्थापनको पाटोलाई बलियो बनाउँछ। शिक्षाले परिश्रमलाई निर्देश गरिरहेको हुन्छ ।जिउने कलामा पृष्ठपोषण दिन्छ ।

जहाँ शिक्षाको कमी हुन्छ त्यहाँ ज्ञान र संस्कारको अभाव हुन्छ,जहाँ अभाव हुन्छ त्यहाँ तनाव हुन्छ । यस्ता उदाहरण प्रशस्त देख्न सकिन्छ ।उही आम्दानी तर फरक जीवनशैली र फरक जीवनशैलीले ल्याएको गुणस्तरीय जीवनको विभिन्नता ।

गरिबीमा भोक हुनु र सम्पनतामा सौख हुनु स्वाभाविक पक्ष हो तर जहाँ धन भएर पनि शिक्षा नहुनु जुनसुकै बेलाको मानसिक पीडा हो ।यसरी कुरा जोडिरहँदा शिक्षा जीवनको प्रत्येक पाटोमा अपरिहार्य मानिन्छ नै ।

जो मानिस प्रशस्त धन हुँदामात्र हैन थोरै धन हुँदा पनि जिउने कलामा परिर्वतन ल्याउँछ ।त्यस्ता मानिसको जीवन सन्तुष्टिमा बित्छ । शिक्षाको कमीले जीवनमा ल्याएका कठिनाइले जिउन असहज बनाउँछ ।

करिब ३/४ वर्षअघिको कुरा हो । एक दिन जब म विद्यालयबाट फर्कंदै थिएँ । बाटोमा एकजना व्यक्तिले ससेस बेचिरहेका थिए, जसलाई ३५ रुपँया पर्दथ्यो । त्यस्तै ५ बजेतिरको समय हुँदो हो ।

एकजना महिला हतारहतार जस्तै गरेर आउनुभयो र भन्नुभयो बाबु मलाई २ वटा ससेस दिनु न । कामबाट आएकी आज साह्रै भोक लागेको छ ।अनि २ वटा ससेस खाएपछि फेरि भोक मेटिएन भनेर ३ वटा माग्नुभयो ।

यसै गरी ५ वटा ससेस खानु भयो । जम्मा ५ वटाको १७५ रुपँया बुझाउनु भयो । भोक लागेर खानु ठूलो कुरा हैन तर सदुपयोग कसरी गर्ने भन्ने कुरा मात्र रह्यो । मैले उहाँको बारेमा केही कुरा सोध्न मन लाग्यो र सम्झाउ जस्तो पनि लाग्यो ।

उहाँका बारेमा सोधें पनि ।ती महिला ज्यालादारी काम गर्नु हुँदो रहेछ । तीन जना छोराछोरी सहित पाँच जनाको परिवार हुनुहुँदो रहेछ । श्रीमान पनि ज्यालादारी नै काम गर्नु हुने रहेछ ।

काम धेरै जसो पाउने र खाली बस्नुनपर्ने कुरा उहाँले बताउनुभयो । त्यसै गरी छोराछोरी सरकारी विद्यालयमा पढ्ने र आफूहरु काममा जानुपर्ने जस्ता कुरा गरिरहँदा फेरि मलाई केही कुरा भन्न मन लाग्छ ।

दिदी तपाईं दुख गरेर काम गरेर पैसा कमाउनु भएको छ तर यसको सही सदुपयोग गर्न जान्नुपर्छ ।हजुरले भोकमा खाएको खानाको मेरो रीस हैन तर तपाई साँझको समय घर फर्कदै हुनहुन्छ ।

एकछिनमा घर पुग्नुु हुन्छ तर तपाईंले कमाएको आधा पैसा यहीं सक्नु भयो । यही पैसाले अरु खाजा किनेको भए सबै परिवारलाई पुग्थ्यो या त्यतिले आधा किलो मासु लागेको भए पनि सबै परिवारले खान पाउँथे ।

पैसा कमाएर सही ठाउँमा सदुपयोग गर्न जान्यो भने दुखमा नि काम लाग्छ अनि आफूलाई अप्ठयारो पर्दा कसैलाई पुकार गर्नुपर्दैन । कमाएर बचत र सही सदुपयोग गर्न नजान्दा न आफूले सुख पाइन्छ न छोराछोरीलाई राम्रो लालनपालन शिक्षा दिक्षा दिन सकिन्छ ।

यसरी भनिरहँदा एकटकले सुनिरहनु भयो र भन्नु भयो अहो मेरो कस्तो आँखा खोल्नु भयो ।मैले आजसम्म यस्तो कुरा कत्ति ख्याल गरेकी रहेनछु ।यसरी कति खर्च गरे ।हो बैनी आज मैले साच्चै अनुभव गरेँ ।

त्यहाँबाट हामी छुटियौं ।अरु दिनमा उहाँको दिनचर्या कस्तो रह्यो थाहा भएन । यो त भयो हजारौंमध्य एउटामात्र जीवनशैलीको उदाहरण यस्ता उदाहरण समाजमा धेरै पाइन्छन् ।

शिक्षा र संस्कारको अभावले प्रभाव पारेको जीवनशैली थियो त्यो । लगभग एउटै आम्दानी भएर पनि बाँच्ने कला कति फरक हुन्छ । यसरी नै शिक्षासँग जोडिएर आएको अर्को पाटो हो संस्कार ।

भनिन्छ बालबालिकाको पहिलो पाठशाला घर हो भनेर अनि त्यस्तै सस्कारमा हुर्केका बालबालिकाहरुले कस्तो सस्कार सिक्लान ? त्यतिमात्र नभएर दिनभर काम गर्ने अनि धुम्रपान मध्यपान गरेर रातदिन झगडा गरेर असभ्य शब्दको प्रहार सुन्दा ती कलिला बालबालिकामा कस्तो असर पर्न जाला ?

यी आदि कुराहरु भनिरहँदा शिक्षित परिवारको जीवनशैली सभ्य र भव्य नै हुन्छ भन्ने छैन तर अपवादमा हुन्छन् तर जति मात्रामा शिक्षामा पहुँच नहुनेमा देखिन्छ त्यो भन्दा कम देखिन्छ ।

त्यसैले शिक्षा जीवनको अभिन्न अंग हो । शिक्षाले संस्कार भित्र्याउँछ । संस्कारले सभ्यता निम्त्याउँछ, सभ्यताले गुणस्तरीय जीवनको परिचय दर्शाउँछ । गुणस्तरीय जीवनमा सुखको अनुभूति हुन्छ । यही नै असल र सफल जीवनको अनुभव हो ।

तपाईको प्रतिक्रिया