२४ सय स्वाब पेन्डिङमा, परीक्षण बढाउन जनशक्ति जुटाउँदै प्रदेश सरकार

समाधान संवाददाता २०७७ जेठ ३२ गते २१:५०

अनुप पौडेल
पोखरा, ३२ जेठ

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट गत २४ जेठमा १२ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाइयो । तर १ हप्ता भइसक्यो कसैको पनि रिपोर्ट आएको छैन । पहिल्यै पठाएको स्वाबको रिपोर्ट नआउँदै २८ जेठमा थप २२ जनाको स्वाब संकलन भयो ।

क्वारेन्टाइन अवधि पुरा गरे पनि रिपोर्ट नआउँदा ३४ जना घर जान पाएका छैनन् । ‘स्वाब पठाएको १ हप्ता भयो । रिपोर्ट आएकै छैन । यहाँ त २१/२२ दिनदेखि बसेकाहरु रिपोर्ट नआउँदा घर जान जानै पाएनन्,’ गाउँपालिकाका स्वास्थ्य महाशाखा प्रमुख पदम पाण्डेयले भने, ‘स्वास्थ्य कार्यालय र प्रदेशमा सोध्दा पालो आउँदै छ भन्नुहुन्छ ।’

Advertisement

कालीगण्डकीसहित जिल्लाका अन्य पालिकाका गरी ३ सय ३३ जनाको स्वाब पोखरा पठाइएको भएपनि रिपोर्ट नआउँदा बाहिरबाट घर फर्किएकाको क्वारेन्टाइन बसाइँ लम्बिएको छ ।

पर्वतका १ सय ४१ जनाको स्वाब पनि पोखराकै प्रयोगशालामा थन्किएको छ । १० दिन पहिले पठाइएको स्वाबको रिपोर्ट नआएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।

Advertisement

‘पर्वतका सबै पालिकाको क्वारेन्टाइन कुश्मामा बनाइएको छ । यहींबाट स्वाब संकलन गरेर पठाएको १० दिन पहिलेदेखिको १ सय ४१ स्वाबको रिपोर्ट आएको छैन,’ डा. देवकोटाले भने ।

प्रयोगशालाको क्षमताभन्दा स्वाबको संख्या धेरै हुँदा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका स्वाब परीक्षणमा ढिलाइ भएको छ ।

प्रदेशका विभिन्न जिल्लाबाट परीक्षणका लागि पोखरा पठाइएका २३ सय ८२ स्वाब पेन्डिङमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पोखरास्थित क्षेत्रीय अस्पतालको प्रयोगशालामा गत चैत तेस्रो सातादेखि कोरोना परीक्षण हुँदै आएको छ । परीक्षणको दायरा बढाउन प्रदेश सरकारले खरिद गरेको पिसिआर मेसिनबाट पनि परीक्षण थालिएको छ ।

उक्त मेसिन रामघाटस्थित प्रदेश क्षयरोग केन्द्रमा जडान गरिएपनि आवश्यकता अनुसार कर्मचारी नहुँदास्वाब पालोमा हुन्छन् । सामाजिक विकास मन्त्रालयले विभिन्न जिल्लाबाट प्राविधिक झिकाएको र उनीहरु आएपछि परीक्षण द्रुत हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीले बताइन् ।

‘विभिन्न जिल्लाबाट साथीहरु आउने त्रम जारी छ । उहाँहरु आएर सिफ्ट मिलाएपछि परीक्षण दर बढ्छ,’ उनले भनिन्, ‘जिल्लाबाट साथीहरु आएपछि २ दिन उहाँहरुलाई सिकाउनलाई जान्छ । त्यसपछि दुवै मेसिन २ सिफ्टमा चलाउँछौं ।’

दुवै मेसिन पूर्ण सञ्चालनमा आएपछि प्रयोगशालाको फ्रिजमा राखिएका साढे २३ सय स्वाब परीक्षण गर्न १ हप्ता समय लाग्ने प्रमुख सुवेदीले बताइन् ।

क्षयरोग केन्द्रमा जडित पिसिआर मेसिनका लागिसमेत २ सिफ्टमा काम गर्नेसहित कुल ३६ जना प्राविधिक आवश्यक पर्ने प्रमुख सुवेदीले बताइन् । ‘एउटा पिसिआर सञ्चालन गर्न सबै गरेर ९ जना चाहिन्छ । २ सिफ्ट गर्दा एउटै प्रयोगशालामा १८ जना चाहियो । नयाँ प्रयोगशालामा समेत २ सिफ्ट गर्दा ३६ जना चाहिन्छ,’ उनले भनिन् ।

नयाँ मेसिन पूर्ण क्षमतामा सञ्चालनमा आएपछि दैनिक साढे ४ सय स्वाबको रिपार्ट दिन सक्ने प्रदेश प्रयोगशालाले जनाएको छ । स्वाबलाई प्रयोगशालाका ९ वटा फ्रिजमा राखिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र प्रदेश प्रयोगशालाको गरी ६ वटा फ्रिज पहिल्यै थियो । स्वाब थुप्रिने क्रम बढेपछि ३ वटा नयाँ फ्रिज किनिएको हो ।

स्वाबलाई तापक्रम मिलाएर केही समय फ्रिजमा राख्दा परीक्षणमा कुनै असर नपर्ने आनुवंशिक विज्ञ श्रीराम बास्तोला बताउँछन् । ‘स्वाब संकलन गरेपछि केही दिन तापक्रम मिलाएर राख्दा भाइरस जीवित हुँदासम्म खासै असर पर्दैन । तर लामो समय राखिराख्दा रिपोर्ट डिग्रेड हुनसक्छ,’ उनले भने ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाको स्वाब परीक्षणका लागि पोखरा ल्याउने गरिएको छ । नवलपुरको स्वाब भरतपुरको प्रयोगशालामा परीक्षण गरिन्छ । अरु जिल्लाले समेत पोखराबाहेक अरु प्रयोगशालामा स्वाब पठाउने गरेका छन् ।

पोखरास्थित प्रयोगशालाबाट रिपोर्ट ढिलो आउन थालेपछि स्याङ्जा, गोरखा र तनहुँका पालिकाले आफ्नै आफै पिसिआर मेसिन किनेर सञ्चालन गर्ने निर्णय गरेका छन् । स्वाबको रिपोर्ट आउन ढिलो हुने र क्वारेन्टाइनमा राख्दा आर्थिक भार बढेपछि ३ जिल्लाका पालिकाले यस्तो निर्णय गरेका हुन् । ती पालिकाले प्रदेश सरकारसँग कर्मचारी माग्ने निर्णय गरिएको भएपनि प्रदेश आफै कर्मचारी संकट झेलिरहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार प्रदेशका विभिन्न जिल्लामा अहिले ५२ सय ३८ जना बसिरहेका छन् । प्रदेशका ११ जिल्लाका ७ सय ७१ ठाउँमा क्वारेन्टाइन बनाइएको निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।

ती क्वारेन्टाइनमा बसेका ३ हजार ७ सय ८८ जना घर फर्किएका छन् । प्रदेशभर ९ हजार ९ सय ६ बेड क्षमताको क्वारेन्टाइन बनाइएको निर्देशनालयको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया