गण्डकीको बजेट आज, स्राेत साँघुरिए पनि आकार बढ्ने
कार्यक्रममा स्वास्थ्य र कृषि, बजेटमा पूर्वाधार अगाडि
भरत काेइराला
पोखरा
काेरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न अहिले ३ वटै तहसँग गतिलो उपाय छैन । केन्द्र सरकारले १५ जेठमा ल्याएको बजेट पोहोरको भन्दा घटेर आयो । सोमबार ७ वटै प्रदेशले बजेट पेस गर्दैछन् । प्रदेशमा आम्दानीको स्रोत नहुने र केन्द्रकै भर पर्ने हुनाले प्रदेश सरकारले मन फुकाएर बजेट ल्याउने अवस्था भने छैन ।
सरकारले पोहोर चालु आर्थिक वर्षका लागि ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको थियो । यो वर्ष पनि ३२ अर्ब भित्रकै बजेट ल्याउने बताइए पनि ३४ देखि ३५ अर्बसम्मको बजेट आउने भएको छ । आर्थिक वर्ष २०७५/७६ मा २४ अर्ब २ करोडको बजेट प्रदेश सरकारले ल्याएको थियो ।
गण्डकी प्रदेशले स्वास्थ्य र कृषिका प्राथमिकतालाई प्राथमिकतामा राखेर बजेट ल्याउँदैछ । कार्यक्रममा स्वास्थ्यले प्राथमिकता पाउने भए पनि भौतिक पूर्वाधारमा नै धेरै बजेट राखिएको छ । पूर्वाधारमा नयाँ भन्दा पनि क्रमागत योजनाले निरन्तरता पाउने भएका छन् ।
पोहोरबाट सुरु भएको निर्वाचन क्षेत्र विकास कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाउने भएको छ ।
स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्ति निकै कम भएको कोरोनाले महसुस गराएसँगै यो वर्ष सामाजिक विकास मन्त्रालयको बजेट स्वभाविक रुपमा बढेर आउनेभएको छ । शिक्षामा पनि बजेट थप भएर आउने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
विदेशबाट युवाहरु फर्केर आउने र उनीहरुलाई टिकाइ राख्नका लागि कृषिमा नयाँ खालका योजना ल्याइने भएको छ । अनुदानलाई केही निरुत्साहित गर्ने भनिए पनि मुख्यमन्त्री वातावरणमैत्री कृषि कार्यक्रमले निरन्तरता पाउने भएको छ । पर्यटन क्षेत्रको बजेट कटौती गर्दै उद्योग क्षेत्रमा बजेट बढाइएको छ ।
यो वर्ष राजश्व संकलन कम हुने भएकाले संघीय सरकारले राजश्व बाँडफाँडको अंक घटाएर पठाएको छ । वित्तीय समानीकरण र समपूरकमा केही अंक बढे पनि सशर्त अनुदान भने घटेको छ । सरकारले यो वर्ष सडक, पुल, खानेपानी, सिचाईं, ऊर्जा लगायत पूर्वाधार निर्माणमा कुल बजेटको ४५ प्रतिशत विनियोजन गरेको थियो ।
संघीय सरकारले तयार पारेकाे पन्ध्रौं पञ्चवर्षीय याेजना, दीगाे विकास लक्ष्य र गण्डकी सरकारले हालै बनाएकाे प्रथम पञ्च वर्षीय याेजनासँग मेल खाने गरी बजेट बनाउने भनिए पनि काेराेनाले बजेटकाे ट्रयाक नै परिवर्तन गर्ने भएकाे छ ।
प्रदेश नीति तथा याेजना आयाेग गण्डकीका उपाध्यक्ष डा गिरिधारी शर्मा पाैडेलले पञ्चवर्षीय याेजनाका प्राथमिकता अहिलेका लागि परिमार्जन नगरिएकाे बरु लक्ष्य प्राप्तिकाे अवधि भने बढाइने बताउँछन् ।
याे बजेट भाषण आजै साँझ ४ बजेबाट यसै साइटमा प्रत्यक्ष प्रसारण हुनेछ–सम्पादक
तपाईको प्रतिक्रिया