लकडाउनमा बढेका हिंसा

समाधान संवाददाता २०७७ असार १ गते १३:३१

खिम लामिछाने

कोरोना भाइरस कोभिड–१९ बारे आजसम्म विश्व नै अन्योलमा रुमलिएको अवस्था छ । विश्व स्वास्थ्य संगठन लगायत विश्वका ठूलाठूला शक्ति सम्पन्न विकसित राष्ट्रले समेत यस बारे ठोस निश्कर्ष निकाल्न सकिरहेको अवस्था छैन । यो भाइरसको महामारीबाट कुनै राष्ट्र अछुतो रहन सकेको छैन । यद्यपि सबै राष्ट्रहरुले यो महामारीबाट आफूलाई बचाउन हर सम्भव प्रयास गरिरहेका छन् ।

सबै राष्ट्रहरुले संक्रमण रोक्नका लागि लकडाउनको नीति अबलम्बन गरेका छन् । कतिले महामारी निम्तिनु अगाडि नै लकडाउन घोषणा गर्ने भने कति राष्ट्रले भाइरस संक्रमणको महामारी सुरु भएपछि लकडाउन गरे । विस्तारै कति राष्ट्रले लकडाउन खुकुलो पार्दै लकडाउनको अन्त्य नै गरिसके ।

Advertisement

लकडाउनको उद्देश्य मानिसहरुलाई एक अर्कासँग व्यक्तिगत रुपमा टाढा रहनका लागि गरिएको आवतजावतमा बन्द गरिनु हो । लकडाउन आपतकालीन अवस्थामा सरकारद्वारा जारी गरिने निषेधाज्ञा हो । लकडाउन घोषणा गरिएको समय कफ्र्यु लागेको बेला जस्तो इमर्जेन्सी बाहेक घरबाट बाहिर निस्कन निषेध गरिन्छ ।

हालको लकडाउनको मुख्य उद्देश्य भीडभाड कम गरी कोरोना भाइरस संक्रमण फैलन नदिनु हो । यसका साथै आन्तरिक रुपमा संक्रमण रोक्ने उपायहरु अबलम्बन गर्ने, संक्रमण भइहालेमा फैलनबाट रोक्ने, सम्भावितहरुको कोरोना जाँच गर्ने, जाँच गर्ने ठाउँ र सख्या बढाउने ।

Advertisement

कन्ट्याक्ट ट्रेसिङ गरी सक्रमितहरुको खोजीनीति गर्ने र उनीहरुलाई क्वारेन्टिनमा राख्ने । सक्रमितहरुलाइ उपचार गर्ने अस्पतालको व्यवस्थापन, क्वारेन्टिन निर्माण कार्य गर्ने । सबै प्रदेश तथा स्थानीय तह समुदयमा भाइरस फैलन रोक्न अग्रीम व्यवस्था तथा कार्यक्रम लकडाउनको समयमा गरिन्छ ।

वर्तमान समयमा विश्वभर सबैभन्दा बढी प्रयोग भइरहेको शब्द हो लकडाउन । जुन कोरोना भाइरस कोभिड १९ सँगै आएको शब्द हो । कोरोना भाइरसको संक्रमण देखिन सुरु गरेलगत्तै सरकारले देशभर लकडाउन सुरु ग¥यो ।

एकातिर भाइरस फैलिन रोक्नका लागि लकडाउन गरिएको छ भने अर्कोतिर लामो लकडाउनको समयमा घरेलु हिंसा लगायत विभिन्न प्रकृतिका हिंसाका घटनाहरु हरेक दिन समाचार बनेर आइरहेको पाइन्छ ।

बेलायती अखबार ‘द गार्जियन’ ले १ लेख छाप्योः लकडाउनले विश्वव्यापीरूपमै घरेलु हिंसा बढाउन सक्छ । ब्राजिलदेखि जर्मनी, इटालीदेखि चीनसम्मका हिंसा विरूद्धका अभियन्ता र पीडितले लकडाउन तथा क्वारेन्टाइन अवधिमा दुव्र्यवहार बढेको बताएका छन्।

मनिपाल शिक्षण अस्पातल मानसिक रोग विशेषज्ञ डा. जयबहादुर खत्रीका अनुसार ‘लकडाउनको समयमा घरैमा मात्र खाली बसिरहनु पर्दा विभिन्न नकारात्मक सोचको विकास मानसिक विचलन हुन्छ । जसले गर्दा घर परिवारभित्र विभिन्न प्रकारका हिंसाका घटनाहरु घट्न सक्छ।’ लकडाउनको समयमा विश्वका सबै देशहरुमा साना ठूला हिंसाका घटनाहरु भइरहेका छन् ।

बेलायतमा लकडाउनको बेला कुल उजुरीमध्ये २५ प्रतिशत घरेलु हिंसा भएको विभिन्न समाचारमा आइरहेका छन् । अस्ट्रेलियामा लकडाउनको बेला ४० प्रतिशत घरेलु हिंसा पीडितले सहयोग मागेको थिए भने ५ प्रतिशत घरेलु हिंसा वृद्धि भएको थियो।

त्यसैगरी बेल्जियममा लकडाउन भएको तेस्रो हप्तामा नै ७० प्रतिशतले घरेलु हिंसामा वृद्धि भएको देखियो । युएन वुमनले जनाएअनुसार मेक्सिको, ब्राजिल, कोलम्बियामा महिलामाथि हिंसा बढेको छ। अर्जेन्टिनामा महिलाको हत्या दोब्बर भएको छ। अनुसन्धानकर्ताका अनुसार कोभिड–१९ को कारण चीनमा २०१९ फेब्रुअरीमा भन्दा २०२० फेबु्रअरीमा ३ गुणा बढी घरेलु हिंसा वृद्धि भएको थियो ।

फ्रान्सको ‘इन्टेरियर मिनिस्ट्री’ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार लकडाउन समयमा ३६ प्रतिशतले घरेलु हिंसा वृद्धि भएको थियो। हिंसाको मात्रा बढ्दै गएपछि त्यहाँको सरकारले १० लाख युरो घरेलु हिंसाविरुद्धका संस्थाहरूलाई दिने घोषणा गरेको थियो ।

द गार्जियनका अनुसार चीनको हुबेईमा फ्रेबुअरीमा मात्र घरेलु हिंसा साधारण समयमाभन्दा तीन गुणा बढेको प्रहरीले जनाएको छ। गत वर्ष ४७ उजुरी दर्ता थिए भने यो वर्ष १ सय ६२ पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतमा मार्च २३ देखि अप्रिल १६ को २५ दिने लकडाउन अवधिमा ५९ प्रतिशत हिंसा बढेको त्यहाँको राष्ट्रिय महिला आयोगले जनाएको छ । २० देखि ३१ मार्चकै बीचमा ९२ हजार पीडितले रक्षाको माग गर्दै फोन गरेको भारतस्थित एक हेल्पलाइनको तथ्य छ ।

केही अनलाइन पोर्टलले हिंसाका कारण घाउचोटग्रस्त भारतीय महिलाका तस्बिरहरू प्रकाशित गरेका थिय । स्पेनमा घरेलु हिंसा बढ्न सक्ने सम्भावना देखिएकाले लकडाउनमा पनि महिलाहरूलाई उजुरी दर्ता गर्न बाहिर निस्किन दिने त्यहाँको सरकारले सुविधा दिएको थियो ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुट्रेसले लकडाउनमा महिला र बालिकामाथि घरेलु हिंसाका घटना भयावह रुपमा बढेको बताएका छन् । अमेरिकामा हिंसा विरुद्ध काम गर्ने ‘नेसनल डोमेस्टिक भायोलेन्स हटलाइन’ अनुसार लकडाउन सुरु भएको २ हप्ताको बीचमा ९ सय ५१ जनाले हिंसा विरुद्ध उजुरी दर्ता गराएका थिए ।

नेपालमा लकडाउनको समयमा घरेलु हिंसा बढ्नुको प्रमुख कारण निम्न वर्गीय परिवारमा पुरुषले मादक पदार्थ सेवन गर्ने बानीले घरमा विभिन्न हिंसाहरु निम्त्याएको छ। लकडाउनको बेला भइरहेको रोजगारी घुम्नु, सञ्चित रकम मादक पदार्थ सेवन तथा नशालु पदार्थ र धूमपानमा खर्च गर्ने अनि घरायसी कामको लागि पैसा अभाव हुने हुँदा घर परिवार भित्र झगडा भइरहेको पाइन्छ ।

कोरोना भाइरसले गर्दा देशको सबै संयन्त्रहरुको ध्यान सन्क्रमण रोक्न तिर लागेको बेला घरेलु हिंसालाई हेर्ने फुर्सद नहुँदा घरेलु हिंसा दिनदिनै मौलाउदै गइरहेको छ। लकडाउनमा हिंसा हुँदा पनि पीडित न्याय खोज्न जान नसकिरहेको अवस्था छ।

दुरदराजका गाउँहरुमा घटना बाहिर आए पनि समाजमा ठूलाठालु भनाउँदाहरुबाट मेलमिलाप गराएर घटना सामसुम पारी त्यतिकै दबाइने गरेको पाइन्छ । पहिल्यैदेखि नेपालमा धर्म, जात र संस्कृतिको आधारमा घरेलु हिंसा हुँदै आएको थियो भने अहिले लकडाउनको समयमा झन वृद्धि भइरहेको कुरा तथ्यहरुले देखाउँछन् ।

नेपालमा लकडाउन अगाडिको तुलनामा घरेलु हिंसामा व्यापक वृद्धि आएको छ । लकडाउनपछि महिलामाथि सबैभन्दा बढी घरेलु हिंसा भएको पाइएको महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले जनाएको छ । ओरेकका अनुसार लकडाउन सुरु भएदेखि जेठ सम्मको समयमा २४ जिल्लामा २ सय ३१ महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले गरेको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणमा उल्लेख गरिए अनुसार १ सय ७६ महिला तथा बालिका पीडित रहेको देखिन्छ । हिंसाका कारण हत्या र आत्महत्याका घटनासमेत त्यसभित्र रहेका छन् भने पीडकमध्ये सबैभन्दा बढी ७८ जना पतिबाटै तथा अरू परिवारका अन्य सदस्यबाट पीडित भएको उल्लेख छ ।

राष्ट्रिय महिला आयोगको तथ्यांकअनुसार गत वर्षका तुलनामा यो वर्ष महिलामाथि हुने घरेलु हिंसा प्रतिशत ह्वात्तै बढेको छ । आयोगले हिंसा सम्बन्धी उजुरी दिन टोल फ्री नम्बर ११४५ को सेवा २४सै घन्टा खुल्ला राखेको छ । कहीं कतै लैंगिक हिंसा भएको जानकारी पाएसँगै टोली तोकिएको क्षेत्र पुगेर महिलाको उद्दार गर्ने पनि गरेको छ ।

सन् २०१७ देखि प्रजनन सेवा केन्द्र अन्तर्गतको ‘आशा क्राइसिस सेन्टर’ ले लकडाउनको समयमा पनि लैंगिक हिंसामा परेकालाई सहायता गर्ने प्रतिबद्धता सामाजिक सञ्जालहरूमा मार्फत् सूचना जारी गरेको छ । त्यसैगरी २४ सै घनटा नेपाल प्रहरीको १०० मा फोन गरी कुनै पनि प्रकारको हिंसाको घटना बारे जानकारी दिने पाइने व्यवस्था देशका सबै ठाउँमा रहेको छ ।

विभिन्न व्यक्ति तथा संस्थाहरुले विभिन्न देश तथा स्थानहरुमा गरेको अध्ययन अनुसन्धानले लकडाउनको समयमा विभिन्न प्रकारका हिंसाहरु बढेको तथ्यहरु प्रकाशित गरेका छन् । चैत २५ गरे लकडाउनको समयमा काठमाडौंमा लागुऔषध नपाइएपछि सीमामा केही उपाय हुन सक्छ कि भनि २ व्यक्ति नक्कली डाक्टर बनेर पूर्वी नाका काँकभिट्टाबाट सिमा पार गर्न खोज्दा प्रहरीले गिरफ्तार गरी दुबैलाई मेचीनगरको क्वारेन्टिनमा राखेको थियो ।

लकडाउन सुरु भएको दोस्रो हप्तापछि पर्साको बहुदरमाई नगरपालिका ८, रामनगरीमा एक महिलाको हत्या गरिएको समाचार प्रकाशित भएको थियो । लकडाउनको समयमा रोल्पामा २ जबर्जस्ती करणीका घटना भए । गत चैत २५ गते परिवर्तन गाउँपालिका ५ का ३० वर्षीय पुरुषले एक युवतीलाई जबर्जस्ती करणी गरेका थिए ।

अभियुक्तलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको समाचार प्रकाशित भएको थियो । गत वैशाख ९ गते रुन्टीगढी गाउँपालिकामा १६ वर्षीय युवकले बालिकालाई जवर्जस्ती करणी गरे । पीडक अहिले फरार छन् । त्यसैगरी आफ्नै १४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा मध्यपुर ठिमीस्थित बोडेबाट २३ वर्षीय युवक परेका छन् ।

बर्दियाकी ४ वर्षीया बालिकालाई फकाइ फुल्याई जबर्जस्ती करणी गरेको अभियोगमा १५ वर्षीय किशोर पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार लकडाउनको अवधि भित्र भएका थुप्रै घटनाहरुको जाहेरी प्रहरी कार्यालयसम्म आइपुगेको छैन ।

प्रायजसो घरेलु हिंसाका घटनामा शिक्षित परिवारको हिंसा बाहिर आइहाल्छ । तर हिंसाका घटनाहरु धेरै अशिक्षित वर्गमा हुने गर्दछन् । जुन वर्ग लकडाउनको अवस्थामा प्रहरीसमक्ष उजुरी गर्न आउन सक्दैनन् । महिला अधिकारकर्मी प्रणिका कोयूका अनुसार आफ्नै परिवारविरुद्ध आवाज उठाएर प्रहरीमा जाने महिलालाई सानो चोट परेको हुँदैन।

कुनै महिला ‘ममाथि हिंसा भयो’ भनेर उजुरी लिएर यत्तिकै जाँदिनन्। यस्तो अवस्थामा हिंसा सहेर बसेका महिलालाई आँट र हिम्मत दिनुपर्नेमा उनीहरूलाई मेलमिलाप गरेर पठाइन्छ। यस्तो बेलामा धेरै महिला घरबाट निकाले कहाँ जाने, के खाने भन्ने चिन्ताका कारण जस्तोसुकै हिंसा पनि सहेर बस्ने गरेका छन् ।

लकडाउनको अवधिमा लिखित उजुरी गर्दा गराउन त्यति सजिलो छैन । कतिपय अवस्थामा घरेलु हिंसालाई परिवार भित्रै दबाएर राखिन्छ । सामाजिक प्रतिष्ठामा दाग आउने तथा पुरातनवादी पितृसत्तात्मक सोच हाबी भएकोले महिलाले आफूमाथि भएको सबै प्रकारका हिंसा सहेर बसेको छन् । जसले गर्दा लिखित तथा मौखिक उजुरीहरु निकै कम मात्रामा दर्ता हुने गरेका छन् ।

चैत ११ देखि वैशाख ११ बीच लकडाउनको समयमा दाङमा ८ महिला तथा बालबालिका हिंसाविरुद्ध उजुरी परेको तथ्य महिला पुनस्र्थापना केन्द्रले सार्वजनिक गरेको छ । संस्थामा अभिलेखीकरण भएका घटनाहरुमध्ये ५१ जना प्रहरीमा उजुरी दर्ताका लागि गएको, १५ जना मेलमिलाप समितिमा गएको, १५ जना हिंसा सहन नसकेर आमाबुबाको घरआफन्तकोमा गएर बसिरहेका र बाँकी प्रभावितहरुले कुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरी नसकेको तथ्य उल्लेख गरिएको छ ।

लकडाउनको समयमा यौनजन्य अपराधहरु पनि बढेको पाइन्छ । श्रीमतीको इच्छा विपरीत जबरजस्ती गरिने यौनजन्य क्रियाकलापलाई नेपालको मुलुकी अपराध (संहिता) ऐन २०७४ परिच्छेद १८ को २१९ को ४ अनुसार वैवाहिक बलात्कार भनिएको छ ।

हाम्रो समाजमा श्रीमतीको इच्छा विपरीत यौनक्रिया गर्ने गरिन्छ । कोरोना भाइरसले मरिन्छ कि भन्ने पीर, चिन्ता, डर, तनावको बेलामा यौनक्रिडाको इच्छा आँफै कम हुने हुन्छ । यस्तो अवस्थामा पुरुषले जबरजस्तीले यौन सम्पर्क राख्नु भनेको महिला हिंसा हो । लकडाउनको समयमा यस्ता घटनाहरु धेरै परिवारमा घटेको हुनसक्छ ।

१४ वैशाख महिनामा पर्साको ठोरी गाउँपालिका—३ मा एक ७ वर्षीय बालिका बलात्कृत भएको समाचार छापिएको थियो । उनलाई छिमेकमा बस्ने १६ वर्षका युवकले बलात्कार गरेका भनी उजुरी परेको थियो । त्यसैगरी रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक ५५ वर्षीय पुरुषले १० बर्षकी सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कृत गरेको भनी प्रहरीमा उजुरी परेको छ ।

त्यस्तै धादिङबाट ट्रकमा काठमाडौं आउँदै गरेकी २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ट्रकका सहचालकलाई प्रहरीले थानकोटबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका १ छपकैया बस्ने २९ वर्षीय सञ्जयकुमार साह सोनारले लकडाउनको बेला बाहिर खेल्न जाने जिद्दी गरेकी छोरीलाई हत्या गरेको घटना सार्वजनिक भएको थियो ।

यसैगरी बोक्सीको आरोपमा सिराहामा १ जना महिलामाथि शरीरिक तथा मानसिक प्रतडना दिइएको थियो । हिंसा पीडित महिलाहरु लकडाउनको समयमा दोहोरो महामारी भोगिरहेका छन् । कोरोना महामारी त कुनै दिन पक्कै अन्त्य हुनेछ । तर हिंसाको महामारीबाट छुट्कारा कहिले पाइने हो यसै भन्न सक्ने अवस्था छैन ।

लकडाउनको समयमा ठूलाठूला जघन्य अपराधभन्दा घरेलु हिंसा र साइबर अपराध बढेको देखिएको छ । टाइम म्यागेजिनका अनुसार अमेरिकामा कोरोना संक्रमण फैलिँदै गर्दा चोरी र लुटपाटका घटनाहरु बढिरहेका थिए । सर्जिकल मास्क लगायत स्वास्थ्य सामग्रीहरु चोरी भएका घटनाहरु थुप्रै राज्यहरुमा बढिरहेको तथ्य उल्लेख गरिएको थियो ।

कोरोना भाइरस स‌ंक्रमण फैलिन नदिन हरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प नभएको र यस्तो अवस्थामा हिंसा प्रभावित महिलाले आफूमाथि भएको हिंसालाई सहजरूपमा उजुरी गर्ने वातावरण तयार गर्न स्थानीय तह र सम्बन्धित निकायले आवश्यक सेवा सञ्चालन गर्नुपर्न सुझाव ओरेकले दिएको छ।

तपाईको प्रतिक्रिया