प्रदेशले बाँड्यो मुस्ताङ, मनाङ र गोर्खालाई ४१ हजार उच्चघनत्वको स्याउ बिरुवा

समाधान संवाददाता २०७७ असार १ गते १४:१६

एसके थकाली, जोमसोम

गण्डकी प्रदेशका मुस्ताङ ,मनाङ र गोर्खा जिल्लाका स्याउ किसानलाई गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको विनियोजित बजेट मार्फत ४१ हजार १ सय ३० थान उच्च घनत्वको स्याउ बिरुवा वितरण गरेको छ ।

गण्डकी प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले मुस्ताङलाई १३ हजार ६ सय ३० थान ,मनाङलाई २१ हजार ६ सय ३० र गोर्खा जिल्लालाई ५ हजार ८ सय ७० थान उच्च घनत्वको स्याउ बेर्ना वितरण गरेको गण्डकी प्रदेशका कृषि प्रसार अधिकृत सागर घिमिरेले जानकारी दिए ।

हिमाली तथा उच्चपहाडी जिल्लाको परम्परागत स्याउ खेतीलाई बिस्थापित गर्दै नया उन्नत जातको उच्च घनत्वको स्याउ खेती बिस्तार गर्ने लक्ष्यसहित गण्डकी प्रदेशले विरुवा बितरण गरेको हो ।

Advertisement

बिरुवा खरिदमा ३ करोड २८ लाख २१ ह्जार ७ सय लगानी गरेको कृषि प्रसार अधिकृत घिमिरेले बताए। प्रदेशले जिल्लाका स्थानीय किसानलाई ७० प्रतिशत अनुदान उपलब्ध गराई स्याउ विरुवा उपलब्ध गराएको कृषि प्रसार अधिकृत घिमिरेले उल्लेख गरे ।

उनका अनुसार वितरित स्याउको मुल्य जिल्ला आईपुग्दा प्रतिगोटा १ हजार १ सय ४० रुपैया पर्छ । किसानलाई भने अनुदान कटाएर प्रतिगोटा बिरुवा ३ सय ४२ रुपैयामा उपलब्ध गराईएको हो । गण्डकी प्रदेशले खरिद गरेको उच्च घनत्वको स्याउ बिरुवामा गोल्डेन डेलिसियस ,फुजी किको ,गाला र जोना फ्रिन्स लगायतका स्याउ बिरुवा छन् ।

Advertisement

गण्डकी प्रदेश सरकारले गोर्खाको धार्चे र चुमनुम्री गाउपालिकामा उच्च घनत्वको स्याउ बिरुवा वितरण गरेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यसअघि गोर्खाको धार्चे गाउपालिकामा स्याउको ट्रायल परीक्षण गरेपछि बिरुवा उपलब्ध गराएको प्रसार अधिकृत घिमिरेले बताए ।

मुस्ताङमा प्रदेश मन्त्रालयका सचिव अच्युतप्रसाद ढकाल ,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन ईकाई स्याउ जोन मुस्ताङ र शितोषण वागवानी विकास केन्द्र मार्फाको संयुक्त टोलीले उच्च घनत्वको स्याउ खेती अध्ययन गरेको थियो ।

मनाङमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्याउ खेतीको अवलोकन गरेका थिए । त्यहा करिव ५ वर्ष अघि मनाङ एग्रोले उच्च घनत्वको स्याउ खेती बिस्तार गरेको प्रसार अधिकृत घिमिरेले बताए ।

गण्डकी प्रदेश सरकारले ईटालियन उच्च घनत्वको स्याउ बिरुवा खरिद गर्न ठेक्क खुलाएको थियो । चालु वर्ष मनाङ एग्रोले बिरुवा नेपाल ल्याएको मन्त्रालयले जनाएको छ ।

यसअघि स्याउ जोन मुस्ताङले मनाङ एग्रो मार्फत जिल्लामा १० हजार उच्च घनत्वको स्याउ बिरुवा वितरण गरेको थियो ।

स्याउ जोनले स्थानीय किसानलाई स्याउ बगैचा व्यवस्थापन गर्न ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको स्याउ जोन मुस्ताङका प्रमुख माधब लम्सालले जानकारी दिए । माघ र फागुन महिनामा वितरण गरिनु पर्ने स्याउ बिरुवा कोरोनाले सिर्जित लकडाउनका कारण ३ महिना ढिलो गरी ल्याईएको उनले बताए । जोनले मुस्ताङका ४ स्थानीय तहका किसानलाई बिरुवा बितरण गरेको थियो ।

परम्परागत स्याउ खेतीको तुलनामा छिटो र छरितो लगाएको दोश्रो वर्षमै फल दिनसक्ने भएकाले जिल्लामा उच्च घनत्व स्याउ बिरुवाको माग बढेको स्याउ जोनले बतायो । यो खेती बिस्तारले किसानलाई भरपूर आर्थिक लाभ दिने जोन प्रमुख लम्सालले उल्लेख गरे । उनका अनुसार एक उच्च घनत्वको बिरुवाले २५ केजी उत्पादन दिन्छ ।

यसले २५ वर्ष सम्म फल दिन सक्छ । १ हेक्टरमा लगाईएको बिरुवाले ४० टनसम्म फल दिनसक्छ । मुस्ताङमा १४ सय हेक्टरमा स्याउ खेती गरिएको र चालु वर्ष यसको क्षेत्रफल बृद्धि हुने जनाईएको छ । मुस्ताङमा चालु वर्ष ६५ सय मेट्रिक टन स्याउ फलेको थियो ।

तपाईको प्रतिक्रिया