गण्डकी सरकारले आज गर्यो ५ निर्णय
पोखरा
गण्डकी प्रदेश मन्त्रिपरिषदको आज सोमबार बसेको बैठकले ५ वटा निर्णय गरेको छ । आज आउने बजेट मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।
आव २०७७/७८ को बजेट प्रदेश सभामा आज ४ बजे पेस हुँदैछ । बजेटसँग राजस्वको आय र व्ययको अनुमान, विनियोजन विधेयक र आर्थिक विधेयकसँगै हुन्छन् । ती सबै मन्त्रिपरिषदले पारित गरेको हो ।
मन्त्रिपरिषदले प्रदेश विकास प्राधिकरण बनाउनका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दिए ।
उनका अनुसार प्राधिकरण बनाउने विधेयक तयार गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मन्त्रिपरिषदले स्वीकृति दिएको हो । उक्त मन्त्रालयले विधेयक तयार गरेपछि प्रदेश सभामा पेस हुनेछ ।
मन्त्रिपरिषदले फेवाताल संरक्षणका लागि निर्मित बाँधका लागि १४ करोड रुपैयाँ भुक्तानी दिने निर्णय गरेको छ । पोखरा महानगरपालिकासँगको साझेदारीमा फेवाताल संरक्षणका लागि तालको मुहानमा बाँध निर्माण भएका छन् । बाँध २८ करोड रुपैयाँमा बनेका हुन् ।
पर्वत जिल्लाको सामुदायिक रेडियो पर्वतमा आगलागी भएको हुँदा उक्त रेडियोलाई ५० हजार रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।
तपाईको प्रतिक्रिया