गण्डकी प्रदेशमा अब कुखुराको मासु प्रतिकेजी ४ सय

समाधान संवाददाता २०७७ असार १ गते २१:५०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा मंगलबारदेखि कुखुराको मासुको नयाँ मूल्य कार्यान्वयनमा आउने भएको छ । नयाँ मूल्य हाल प्रचलनमा रहेकोभन्दा प्रतिकेजी ८० रुपैयाँ कम हुने उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।

सरोकारवालासँग समन्वय गरेर नयाँ मूल्य कार्यान्वयन गर्ने सहमति भएको मउनले बताए । ‘अहिले प्रतिकेजी ४ सय ८० रुपैयाँ छ । प्रतिकेजी ८० रुपैयाँ घटाउने गरी व्यवसायी र सप्लायर्ससँग सहमति भयो,’ उनले भने ।

Advertisement

मासु व्यवसायीले स्पेशल र होल चिकेन भनेर मासु विक्री गर्दै आएकोमा अब होल चिकेन मात्र विक्री हुनेछ । स्पेशल भनेर मासुको मूल्य तोक्नु पैसा कमाउने प्रपञ्च भएको अध्यक्ष कोइरालाले बताए ।

मासुको नयाँ मूल्य तोक्नुअघि सरोकारवालासँग बसेर त्यसको बारेमा छलफल र प्रयोगात्मक गरिएको थियो । त्यसमा जिउँदो कुखुराभन्दा व्यवसायीले बेच्ने मासुमा २५ प्रतिशत फरक देखिएको अध्यक्ष कोइरालाले जानकारी दिए ।

Advertisement

उनले भने, ‘हामीले ४ वटा जिउँदो कुखुरा काटेर हे¥यौं । त्यसो गर्दा एउटा जिउँदो कुखुरामा ७५ प्रतिशत मात्र मासु पर्ने रहेछ ।’

निर्देशनालयका अधिकृत भरतमणी बरालको संयोजकत्वमा मासुको मूल्य समायोजन सिफारिस समिति गठन गरिएको थियो ।

उक्त समितिमा खाद्य प्रविधि तथा डिभिजन कार्यालय पोखराका प्रमुख प्रशान्त पोखरेल, जिल्ला पशु विज्ञ केन्द्र कास्कीका प्रमुख डा. शोभा शर्मा, जिल्ला प्रशासन कार्यालय कास्की, मासु व्यवसायी संघ कास्की, कुखुरा पालक किसान संघ कास्कीलगायत संघसंस्थाका प्रतिनिधि सदस्य छन् ।

सहमतिअनुसार नयाँ मूल्य कार्यान्वयन भए/नभएको बारे प्रदेशका सबै जिल्लामा अनुगमन गरिने भएको छ ।

तपाईको प्रतिक्रिया