प्रदेश प्रमुखद्वारा आइसोलेसन वार्ड निरीक्षण

समाधान संवाददाता २०७७ असार २ गते १९:३८

पोखरा

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि निर्मित आइसोलेसन वार्डको निरीक्षण गरेका छन् ।

मंगलबार प्रदेश प्रमुख शेरचनले आइसोलेसन वार्डसहित प्रि–आइसोलेसन वार्ड र मृगौला डाइलोसिस कक्षको समेत निरीक्षण गरेका छन् ।

Advertisement

उक्त अवसरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापा, डीन प्राडा नरेन्द्रविक्रम गुरुङ र अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले कोरोना संक्रमितको उपचारको अवस्था र भएका तयारीका बारेमा प्रदेश प्रमुख शेरचनलाई जानकारी गराएका थिए ।

निरीक्षणका क्रममा प्रदेश प्रमुख शेरचनले कोरोना संक्रमितको उपचारका लागि गरिएको तयारी राम्रो पाएको बताए । कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटरसहितका आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि गण्डकी प्रदेश सरकारले बजेटको व्यवस्था गरेको र अस्पतालले समेत राम्रो तयारी गरेको भन्दै उनले कुनै समस्या नहुने अपेक्षा गरे ।

Advertisement

प्रतिष्ठानका उपकुलपति प्राडा थापाले अटोमेटेड पिसिआर मेसिन छिट्टै आउन लागेको जानकारी दिँदै कोरोनाको परीक्षणलाई तीव्रता दिइने बताए । अस्पतालका निर्देशक डा. आचार्यले कोरोना संक्रमितको उपचारका लागि ३५ बेडको आइसोलेसन वार्ड तयार भइसकेको जानकारी दिँदै अन्य रोगका बिरामीलाई समेत उपचारमा समस्या नहुने गरी तयारी गरिएको बताए ।

तपाईको प्रतिक्रिया