संक्रमणमुक्त भएपछि मात्र घर पठाउँछौं ः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७७ असार २ गते १९:४३

समाधान संवाददाता
स्याङ्जा

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस कोभिड १९ का सबै संक्रमितलाई संक्रमण मुक्त बनाएर मत्र घर पठाउने बताएका छन् ।

मुख्यमन्त्री गुरुङले विश्व स्वास्थ्य संगठन, नेपाल सरकारले कोरोना संक्रमण भए पनि लक्षण नदेखिएकालाई १४ दिनपछि परीक्षण बिना घर पठाउन भनिए पनि प्रदेशका सबै संक्रमितको पिसिआर परीक्षण गरी संक्रमण मुक्त भएपछि मात्र घर पठाउने बताएका हुन् ।

मुख्यमन्त्री गुरुङले मंगलबार गण्डकी प्रदेशमा सबैभन्दा धेरै ५१ जना कोरोना भाइरसबाट संक्रमितको उपचार भइरहेको स्याङ्जाको कालिका सामुदायिक अस्पतालको आइसोलेसन र समुदायस्तरमा कोरोना संक्रमित देखिएको गल्याङको अनुगमन गरेका छन् ।

मुख्यमन्त्री गुरुङले परीक्षण बिना घर पठाउँदा त्रास र जोखिम बढ्ने भएकाले सबैको परीक्षण गर्ने प्रबन्ध गरेको बताए । स्याङ्जामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कालिका समुदायिक अस्पताललाई आइसोलेसन अस्पतालको रुपमा विकास गरिएको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले भारतबाट आएकालाई राख्न क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन अस्पताल निर्माणमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।

Advertisement


प्रदेश सरकारले बाहिरबाट आउनसक्ने मानिसहरुको आँकलन गरी सबै व्यवस्थापकीय काम गरेको भन्दै मुख्यमन्त्री गुरुङले कोरोना संक्रमण फैलिन नदिन र संक्रमितलाई संक्रमणमुक्त बनाउनु प्रमुख दायित्व भएको बताए ।

तपाईको प्रतिक्रिया