मुस्ताङलाई चीनले दियो करोडौं मूल्यका स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७७ असार २ गते २०:३६

एसके थकाली
मुस्ताङ


चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले मुस्ताङलाई दोस्रो पटक स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार तिब्बतको झोम्बा काउन्टीको तर्फबाट मुस्ताङलाई कोरोना रोकथाम तथा नियन्त्रण लगायतका स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको हो ।


यसअघि तिब्बत सरकारसँग जिल्ला विपद व्यवस्थापन समिति मुस्ताङले जिल्लालाई कोरोनामुक्त बनाउन कोरोना रोकथाम तथा नियन्त्रण र जिल्ला अस्पताललाई चाहिने आवश्यक स्वास्थ्य उपकरण सामग्री माग गरेको थियो ।
नेपाल पक्षले माग गरे अनुसार तिब्बतले स्वास्थ्य सामग्री सहयोग गरेको स्थानीयले बताएका छन् ।

Advertisement

तिब्बतले नेपाल पक्षलाई दिएको स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय र जिल्लास्थित सुरक्षाकर्मीलाई तिब्बती सुरक्षा अधिकारीहरुले सोमबार उत्तरी कोरला नाकामा हस्तान्तरण गरेका छन् ।

तिब्बतले जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङलाई सर्जिकल मास्क १ लाख १० हजार थान, आरडिटी किट १२ सय थान, एन ९५ माक्स १२ सय थान, व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) ११ सय थान र ज्वरो नाप्ने थर्मल गन १ सय थान उपलब्ध गराएको छ ।

Advertisement

तिब्बतले मुस्ताङका सुरक्षाकर्मीलाई पिपिई, माक्स, सेनिटाइजर, सुरक्षा चश्मा, सुरक्षित लुगा, इलेक्ट्रोनिक थर्मोमिटर, स्प्रे मेसिन, जेनेटर, जुत्ता, चुल्हो र ब्ल्यांकेट लगायतका १७ प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए ।

चीनको स्वशासितक्षेत्र तिब्बतका तर्फबाट सशस्त्र प्रहरीका डिएसपी निमा र जनपथ प्रहरीका डिएसपी धोर्जे लगायत सुरक्षा अधिकारी उपस्थित थिए भने नेपाल पक्षबाट मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्याल, जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ, उपप्रमुख राजेन्द्र शेरचन, लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउपालिकाका अध्यक्ष र सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी प्रमुख उपस्थित थिए ।

दुवै पक्षको उपस्थितमा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले स्वास्थ्य सामग्री बुझेका छन् । तिब्बत पक्षले स्वास्थ्य राहत सामग्री नेपाल पक्षलाई वितरण गरेको दृश्य ड्रोन क्यामेराबाट लिएको थियो । स्वास्थ्य सामग्री हस्तान्तरणमा चिनिया पत्रकारको उल्लेख्य उपस्थित थियो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले मुस्ताङलाई कोरोना मुक्त बनाउन तिब्बत सरकारले स्वास्थ्य समग्री सहयोग गरेको बताए । उनले यसअघि संघ तथा प्रदेश सरकारबाट कोरोना रोकथाम लगायतका सामग्री प्राप्त भएको र तिब्बतको चाहाना अनुसार थप स्वास्थ्य सामग्री माग गरिएपछि ठूलो परिमाणमा राहत सामग्री प्राप्त भएको जानकारी दिए ।

तिब्बतबाट प्राप्त स्वास्थ्य सामग्री आवश्यकता र औचित्यताका आधारमा प्रयोगमा ल्याइने प्रमुख जिल्ला अधिकारी अर्यालले उल्लेख गरे । उनका अनुसार मुस्ताङले माग गरेअनुसार जिल्लालाई आवश्यक पर्ने पिसिआर मेसिन लगायत अन्य स्वास्थ्य उपकरण तिब्बतले सहयोग गर्ने जनाएको छ ।

गत वैशाख २६ गते पनि तिब्बतले उपल्लो मुस्ताङको २ स्थानीय तहलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । यसअघि तिब्बतले मुस्ताङसहित हुम्ला, जुम्ला, रसुवा र डोल्पा लगायतका जिल्लालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया