कास्की रेडक्रसको अत्याधुनिक भवन शिलान्यास

समाधान संवाददाता २०७७ असार ३ गते १०:२२

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल रेडक्रस सोसाइटी कास्कीको अत्याधुनिक भवन बुधबार शिलान्यास गरेका छन् ।

पोखराको सिर्जनाचोकस्थित रेडक्रसकै जमिनमा करिब ७ करोड रुपैयाँ लागतमा उक्त भवन बन्न लागेको हो ।

Advertisement

अत्याधुनिक सेवासहितको रक्तसञ्चार केन्द्र र रेडक्रसका सबै गतिविधि समेत सोही भवनबाट सञ्चालन गर्ने गरी निर्माण थालिएको भवन निर्माण समिति संयोजक समेत रहेका नेपाल रेडक्रस सोसाइटी कास्की उपाध्यक्ष डन्डराज पौडेले जानकारी दिए ।

पौडेलका अनुसार अन्डरग्राउन्ड पार्किङसहित ३ तले भवन ठेकेदार कम्पनीले २४ महिनामा सकेर हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ । निर्माणको ठेक्का सिद्धार्थ कन्स्ट्रक्सनले पाएको छ ।

Advertisement

कार्यक्रममा मुख्यमन्त्री गुरुङले प्रदेशवासीको स्वास्थ्यका लागि सरकार चिन्तित रहेको भन्दै यो वर्षबाट स्वास्थ्यका कार्यक्रमले प्राथमिकता पाएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

सबै जिल्ला अस्पतालमा आइसियु बेड स्थापनादेखि गाडी सुविधाका लागि निर्णय भइसकेको र कोभिड १९ सँग जुध्नका लागि पनि सोही अनुसार कार्यक्रम बनाएर अगाडि बढिरहेको उनले बताए ।

रेडक्रस कास्कीले बनाउन लागेको भवनका लागि प्रदेश सरकारले सहयोग गर्ने वचन दिँदै रक्तसञ्चार र अन्य सेवाका क्षेत्रमा रेडक्रसले गरेको कामका बारेमा उनले खुलेर प्रशंसा गरे ।

कार्यक्रममा प्रदेश सांसदहरु नेपाली कांग्रेसका बिन्दुकुमार थापा, नेपाल कम्युनिस्ट पार्टी नेकपाका कृष्णबहादुर थापा, दीपक कोइरालाले रेडक्रसको भवनका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरामा हरेक प्रकारका सुविधा उपलब्ध गराउने क्रममा रेडक्रसले थालेको यो कदममा महानगरले काँधमा काँध मिलाउने बताए । नेपालकै नमुना ब्लड बैंक पोखरामा बन्नु पोखरेलीका लागि गर्वको विषय रहेको भन्दै यसमा जनस्तरबाट समेत सहयोगको आवश्यकता रहने उनको भनाइ थियो ।

नेपाल रेडक्रस सोसाइटी कास्की अध्यक्ष डोलराज पाण्डेले रेडक्रससँग पर्याप्त रकम भएर यो निर्माण थालेको नभइ सहयोग प्राप्त हुने उद्देश्यका साथ थालिएको बताए ।

उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहका सरकार मात्र होइन, नागरिकस्तरबाट समेत सहयोगको प्रतिबद्धता आएको छ, आशा छ हाम्रो काममा रकमकै कारण अवरोध आउँदैन ।’

सबै तस्बिर : विक्रम न्याैपाने, मुख्यमन्त्रीका प्रेस संयाेजक

तपाईको प्रतिक्रिया