पोखरामा रोकियो सुत्केरीलाई पौष्टिक आहार वितरण

समाधान संवाददाता २०७७ असार ३ गते १६:२२

समाधान संवाददाता
पोखरा

Advertisement

लकडाउनमा सुत्केरी भएका महिलालाई वितरण गर्दै आएको पौष्टिक आहार कार्यक्रम पाेखरा महानगरले रोक्ने भएको छ ।

सरकारले असार १ गतेबाट लकडाउन खुकुलो बनाएसँगै सुत्केरी आहार वितरण अभियान रोकिएको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।

उनका अनुसार जेठ ३२ गतेसम्म नाम टिपाएकाहरुलाई भने वितरण गरिने छ ।

‘लकडाउन खुकुलो भयो, अब पौष्टिक आहार वितरण रोक्ने निर्णय गरेका छौं,’ उनले भनिन् ।

Advertisement

उक्त कार्यक्रमबाट ६ सय ८० जना लाभान्वित भएको महानगरले जनाएको छ ।

लकडाउनमा महिलाहरु माइतीघर जान नपाउने र आफ्ना भेट्न पनि आउन नपाउने भएकाले अभिभावकीय जिम्मेवारी लिँदै सुत्केरीलाई १ किलो घिउ, १ किलो हरलिक्स, १ लिटर तेल, एउटा साबुन र नगद ५ सय रुपैयाँ उपलब्ध गराएको थियो ।

चैत १० देखि जेठ ३२ गतेसम्म सुत्केरी भएका महिलाहरुलाई सुुत्केरी राहत प्रदान गरेको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।

सुत्केरी महिलाहरुलाई पौष्टिक आहारको कमी नहोस् भनेर पौष्टिक आहार वितरण गरिएको उनले बताइन् ।

कार्यक्रममा महानगरको १३ लाख ६० हजार रुपैयाँ खर्च भएको भण्डार शाखाका रेवती भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया