‘पोखराका ९० वर्षे संक्रमितको अवस्था चिन्ता लिनुपर्ने खाले छैन’
अनुप पौडेल
पोखरा, ३ असार
पोखराका ९० वर्षे कोरोना संक्रमितको सम्पर्कमा आएका ६५ जनाको स्वाब संकलन गरिएको छ । संक्रमित उपचार गराउन पुगेको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालका कर्मचारी र परिवारका सदस्य गरी ६५ जनाको स्वाब संकलन गरिएको हो ।
‘प्रारम्भिक ट्रेसिङ गर्दा ६५ जना सम्पर्कमा आएको देखिएको छ । त्यसमा ५३ जना अस्पतालमा कार्यरत डाक्टर, नर्सलगायतका कर्मचारी हुनुहुन्छ । बाँकी १२ जना परिवारका सदस्य हुनुहुन्छ,’ पोखरा महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने ।
स्याङ्जाको वालिङ घर भइ पोखरा १४ भेडिफार्म बस्दै आएका वृद्धमा मंगलबार कोरोना पुष्टि भएको थियो । २६ जेठमा उपचारका लागि सामुदायिक अस्पतालमा पुगेका उनमा ज्वरो देखिएपछि स्वाब परीक्षणका लागि पठाउँदा कोरोना पोजेटिभ आएको हो ।
संक्रमित वृद्ध कोरोनाबाट मृत्यु भएका वालिङका ५८ वर्षे पुरुषसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रिआइसोलेसनमा बसेका थिए । ती वृद्ध ज्वरो आएपछि २२ जेठमा क्षेत्रीय अस्पताल भर्ना भएका थिए ।
सोही दिन वालिङ ३ घर भएका ५८ वर्षे पुरुष पनि उपचारका वालिङबाटै पोखरा आएका थिए । दुवैलाई ज्वरो आएपछि क्षेत्रीय अस्पतालले कोरोनाको रिपोर्ट नआउँदासम्म शंकास्पद भन्दै प्रि–आइसोलेसनमा राखेको थियो ।
वालिङका पुरुषमा २५ जेठमा कोरोना पोजेटिभ देखिँदा सँगै बसेका ९० वर्षे वृद्धको भने रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमण नदेखिएपछि २५ जेठमै उनी घर फर्किएका थिए । तर भोलिपल्ट ज्वरो आएपछि पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल गए ।
सामुदायिक अस्पतालले स्वाब संकलन गरेर पठाउँदा रिपोर्ट पोजेटिभ आएपछि अहिले ती वृद्धको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको क्षेत्रीय अस्पतालका सूचना अधिकारी नारायण आचार्यले जानकारी दिए ।
उनले भने, ‘९० वर्षका बुवाको अवस्था चिन्ता लिनुपर्ने खालको छैन । खाना खाइरहनुभएको छ । अरु ८ संक्रमित आइसोलेसन वार्ड बाहिर निस्केर खेल्नुहुन्छ ।’
क्षेत्रीय अस्पतालको आइसोलेसनमा ती वृद्धबाहेक अरु ८ संक्रमित उपचाररत छन् । उपचाररत ९ जनाकै स्वाब परीक्षणका लागि बुधबार नै प्रयोगशाला पठाइएको छ । ‘९ जनाकै स्वाब संकलन गरेर पठाएका छौं । १/२ दिनमा रिपोर्ट आउला । नेगेटिभ आउनेलाई घर पठाउँछौं,’ सूचना अधिकारी आचार्यले भने ।
क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार गराउनेमा कास्कीको रुपा गाउँपालिकाका २ सहित पोखरा २७, ३०, ९ र १४नम्बर वडाका पुरुष छन् । पोखरा–१४ का संक्रमित ९० वर्षे वृद्धबाहेक अरु संक्रमित २१ देखि ५९ वर्ष उमेर समूहभित्रका छन् । पोखराको उक्त आइसोलेसनमा उपचार गराउनेमा ३ संक्रमित बाहिरी जिल्लाका छन् ।
दुर्घटनापछि मणिपाल शिक्षण अस्पतालमा उपचार गराउन आएका पर्वतको कुश्मा ३ का ३५ वर्षे युवकमा ३० जेठमा कोरोना पुष्टि भएपछि उनको यहीँ उपचार भइरहेको छ । अर्का २ संक्रमितलाई भने श्वासप्रश्वासमा समस्या भएपछि स्याङ्जाको हेलुस्थित कालिका सामुदायिक अस्पतालबाट २८ जेठमा पोखरा रेफर गरिएको हो ।
पोखरासहित गण्डकी प्रदेशमा अहिलेसम्म २ सय ४७ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ । प्रदेशको २ जिल्ला मनाङ र मुस्ताङबाहेक ९ वटै जिल्लामा संक्रमित भेटिएका छन् ।
यो पनि
गण्डकीका पहिलो मृतकसँगै प्रि–आइसोलेसनमा बसेका थिए ९० वर्षे संक्रमित
भैरहवाबाट ट्याक्सीमा पोखरा आएका थिए कोरोना संक्रमित
बाइक दुर्घटना भएपछि उपचार गर्न पोखरा आएका थिए कुश्माका संक्रमित
कुश्माका युवकलाई मणिपालबाट कोरोना नसरेको पुष्टि
तपाईको प्रतिक्रिया