गण्डकीमा कोरोनाले बजायाे खतराको घन्टी

समाधान संवाददाता २०७७ असार ४ गते १०:४४

समाधान संवाददाता
पोखरा

३ साताअघिसम्म ग्रिन जोन मानिएको गण्डकी प्रदेश अहिले कोरोनाको इपिसेन्टर बनेको छ । बिहीबार बिहान मात्र यो प्रदेशमा ७७ जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै प्रदेशका १० जिल्लामा ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिमाली जिल्ला मनाङमा बिहीबार पहिलोपल्ट ५७ वर्षे पुरुषमा कोरोना देखिएको छ । कपिलवस्तुबाट मनाङ पुगेका चामे गाउँपालिकका ती कर्मचारीमा शंका लागेर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो ।

Advertisement

११ जिल्ला रहेको गण्डकी प्रदेशको मुस्ताङ जिल्ला अहिलेसम्म सुरक्षित छ । मुस्ताङ जिल्लामा संक्रमित भेटिएका छैनन् । मुस्ताङमा त बाहिरबाट आएका मानिसलाई जिल्ला प्रवेशमा रोक लगाइएको छ । पालिकाहरुले पनि आन्तरिक रुपमा लकडाउन गरेका छन् । म्याग्दीका सिडियोलाई समेत मुक्तिनाथ जानबाट स्थानीयले रोक लगाएका थिए । पोखराबाट पुगेका २ पत्रकारलाई समेत उपल्लो मुस्ताङ जानबाट रोक लगाइएको थियो ।

बिहीबार मात्रै गण्डकीका नवलपुरमा ३१, स्याङ्जामा ९, गोर्खामा ११, तनहुँमा १५, पर्वतमा ९ बागलुङ र मनाङमा १÷१ जनामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले बताए । मनाङवाहेक अन्य जिल्लामा भेटिएका संक्रमित सबै भारतबाट आएर सम्बन्धित जिल्लाका पालिकाहरुमा क्वारेन्टाइनमा बसेका छन् ।
स्थानीयस्तरमा सञ्चालन भइरहेका क्वारेन्टाइन व्यवस्थित नहुँदा कोरोना संक्रमणको खतरा झन् बढेको छ । एउटै कोठामा धेरैजना सुत्नुपर्ने, खानेपानी र ट्वाइलेटको व्यवस्था समेत नभएपछि क्वारेन्टाइनमा बसेकाहरु आन्दोलनमा समेत उत्रेका छन् ।

Advertisement

गल्याङको क्वारेन्टाइनमा बसेकाहरुले त नगरपालिकाको ध्यानाकर्षण गराउँदै आन्दोलन नै गरे । अहिले त्यहाँ खानेपानीको प्रबन्ध भएको छ ।

गण्डकी प्रदेशमा हाल २ वटा पिसिआर मेसिनबाट परीक्षण भइरहेको छ । यहाँको सरकार अर्को एक मेसिन किन्ने तयारीमा छ । पिसिआर संकलन गरेको १ सातासम्म पनि रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बसेकाहरु अत्तालिन थालेपछि गण्डकीमा परीक्षणलाई तीब्रता दिएको बताए पनि नतिजा आउन ढिलाइ भइरहेको छ । ल्याबमा कर्मचारी अभाव भएपछि जिल्लाहरुबाट बोलाएर छोटो अवधिको तालिम दिएर काममा लगाइएको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।

बिहीबार बिहानसम्म गण्डकीमा २२ जना बिरामी निको भएर घर फर्केका छन् भने १ जनाको मृत्यु भएको छ ।

बिरामीको चाप बढ्न थालेपछि आइसोलेसन बेड थप्न प्रदेश सरकारले चासो दिएको छ । स्याङ्जा, नवलपुर, कास्की लगायतका जिल्लामा आइसोलेसन बेड थपिएको छ । बागलुङमा त अस्तालमा ठाउँ अभाव भएपछि धौलागिरि क्याम्पसमा आइसोलेसन बनाइएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयले २ वटा पिसिआर मेसिनबाट कोरोना परीक्षण भइरहेको बताएपनि अझै परीक्षणको गति द्रुत हुन सकेको छैन । बुधबार साँझसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका १९ सय १ स्वाब अझै पेन्डिङमा थिए । हालसम्म गण्डकी प्रदेशमा ८ हजार ४ सय ४३ जनाको स्वाब संकलन गरिएको छ । तीमध्ये ६ हजार २ सय ९५ जनामा कोरोना नेगेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया