मनाङमा कोरोना देखिएपछि मुस्ताङ सचेत

समाधान संवाददाता २०७७ असार ५ गते ६:४८

एसके थकाली
जोमसोम

पछिल्लो समय विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण दर नेपालमा भुसको आगो झै फैलिरहेको अवस्थामा हिमालपारीको जिल्ला मुस्ताङलाई भने कोरोना संक्रमणले अझै गाल्न सकेको छैन ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये बुधबारसम्म कोरोना संक्रमणबाट मनाङ र मुस्ताङ मुक्त थिए । प्रादेशिक जनस्वास्थ्य कार्यालय पोखराले बिहीबार मनाङमा पनि १ जना कोरोना संक्रमित भएको पुष्टि गरेपछि अब गण्डकी प्रदेशमा मुस्ताङ मात्र कोरोना मुक्त जिल्ला बनेको हो ।

Advertisement

बिहीबारसम्म मुलुकभर ७ हजार ८ सय ४८ जनामा कोरोना पुष्टि भईसकेको छ भने गण्डकी प्रदेशमा मनाङसहित १० जिल्लामा कुल ३ सय ४८ जना कोरोना संक्रमित भेटिएका हुन् । कोरोना भाइरस तराईदेखि पहाड हुँदै हिमालतिर उक्लन थालेपछि मनाङ र मुस्ताङमा कोरोना त्रास बढेको छ ।

सरकारले लकडाउन सुरु गरेलगत्तै म्याग्दी र मुस्ताङको सीमा नाकामा कडाई गर्दै आइरहेको मुस्ताङले मनाङलाई समेत प्रभावित बनाएपछि यहा थप उच्चसर्तकता अपनाउन थालिएको छ ।

Advertisement

कोभिड—१९ संकट व्यवस्थापन समिति (ससिएिमसीले जिल्ला भित्र रहेका कर्मचारी, जनप्रतिनिधि र स्थानीयलाई एक जिल्लाबाट अर्को जिल्ला आउजाउमा कडाई गर्ने निर्णय गरेको छ । यस्तै, जिल्ला विपत व्यवस्थापन समितिले जिल्ला भित्र संक्रमित जिल्लाबाट तरकारी, फलफुल तथा मासुजन्य पदार्थ ढुवानी गर्न प्रतिबन्ध लगाइएको छ । जिल्लालाई कोरोनामुक्त तुल्याउन जिल्ला भित्रका निर्माण कम्पनीलाई कामदार भिœयाउन प्रतिबन्ध लगाइएको छ । तर, जिल्लामा विकासको काम गर्ने उपकरण चालक, मालवाहक सवारी साधनका चालक तथा सहचालक र अतिआवश्यकीय कामकाजले आउजाउ गर्ने व्यक्तिलाई मुस्ताङको थासाङ गाउपालिका घासामा अनिवार्य आरडिटी परीक्षण गर्ने व्यवस्था गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए ।

छिमेकी देश भारतमा रोजगारीका लागि गएका नेपाली धमाधम गृह जिल्ला फर्किन थालेपछि नेपालमा कोरोना भाईरसको डरलाग्दो जोखिम बढेको हो । नेपालमा कोरोना संक्रमित बढेसँगै मुस्ताङलाई पनि कोरोनाले डस्ने हो कि भन्नेतर्फ स्थानीय सचेत बनेका छन् ।

मुस्ताङका अधिकांश गाउँहरुमा बन्दाबन्दी र एकान्तबास कायमै गरिएको छ । कतिपय गाउमा स्थानीयले आउजाउ बन्द गर्न सडकमा पर्खाल लगाएका छन् । गाउँ गाउँमा मुखिया समितिले गाउँलेलाई एक गाउँबाट अर्को गाउँमा हिडडुल गर्न निषेध गरेको छ । यसअघि पोखरा र काठमाडौ लगायतका स्थानबाट जिल्ला फर्किएकाको स्वास्थ्य परीक्षण गर्दै होम क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको निगरानी स्वास्थ्यकर्मी तथा सुरक्षा निकाय र सिसिएमसीले गरेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले जिल्लामा बिहीबार सम्म २५ जनाको स्वाब नमुना संकलन भएको जानकारी दिए । जसमध्ये १६ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ भने बाँकी ९ जना व्यक्तिको स्वाब रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य प्रमुख भण्डारीले बताए । उनका अनुसार हालसम्म ५ सय ५८ जनाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक ) आरडिटी परीक्षण भइसकेको छ ।

मुस्ताङमा अहिले ७ जना व्यक्ति क्वारेन्टाइनमा छन् । जिल्लाका ५ स्थानीय तहले करिब ९० शय्याकाे क्वारेन्टाइन निर्माण गरे पनि खासै व्यवहारिक बन्न सकेको छैन । हालसम्म उपल्लो मुस्ताङका २ पालिकामा क्वारेन्टाइन प्रयोगमा आएको छैन । घरपझोङ, थासाङ र वारागुङ मुक्तिक्षेत्रमा गरी करिब ५० भन्दा बढी व्यक्ति क्वारेन्टाइन मापदण्ड पूरा गरेका छन् । जिल्लामा कोरोना रोकथाम गर्न मुस्ताङको थासाङ गाउपालिका बढी जिम्मेवार बनेको पाइएको छ ।

बिहीबार मनाङमा कोरोना संक्रमण देखिएसँगै मुस्ताङका कतिपय स्थानीयले जिल्लानै सिल गर्नुपर्ने आवाज उठाएका छन् । कोरोना संक्रमणकालमा मुक्तिनाथ दर्शन गर्न आएको भन्दै ३ दिनअघि मुस्ताङका स्थानीयले म्याग्दीका सिडियोलाई समेतलाई मुक्ति जान रोक लगाएका थिए । सरकारले कोरोना संक्रमण बढिरहेको अवस्थामा लक डाउन खुकुलो बनाएपनि मुस्ताङका होटलहरु बन्द छन् ।

सीमानाकामा कडा निगरानी गरिएकाले जिल्लामा पर्यटकीय चहल पहल शूुन्य बनेको होटल ताजका सञ्चालक योगेश शेरचनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया