क्वारेन्टाइनमा २५ दिन बसेर राति घर गए, भोलिपल्ट कोरोना देखियो

समाधान संवाददाता २०७७ असार ५ गते १०:१२
क्वारेन्टाइन बनाइएको तनहुँको आदिकवि भानुभक्त क्याम्पस

अनुप पौडेल, पोखरा

तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त आचार्य क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा बसेकाहरु बुधबार साँझ आन्दोलनमा उत्रिए । स्वाब संकलन भएको २ हप्तासम्म पनि रिपोर्ट नआएपछि आन्दोलनमा उत्रिनु स्वाभाविक थियो । क्वारेन्टाइनमा बसेका ५० जना आफ्नो सर–सामान लिएर निस्किए ।

घर जान पाउनुपर्ने भन्दै आन्दोलन नै गरेपछि पालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घर पठाउने/नपठाउनेबारे अन्योलमा परे । ‘घर जान पाउनपर्छ भनेर एक किसिमको विद्रोह भयो । उनीहरुको घर नगइ नछोड्ने अडानलाई कन्ट्रोल गर्नै गाह्रो भयो,’ नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत हरिश्चन्द्र न्यौपानेले भने, ‘एकातिर १२ दिनसम्म रिपोर्ट नआउने, अर्कोतिर ठूलै हंगामा हुने देखिएपछि आरडिटी गरेर घर पठाउने निर्णय ग¥यौं ।’

Advertisement

बुधबार अबेर राति आरडिटी नेगेटिभ आएपछि घर पठाइएकामध्ये १ जनाको रिपोर्ट बिहीबार बिहान कोरोेना पोजेटिभ आयो ।२४ जेठमा स्वाब परीक्षणका लागि पठाइएकोमा व्यास १३ घर भएका ४२ वर्षे पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित पुरुष १० जेठमा २३ जनाको समूहमा भारतबाट आएका थिए ।

उनीसँगै १० जेठमा भारतबाट आएकाको १६ जेठमा कोरोना परीक्षणका लागि स्वाब पठाइएको थियो । त्यसमा उनको रिपोर्ट नेगेटिभ आएपनि सँगै आएका रिसिङ गाउँपालिकाका २८ वर्षे पुरुषमा कोरोना देखियो । बिहीबार संक्रमण पुष्टि भएका पुरुष रिसिङका संक्रमितको कन्ट्याक ट्रेसिङमा परे ।

Advertisement

‘आज कोरोना पुष्टि भएका पुरुष जिल्लाका पहिलो संक्रमितको कन्ट्याक ट्रेसिङमा पर्नुभयो । उहाँको स्वाब २४ जेठमा संकलन गरेकोमा रिपोर्ट आएन,’ अधिकृत न्यौपानेले भने, ‘उहाँ त क्वारेन्टाइन बसेको २५ दिन भएको थियो ।’संक्रमित पुरुषलाई अहिले आइसोलेसन लगिएको छ । ४२ वर्षे संक्रमितको सम्पर्कमा आएकाको खोजी सुरु भइसकेको नगरपालिकाले जनाएको छ ।

रिपोर्ट नआउँदा समस्यैसमस्या

प्रदेशका सबै जिल्लाको स्वाब पोखरामा परीक्षण हुन्छ । केही जिल्लाले स्वाब अन्य प्रयोगशालामा समेत पठाउँछन् । तर पोखराको प्रयोगशालाबाट हप्तौंसम्म रिपोर्ट नआउँदा स्थानीय पालिका भने आर्थिक भार झेल्न बाध्य भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना परीक्षणलाई द्रुत बनाउने बताउँदै आएपनि स्वाब पेन्डिङ अझै जारी छ ।

संकलन गरेर पठाएको स्वाबको रिपोर्ट समयमै नआउँदा क्वारेन्टाइन व्यवस्थापनमा समस्या भइरहेको जनप्रतिनिधिको गुनासो छ । घर फर्किएकालाई क्वारेन्टाइनमा राखिराख्दा आर्थिक खर्चसँगै उनीहरुमा मानसिक तनाव हुने सम्भावना बढिरहेकोव्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

‘क्वारेन्टाइनमा बसेकाको रिपोर्ट कुर्दाकुर्दै खर्च बढ्यो,’ नगरप्रमुख न्यौपानेले भने, ‘नयाँ आउनेलाई राख्न ठाउँ खोज्दै हिँड्नुप¥यो । एकातिर परिवार आएर कराउँछन् । अर्कोतिर रिपोर्ट नआउँदा् क्वारेन्टाइनमा बसेकाहरु मानसिक तनावमा पर्छन् नि ।’

उनका अनुसार कोरोनाविरुद्ध लड्न प्रदेश र केन्द्र सरकारले कुनै सहायता दिएको छैन । नगरप्रमुख न्यौपानेले भने, ‘स्वाब राख्ने भाँडो पनि हामी आफैले किन्यौं । प्रदेश सरकारले सुरुमा राहत बाँड्न १० लाख दिएको हो । अरु केही आएको छैन ।’

नगरपालिकाले क्वारेन्टाइन बनाएको ४ वटा विद्यालयमा अहिले १ सय ५४ जना बसिरहेका छन् । घर गएपछि कोरोना पुष्टि भएका व्यासका पुरुषसँगै सोही नगरपालिकाका अरु २ जनामा पनि बिहीबार नै संक्रमण पुष्टि भएको छ ।

व्यासबाहेक जिल्लाका अरु ३ पालिकामा १२ जनामा संक्रमित थपिएका छन् । बिहीबार संक्रमण पुष्टि हुनेमा ऋषिङ गाउँपालेका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका १ पुरुष छन् ।

सबै १५ संक्रमितकोव्यास–३ मा रहेको क्रियापुत्री भवनमा बनाइएको क्वारेन्टाइनमा उपचार भइरहेको छ । तनहुँमा अहिलेसम्म २६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये २ जना निको भएर घर फर्किएका छन् ।

बाँकी ९ संक्रमितको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा उपचार भइरहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका प्रमुख शंकरबाबु अधिकारीका अनुसार तनहुँबाट पठाइएका ५ सय २७ स्वाबको रिपोर्ट आउन बाँकी छ ।

उनले भने, ‘जेठ २४ गतेपछि पठाइएका ५ सय २७ जनाको स्वाबको रिपोर्ट आउन बाँकी छ । उहाँहरु सबै क्वारेन्टाइनमा हुनुहुन्छ । जिल्लाभरका क्वारेन्टाइनमा ८ सय ४५ जना हुनुहुन्छ ।’

तपाईको प्रतिक्रिया