कास्कीको रुपाका संक्रमित क्वारेन्टिन सफाइमा खटिएका व्यक्ति
ईश्वर देवकोटा
पोखरा
रुपा गाउँपालिकामा शुक्रबार पुष्टि भएका संक्रमित गाउँपालिकाकै क्वारेन्टिन सफाइका कर्मचारी भएको खुलेको छ ।
गाउँपालिका ७ रामकोट माविको क्वारेन्टिन व्यवस्थापनमा उनले सघाउँदै आएका थिए । क्वारेन्टिन जेठ १४ गतेदेखि देउरालीको विश्वशान्ति माविबाट रामकोटमा सारिएको थियो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले रुपा गाउँपालिकाका ४५ वर्षीय ती पुरुषमा स्वाब संकलन गरेको ११ दिनपछि कोरोना पुष्टि गरेको थियो ।
एकै समयमा ३२ जनाको स्वाब संकलन भएकोमा ती पुरुषमा मात्र कोरोना पुष्टि भएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
‘क्वारेन्टिन व्यवस्थापनमा खटिने सबै कर्मचारीहरुलाई आवासीय व्यवस्था गरिएको छ,’ उनले भने, ‘उनमा केही शंका लागेपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाएका थियौं ।’
स्वाब संकलन गरेदेखि नै उनलाई क्वारेन्टिनमै सुरक्षित रुपमा राखिएको अध्यक्ष ओझाले जानकारी दिए ।
संक्रमित व्यक्तिलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारका लागि एम्बुलेन्समार्फत ल्याउन लागिएको बताए ।
उक्त क्वारेन्टिनमा विभिन्न समयमा भारतबाट आएका ४९ जना व्यक्ति बसिरहेका छन् । क्वारेन्टिनको व्यवस्थापनमा खटिएका कर्मचारी र स्वास्थ्कर्मी सबै परिवर्तन गर्ने तयारी गरेकोसमेत अध्यक्ष ओझाले जानकारी दिए ।
यसअघि रुपाका २ जनामा कोरोना देखिएको थियो । उनीहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै आइसोलेसनमा उपचाररत छन् ।
कास्कीमा शुक्रबार बिहानमात्र ६ जनामा काेराेना पुष्टि भएकाे छ । गण्डकीमा काेराेना संक्रमितकाे संख्या ३ सय ८० पुगेकाे छ भने १ जनाकाे मृत्यु भएकाे छ ।
हालसम्म ३४ जना उपचारपछि घर फर्केकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
तपाईको प्रतिक्रिया