संक्रमितसँगको सम्पर्कमा थिए पोखरामा आज पुष्टि भएका २ जना

ईश्वर देवकोटा
पोखरा
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार पुष्टि गरेका पोखरा महानगरका ५ संक्रमितमध्ये २ जना पहिल्यै कोरोना पुष्टि भएका व्यक्तिसँगको सम्पर्कमा रहेको पाइएको छ ।
उनीहरु दुबै वालिङका हुन् । ३० र ५६ वर्षे २ महिला महानगरको क्वारेन्टिनमा बस्दै आएका थिए । कन्ट्रयाक्ट ट्रेसिङमा परेपछि उनीहरुलाई क्वारेन्टिनमा राखिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।
संक्रमितसँगको सम्पर्कमा रहेका कारण पोखरा १० मा डेरा गरी बस्ने उनीहरुलाई महानगरले क्वारेन्टिनमा लगेको थियो ।
‘कन्ट्रयाक्ट ट्रेसिङमा परेपछि क्वारेन्टिनमा लगेर राख्यौं,’ उनले भने, ‘जेठ २६ गते स्वाब संकलन भयो । शुक्रबार बिहान मात्र जानकारी पायौं उनीहरुमा संक्रमण रहेछ ।’
शुक्रबार पुष्टि भएका ५ मध्ये ३ जना भने भारतबाट आएका थिए ।
संक्रमित सबैलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारका लागि पठाउने तयारी भइरहेको स्वास्थ्य महाशाखा प्रमुख शर्माले जानकारी दिए ।
कास्कीमा शुक्रबार बिहानमात्र ६ जनामा कोरोना पुष्टि भएको थियो । त्यसमध्ये कास्कीकाे रुपा गाउँपालिका रामकाेट मावि क्वारेन्टिनका सफाइ कर्मचारी १ जनामा काेराेना पुष्टि भएकाे हाे ।
याेसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ भने १ जनाको मृत्यु भएको छ ।
हालसम्म ३४ जना उपचारपछि घर फर्केको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
याे पनि
तपाईको प्रतिक्रिया