युवालाई बजेटले सम्बोधन गर्नुपर्छ
दिलमाया रोका
विश्वव्यापी महामारीका बीच प्रस्तुत बजेट वक्तव्यमाथि छलफलमा जुटिरहँदा सबै माननीयहरु जनताप्रति उत्तरदायी हुनुहुन्छ भन्ने मैले महसुस गरेकी छु । पुराना योजनाले निरन्तरता पाएका छन् । परिस्थिति अनुसार नयाँ योजना पनि आएका छन् । बजेट आफैंमा सन्तुलित छ । सुन्दर छ । समग्रमा यसको कार्यान्वयनमा जाँदा गण्डकी प्रदेशको बहुआयामिक गरिबी बदल्नुपर्छ । यसको प्रभावकारी कार्यान्वयनले परिवर्तन सम्भव हुन्छ भन्ने विश्वास गरेकी छु ।
सुशासन महत्वपूर्ण छ । जहाँ सुशासान हुन्छ, त्यहाँ भ्रष्टाचार हुँदैन । समृद्धि हाँसिल गर्न सुशासन चाहिन्छ । सत्तापक्षका माननीय बजेटको प्रशंसक जस्तो र प्रतिपक्षमा बस्ने माननीयले कमीकमजोरी खोज्ने जस्तो देखेकी छु । तर कोरोनासँग जुध्न सरकारले लिएका योजना महत्वपूर्ण छन् । सीमित स्रोत साधनबाट प्राथमिकता निर्धारण गरेको छ । यसो हुँदा हाम्रो दृष्टिकोण बदलिएन कि जस्तो लाग्छ । प्रतिपक्ष र सत्तापक्ष वास्तवमा स्थायी हुँदैन । हामीले विगतलाई भुल्नु हुँदैन । प्रतिपक्षमा बस्नेले हिजो सत्तामा बस्दा के के दिएका थिए भन्ने पनि समीक्षा गर्नुपर्छ ।
स्वास्थ्य क्षेत्रलाई सुदृढकीरण गर्छु भन्नु अन्याय हो र ? पछाडि पारिएका वर्गको लागि बजेट विनियोजना गर्नु न्यायोचित होइन ? हिजोका राम्रा योजनालाई निरन्तरता दिनु कमजोरी हो र? अब सामान्य अवस्था आएको बजेट आफैंमा सुन्दर छ, भोलि यसको प्रभावकारी कार्यान्वयनले झन् सुन्दरता थप्नेछ ।
योजना कार्यान्वयनका लागि प्रणालीगत सुधार आवश्यक छ । नत्र विकास र समृद्धि ओझेलमा पर्नै खतरा देखेकी छु । गरिबी नहटाइ समृद्धि हाँसिल गर्न सकिन्न । उत्पादकत्वमा वृद्धि गरी बजार व्यवस्थापनको ग्यारेन्टी गर्नुपर्छ । युवापुस्ता कर्तव्यविमुख पनि बन्दै गएको देखिन्छ, राष्ट्र निर्माणको अभिभाराका लागि युवा चुकेका छन्, त्यसलाई बजेटले सम्बोधन गर्नुपर्छ ।
गण्डकी प्रदेशसभामा आगामी आवकाे बजेटमाथिकाे छलफलका क्रममा नेकपा सांसद राेकामगरले राखेकाे विचार।
तपाईको प्रतिक्रिया