छुसाङबासी भन्छन् : पुल लामो बन्दा खेतीयोग्य जमिन जोखिममा पर्यो

एसके थकाली
जोमसोम, ५ असार
राष्ट्रिय गौरवको आयोजना बेनी—जोमसोम—कोरला सडक अन्तर्गत पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र ३ छुसाङको नरसिंह खोलामा निर्माणधीन पक्की पुलको योजना विवादमा तानिएको छ ।
छुसाङको छिपेक टोलका करिब २५ घरधुरीले ९० मिटर लामो पुल बनेपछि बस्ती र खेतीयोग्य जमिन जोखिममा पर्ने भन्दै पुलको लम्बाई घटाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङमा लिखित माग गरेका छन् ।
मुखियाद्वय विनोद गुरुङ र प्रताप गुरुङसहित ३१ स्थानीयको हस्ताक्षरसहित कालिगण्डकी करिडोरको उपल्लो मुस्ताङ जोड्ने निर्माणधीन पुलको लम्बाई घटाउन माग गरिएको हो । करिडोरको छुसाङ पुलको लम्बाई ९० मिटर लामो छ ।
चालु आवमा घरपझोङ—२ मार्फाको मस्र्याङ ढुंगा पक्की पुल र बारागुङ ३ को नरसिंह खोला पुलको सडक विभाग पुल महाशाखाले एकैसाथ टेन्डर आह्वान गरेको थियो ।
हिमढुङ एण्ड ठोकर ईमोटल कन्ट्रक्सनले दुबै पुलको २४ करोड लागतमा बनाउने जिम्मा लिएको थियो । कन्ट्रक्सनले जिम्मा लिएको मार्फाको मस्र्याङ खोला पुलको लम्बाई १ सय २० मिटरको छ ।
दुबै पुलको फाउन्डेसन निर्माण र पुलको स्ट्रक्चर निर्माण भइरहेको भएपनि कोरोनाका कारण रोकिएको छ । सरकारले लकडाउन केही खुकुलो बनाएको र विकास निर्माणका काम संचालन गर्ने जनाएपनि स्थानीयको अवरोधपछि छुसाङको नरसिंह खोला पुलको काम अघि बढ्न नसकेको करिडोर सडकका इन्जिनियर अश्विनीकुमार यादवले जानकारी दिए ।
छुसाङका स्थानीयले लेखेको पत्रमा पुलको लम्बाई आवश्यकता भन्दा लामो र यसले छुसाङ गाउँ र खेतीयोग्य जमिनलाई दीर्घकालिन असर पु¥याउन सक्ने जनाएका छन् ।
उनीहरुले पुलको सर्भे गर्दा स्थानीयलाई सूचना नदिएको र कुनै सल्लाहसमेत नलिइकन पुलको सर्भे र इस्टिमेट गरेकाले पुलको लम्बाई लामो भएको उल्लेख गरेका छन् ।
लामो पुल बनेमा नदीको उत्तरतर्फको पिल्लर बगर छोडेर खेतीयोग्य जमिन भित्र पर्ने र यसले गाउँको सयौं रोपनी जग्गा र घडेरी भू—क्षय भई च्यापिने अवस्था रहेको उल्लेख गरेका छन् ।
स्थानीयको पत्रमा पुल यथास्थितीमा बने समुदायको हित अनुकूल नहुने र भावी दिनमा समस्या उत्पन्न हुने जनाएका हुन् । उनीहरुको पत्रमा प्राविधिक सल्लाह सुझाव लिदा पुलको लम्बाई ४० देखि ५० मिटर लामो भए पुग्नेमा अनावश्यक दोब्बर लम्बाई बढाइएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
छुसाङका गाउँ मुखिया विनोद गुरुङले स्थानीयको माग अनुसार पुल निर्माण भएमा वस्ती र खेतीयोग्य जग्गाको संरक्षण हुने बताए । यता जिल्ला प्रशासन कार्यालय मुस्ताङले पुलको लम्बाई घटाउने सम्बन्धी मागपत्र सडक विभाग पुल महाशाखामा पठाएको थियो ।
सडक विभाग पुल महाशाखाले मुस्ताङ प्रशासनलाई पत्र पठाएको छ । महाशाखाले पुलको सर्भे डिजाइन र इस्टिमेट साविक बमोजिम उपयुक्त भएको र यसको पुनः सर्भे गर्न नपर्ने जनाएको छ । महाशाखाले पुलको डिजाइन करिबसय बर्षलार्ई लक्षित गरी निर्माण हुन लागेको र यसको संरचना परिवर्तन गर्न आवश्यक नभएको जनाएको छ ।
तस्बिर : नीरज थकाली
तपाईको प्रतिक्रिया