बुवाआमा दुवैमा नेगेटिभ, तर १९ महिने शिशु कसरी संक्रमित ?

समाधान संवाददाता २०७७ असार ६ गते १२:५६

अनुप पौडेल
पोखरा, ६ जेठ

Advertisement

कास्कीको मादी गाउँपालिकाका ट्राभल हिस्ट्री नभएका १९ महिने शिशुमा कोरोना पोजेटिभ देखिएको छ । आमा र बुवा दुवैमा कोरोना नेगेटिभ भएपनि शिशुमा शनिबार कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

संक्रमित शिशुका बुवा १६ दिन पहिले भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । तर, कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार घर फर्किसकेका छन् ।

‘क्वारेन्टाइनमा भेट्न जाँदा सम्पर्कमा आउनुभयो कि भनेर शिशु र आमाको स्वाब लिएका थियौं । त्यसमा आमाको नेगेटिभ आयो । बच्चामा कोरोना देखियो । यसबारेमा हामी पनि खोजी गरिरहेका छौं,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले भने ।

उनका अनुसार संक्रमित शिशुकी आमा पनि लकडाउनपछि पालिकाबाट बाहिर गएकी छैनन् । ती शिशुको सम्पर्कमा आएकाको कन्ट्याक ट्रेसिङ गर्ने तयारी भइरहेको उनले बताए । शिशुबाहेक गाउँपालिकाकै अर्का पुरुषमा पनि शनिबार नै कोरोना पुष्टि भएको छ ।

Advertisement

ती ४१ वर्षे संक्रमित पुरुष भारतको मुम्बईबाट १९ दिन पहिले आएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । स्वाब पठाएको १२ दिनपछि दुवैमा कोरोना पोजेटिभ देखिएको हो ।

ती संक्रमितसँगै आएका अर्का पुरुषमा भने कोरोना नेगेटिभ आएको अधिकृत सापकोटाले बताए । उनले भने, ‘मुम्बईबाट २ जनासँगै आउनुभएको हो । यहाँ पनि सँगै बस्नुभयो । तर अर्का पुरुषको पिसिआर नेगेटिभ आएको छ ।’

मादी–९ का दुवै संक्रमितलाई पोखरास्थित आइसोलेसनमा ल्याउने तयारी भइरहेको अधिकृत सापकोटाले जानकारी दिए । मादी गाउँपालिकाले १२ वटै वडामा क्वारेन्टाइन बनाएको छ । ती क्वारेन्टइनमा अहिले १९ जना बसिरहेको अधिकृत सापकोटाले जानकारी दिए ।

कास्कीका २ संक्रमितबाहेक गण्डकी प्रदेशमा शनिबार बिहान तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखामा ५, म्याग्दी र स्याङ्जामा १/१ जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमितमध्ये बागलुङका १ संक्रमित महिला हुन् भने बाँकी ५६ संक्रमित पुरुष हुन् ।

गण्डकी प्रदेशमा अहिलेसम्म ४ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । गण्डकीका मुस्ताङवाहेक १० जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

संक्रमितमध्ये ३९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ । वालिङका ५८ वर्षे पुरुषको २५ जेठमा उपचारको क्रममा पोखरामै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया