दुर्गम बस्ती स्याङ्तामा स्थानीय सरकारकाे राहत

समाधान संवाददाता २०७७ असार ६ गते १५:३९

एसके थकाली
जोमसोम

हिमाली जिल्ला मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँँ साङ्तामा पहिलो पटक स्थानीय सरकारले उपस्थिति जनाएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड—१९) रोकथाम तथा प्रतिकार्यात्मक सामग्री, राहत र विभिन्न सामाजिक सुरक्षा भत्ताको प्याकेजसहित बारागुङ मुक्तिक्षेत्र गाउँपालिका उक्त गाउँँमा पुगेको पालिकाका सूचना अधिकारी सूर्य तिमिल्सिनाले जानकारी दिए ।

मुस्ताङ सदरमुकाम जोमसोमदेखि पश्चिम करिब ४० किलोमिटर दुरीमा रहेको साङ्ता गाउँँ मुस्ताङकै ९६ गाउँँमध्ये आर्थिक र सामाजिक रुपले पिछडिएको गाउँ हो । सामान्य कृषि तथा पशुपालन व्यवसायमा आश्रित साङ्तेली जनता शिक्षा, स्वास्थ्य र सञ्चार, लगायतको पहुचमा पछि परेको छ । सीमावर्तीक्षेत्रको ठूला/ठूला पहाडको फेदमा रहेको साङ्ता बस्तीको दैनिकी हिउँदयाममा भने कष्ठकर हुने गर्छ ।

Advertisement

हिउँदमा ३ महिना खाद्यान्न बोकेर डोल्पासँग जोडिएको पहाडको पारी पुग्छन् स्थानीय । आर्थिक तथा भौगोलिक रुपमा पछाडि परेको साङ्ता गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकयापको निषेधित तथा नियन्त्रित क्षेत्रमा परेको छ । डोल्पा हुँदै आउने पर्यटक नियन्त्रित क्षेत्र घोषण भएपछि यसमा कमी भएको स्थानीय बताउँछन् ।

सीमित खेतीयोग्य जमिनमा लगाइएको अन्नबालीले ६ महिना टर्दैन । उनीहरुको जीवन धान्ने आधार पशुपालन र यार्सा खोजेर बिक्री गर्नु ।

Advertisement

जोमसोमदेखि कच्ची सडक जोडिए पनि जीर्ण सडक र सवारी साधन आउजाउ नहुने भएकाले साङ्तेली मुकामसम्म आउन दिनै कटाउनु पर्ने बाध्यता छ । यहाँ ३ वटै तहका सरकारको उपस्थिति नगन्य छ ।

१३ घुरधुरी बसोबास रहेको साङ्तेली समुदायमा शिक्षाको कमीले सरकारसँग विकासको माग गर्ने नेतृत्व समेतको अभाव छ । गाउँमा कक्षा ३ सम्म सरकारी विद्यालय भएपनि पठन पठनको व्यवस्थापन गर्न उक्तिकै चुनौती छ । केन्द्रीय विद्युत प्रशारण लाइन नपुग्दा सौर्य ऊर्जाकै भरपर्नु पर्ने अवस्था छ ।

सामान्य जीवनशैली बिताउँदै आएका साङ्तेली समूदाय हाल देखिएको कोरोना माहामारी सम्वन्धमा एकदमै अनभिज्ञ छन् । उनीहरुलाई कोरोना र लकडाउनबारे कुनै पत्तो छैन ।

कोरोना कहरले सिर्जित लकडाउनको ३ महिनासम्म गाउँमा कोही जिल्ला बाहिर र भित्र आउजाउ गरेको पाइएको छैन । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङसहित पालिकाका १ दर्जन जनप्रतिनिधि र कर्मचारी शुक्रबार साङ्ता बस्ती पुगे । गाउँकै घरदैलोमा स्थानीय सरकारको उपस्थितिले साङ्तेली समूदायलाई सरकार प्रत्यक्ष उपस्थिति भएको अनुभूति दिलायो ।

पालिकाले त्यहाँ प्रदेश, स्थानीयतहले छुट्याएको विभिन्न राहत सामग्री वितरण गरेको सूचना अधिकारी सूर्य तिमिल्सिनाले बताए ।

सोही क्रममा स्थानीयलाई सामाजिक सुरक्षा भत्ता समेत उपलब्ध गराएको वडाध्यक्ष राप्के गुरुङले जानकारी दिए । उनका अनुसार स्थानीय सिसिएमसी मार्फत् स्थानीयको सामान्य स्वास्थ्य परीक्षण भएको वडाध्यक्ष गुरुङले बताए ।

राहत वितरण गर्न साङ्ता पुगेका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले आगामी आर्थिक वर्षमा साङ्ता गाउँलाई प्राथमिकतामा राखेर विशेष प्याकेज कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए । पालिकाले साङ्तेली समूदायको हितमा एक घर एक शौचालय, एक घर एक टनेल, कृषि तथा पशुपालनमा विशेष अनुदान लगायतका कार्यक्रम ल्याउने अध्यक्ष गुरुङले बताए ।

तस्बिर : सूर्य तिमिल्सना

तपाईको प्रतिक्रिया