नागरिक मैत्री कार्यक्रम र बजेट ल्याउन महानगरलाई सञ्जालकाे सुझाव

समाधान संवाददाता २०७७ असार ७ गते १७:३९

समाधान संवाददादता
पोखरा, ७ असार

पोखरा महानगरपालिका नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटिरहेका बेला शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले आइतबार सुझाव बुझाएको छ ।

नागरिक संघ संगठनको भूमिका मार्फत् नागरिक संगठनमैत्री वातावरण सिर्जना गर्दै दिगो विकास लक्ष्यका सूचांक प्राप्तिका लागि प्राथमिकता दिन सञ्जालले महानगरको ध्यानाकर्षण गराएको छ ।

Advertisement

महानगरका मेयर मानबहादुर जिसीलाई बुझाइएको सुझावपत्रमा सुशासन, शिक्षा स्वास्थ्य र रोजगारी, सार्वजनिक सम्पतिको संरक्षण, कृषि उत्पादनमा जोड, नागरिक तथा नगर सुरक्षा, नागरिकमैत्री वातावरण सिर्जना र नागरिक समाजसँगको सहकार्यमा जोड दिन आग्रह गरिएको छ ।

महानगरको योजना प्रक्रिया, योजनाको छनोट, योजनको दिगोपना, दिर्घकालीन, मध्यकालीन तथा अल्पकालीन योजना छनोट गरी रणनीतिक योजना तथा नीति जारी गर्न माग गरिएको छ । आन्तरिक तथा पुँजीगत खर्चहरुमा सुशासन कायम गर्ने गरी उपर्युक्त नीति जारी गरी साधारण खर्चमा समेत सुशासन लक्षित गर्न सुझाव दिइएको छ ।

Advertisement

यसैगरी दिगो विकास लक्ष्यले तोकेका परिसूचकहरु पूरा हुने गरी उक्त १७ वटा क्षेत्रहरुमा महानगरपालिका योजना समावेश गर्न सञ्जालको सुझाव छ ।

महानगरपालिकाको आर्थिक नीति तथा कार्यक्रममा नगरपालिक भित्रको सार्वजनिक शिक्षा त्यसमा हुने आर्थिक र भौतिक लगानी तथा प्राप्तहुने प्रतिफल समेतलाई मनन गरी शिक्षामा लगानी गर्न एवं कोरोनाको महामारीबाट बच्न स्वास्थ्य संस्थाहरुको सवलीकरण गर्न उचितनीति र कार्यक्रमले सम्बोधन माग गरिएको छ ।

महानगरपालिकाभित्र रहेका सार्वजनिक सम्पत्ति चौतारो, सडक, पोखरी, तालतलैया, पार्क उद्यान, महानगरपालिकाको स्वामित्वमा रहेका भवनहरूको हाल संरक्षण हुन सकेको छैन । फिर्के खोला दायाँ बायाँको मापदण्ड बमोजिमको सार्वजनिक सम्पत्ति हाल व्यक्तिले हडप गरी नागरिकको अधिकारमा हनन् गरेको, चौतारो, तालतलैया अधिग्रहण गरेको अवस्था देखिएकाले उक्त सम्पत्ति संरक्षणका लागि उचित कार्यक्रम ल्याउन महानगरसँग सञ्जालले आग्रह गरेको छ ।

कृषि उत्पादनमा वृद्धि गर्न कृषिजोन छुट्याउनु पर्ने, एक गाउँ एक उत्पादनको कार्यक्रमको साथै उत्पादनमा आधुनिक प्रविधि प्रयोग गर्ने, कृषकहरुलाई अनुदान वृद्धि गर्दै उत्पादनका लािग कृषि उपकरणहरु निशुल्क प्रदान गर्न समेत माग गरिएको छ । सुझावमा भनिएको छ, ‘महानगरपालिककालाई खाद्यन्नमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम ल्याइयोस् ।’

पोखरा विमानस्थल सञ्चालनमा आएपछि पोखरामा वाह्य सुरक्षामा खतरा हुने भन्दै महानगरपालिकाले नगर क्षेत्र भित्र बसोबास गर्ने तथा वाह्य क्षेत्रबाट आउने व्यक्तिहरुको टे«सिक र ट्रयाक गर्ने गरी एप्ब बनाउन समेत सुझाव दिइएको छ । नगर क्षेत्र भित्र बसोबास गर्ने बालबालिका, महिला, अपांगता भएका, ज्येष्ठ नागरिक, एकल महिला र पछाडि पारिएको वर्ग लगायत विभिन्न क्षेत्रका नागरिकहरूलाई संरक्षण गर्नुका लागि नीति तथा कार्यक्रमको साथै बजेटको व्यवस्था गर्न समेत माग गरिएको छ ।

महानगरपालिकाले नागरिक समाज, नागरिक संगठनहरूको सहकार्य र समन्वयलाई जोड दिदै नागरिक संगठनहरुको परिचालनका लागि छुटै डेक्सको व्यवस्थाका गरी अगामी नीति तथा कार्यक्रम ल्याउन सञ्जालको माग छ ।

सुझावपत्रमा सञ्जाल संयोजक विष्णुप्रसाद बराल, वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे, गैसस महासंघका महासचिव रामप्रसाद सुवेदी, सयपत्री समाज पोखराका अध्यक्ष गेहेन्द्रेश्वर कोइराला, इन्सेक प्रदेश संयोजक शिवप्रसाद खकुरेल, गैसस महासंघ प्रदेश संयोजक बिना सिलवाल, सयपत्री समाजका सदस्य गिरधारी सुवेदी, मानव अधिकार संरक्षण मञ्च, (मासम) कास्की अध्यक्ष कमलप्रसाद अर्याल टोली नेपाल कास्की अध्यक्ष छवि गौंडेल , हुरडेप उपाध्यक्ष ढाकाराम पौडेल, इन्सेक पोखराका अधिकृत सवनम शर्माको हस्ताक्षर छ ।

तपाईको प्रतिक्रिया