तेक्वान्दो संघ कास्कीद्वारा राहत वितरण
समाधान संवाददाता
पोखरा, ७ असार
कास्की जिल्ला तेक्वान्दो संघले आफ्ना मातहातका डोजाङ प्रमुखलाई राहत संगै कास्की जिल्ला तेक्वान्दो संघका पदाधिकारी तथा सल्लाहाकारहरुलाई कोभिड १९ विमा गरेको छ ।
कोभिड १९ महामारीका कारण करिव तिन महिना देखि अवरुद्ध बनेका पोखराका १४ तेक्वान्दो डोजाङ प्रमुखहरुलाई राहत स्वरुप नगद १० हजार प्रदान गरेको हो भने २० जनालाई १ लाख बराबरको कोरोना विमा समेत गरेको छ । त्यसै गरि हालै सम्पन्न अन्तर्राष्ट्रिय भर्चुअल पुम्सेमा काश्य पदक जित्ने रेखमाया गुरुङलाई प्रोत्सहान स्वरुप नगद १० हजार प्रदान गरेको छ ।
पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिशीले अवको खेलकुद निर्वाहमुखी नभई व्यवसायीमुखी खेलकुद हुनुपर्नेमा जोड दिएका छन । अब आयोजना हुने खेलकुदहरु वार्षिक क्यालेन्डरसहित अघि बढ्नुपर्नेमा उनले जोड दिँदै भने, ‘खेलुकुदको विकासको लागि एकिकृत कोष आवश्यक छ, राज्यले दिने पनि त्यसैमा आओस वा निजी क्षेत्रको पनि कोषमा नै आओस, त्यसो गरेको खण्डमा खेलकुद विकासमा नयाँ आयाम थपिने र व्यवस्थितगर्न सकिन्छ ।’ उनले कोषको निश्चित मापदण्ड तयार गरेर अघि बढ्ने बताउँदै त्यसको सुरुवात पोखरा महानगरले गर्ने उल्लेख गरे । खेलकुदले पनि पर्यटन प्रवधर्न गर्ने भएकोले पर्यटनबाट आउने केही स्रोत पनि उक्त कोषमा आउने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
अग्रजहरुले लामो समय देखि खेलकुदको राम्रो पुर्वाधार बनोस भन्ने तिव्र चाहना रहे संगै पोखरामा खेलकुदका पुर्वाधारहरु निर्माण भएको बताउँदै प्रमुख जिशीले भने, ‘निर्माण भएका पुर्वाधारको व्यवस्थापन र संरक्षणको आवश्यक्ता छ,’ उनले थपे, ‘यसको संचालनका निकै ठूलो चुनौती समेत छ, भावी पुस्ताका लागि समेत यसको संरक्षण गर्नुपर्छ भोलि माल पाएर चाल नपाए जस्तो नहोस ।’ कोरोनाका कारण धेरै क्षेत्रले समस्या भोगेको बताउँदै प्रमुख जिसीले यो बन्दाबन्दीको समयमा पोखरा महानगरले १५ अर्वको नोक्सानी व्यहोरेको प्रमुख जिसीले बताए । पोखराको पर्यटनले ६ अर्बको नोक्सानी व्यहोरेको बताउँदै एउटा नगरपालिकाले यति ठूलो नोक्सानी व्योहर्नु निकै चुनौतीपुर्ण रहेको उनले बताए ।
कास्की जिल्लामा सञ्चालित पोखरामा सञ्चालित २४ वटा डोजाङ र स्कुलहरु कोभिड १९ का कारण प्रभावित रहेको भन्दै गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले डोजाङ प्रमुख र संघका सदस्यहरुलाई कोभिड १९ विमा गराइएको बताए ।
उनले डोजाङहरुमा प्रशिक्षण प्रभावित भएका कारण निकै ठुलो समस्या भोग्नु परेकोले डोजाङ प्रमुखहरुलाई राहत स्वरुप प्रति डोजाङ १० हजार प्रदान गरिएको उल्लेख गरे ।
पोखरा रंगशालामा भित्र मार्शल आर्ट खेलका लागि बहुउद्देश्यीय कभर्डहल आवश्यक्ता रहेको कुरा उल्लेख गर्दै अध्यक्ष गुरुङले त्यसको डिजाइनिङ तयारी गर्न लागिएको बताए । उनले पोखरा महानगरलाई समेत उक्त कभर्डहल निर्माणका लागि सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि पोखरा महानगरले विशेष रुपमा सोच्न र बजेट विनियोजन गर्न आग्रह गरे ।
राहत वितरण कार्यक्रममा नेपाल तेक्वान्दो सघका केन्द्रीय सदस्य मदन केसी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, संघका सचिव कुलचन्द्र शर्मा लगाएतले कोभिड १९ ले खेलकुदमा पारेको प्रभावका बारेमा धारणा राखेका थिए ।
पोखरामा सञ्चालित १४ विभिन्न डोजाङ र स्कुलमा समेत गरी करिव १ हजार ५ सय तेक्वान्दो खेलाडीले प्रशिक्षण लिइरहेका छन ।
तपाईको प्रतिक्रिया