घरजग्गा बहाल छुट दिन पर्यटन व्यवसायीकाे माग
समाधान संवाददाता
पोखरा
कोरोना संक्रमण कम गराउन जारी भएको लकडाउनका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी मारमा परेको छ । पोखरा पर्यटन परिषदले लकडाउन अवधि भरको घर तथा जग्गा भाडा आपसी समझदारीमा समाधान गर्न आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनबाट महामारी नियन्त्रणको घोषणा नभएसम्म कम्तीमा ५० प्रतिशत सहुलियत प्रदान गरी ‘व्यवसायी र समग्र पर्यटन क्षेत्र बचाऔं’ अभियानमा सहयोग गर्न पनि परिषदले अपिल गरेको छ ।
पोखरा पर्यटन परिषदले आइतबार विज्ञप्ति निकालेर पर्यटन व्यवसाय खासगरी युन र डब्लुटिओबाट सहज आवातजावत गर्नसक्ने वातावरण भएको स्पष्ट घोषणा भइ कुनै पनि व्यक्ति ढुक्कसँग आवतजावत गर्न सहज र विश्वासिलो वतावरण नभएसम्म यसको पुनरुत्थान गर्न सकिने अवस्था नरहेको जनाएको छ ।
पर्यटन व्यवसायीहरु पलायन भएमा समग्र पर्यटन क्षेत्रमा नै लामो समयसम्म नकरात्मक प्रभाव पर्ने हुनाले पर्यटन क्षेत्रमा आफ्नो स्थीर सम्पत्ति भाडामा लगाउने घर धनि महानुभावहरु र पर्यटन व्यवसायीहरुले एक आपसको मर्का बुझी व्यवसायको निरन्तरता हुने अवस्था सिजना गर्न दुवै पक्ष संयमता एव जिम्मेबारी बोधका साथ अगाडि बढ्नुपर्ने परिषदले जनाएको छ ।
लकडाउन आंशिक रुपमा केही खुकुलो भए पनि पर्यटन क्षेत्र भने बन्द नै छ । यस अवस्थामा केही छिटफुट बाहेक सम्पूर्ण आर्थिक गतिविधिहरु ठप्प रहेको भन्दै परिषदले पर्यटन व्यवसाय भने यस वन्दाबन्दी भन्दा अगाडि माघ २०७६ बाट नै सुस्तता आउँदै हाल ठप्प रहेको महासचिव डिल्लीप्रसाद गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया