लकडाउनपछि गण्डकीका साढे ८ हजार परदेशी फर्किए

समाधान संवाददाता २०७७ असार ८ गते १०:०१

समाधान संवाददाता

गण्डकी प्रदेशमा लकडाउनपछि साढे ८ हजार प्रदेशवासी परदेशबाट गण्डकी भित्रिएका छन् ।

आगामी वर्षको बजेटमाथिको छलफलमा सांसदले कोरोना नियन्त्रणसम्बन्धि उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री किरण गुरुङले ११ चैतपछि भारतबाट ८ हजार ३ सय ८३ र तेस्रो मुलुकबाट २ सय २७ जना फर्किएको जानकारी दिएका हुन् ।

Advertisement

मन्त्री गुरुङले प्रदेश सभामा प्रस्तुत गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै बागलुङका २ हजार २७ जना स्वादेश फर्किएका छन् । तनहुँका १७ सय २२, नवलपुरका १६ सय ३४, स्याङ्जाका १४ सय ६३, पर्वतका ६ सय २, गोरखाका ३ सय ३१, कास्कीका २ सय ७८ , लमजुङका १ सय ६३ र म्याग्दीका १ सय ५९ जना प्रदेशवासी लकडाउनयता प्रदेश फर्किएका छन् ।

उनीहरु सबैलाई क्वारेन्टाइनमा राखेर घर पठाइएको अर्थमन्त्री गुरुङले बताए । प्रदेशका ९ जिल्लाबाहेक मनाङ र मुस्ताङका १/१ जना प्रदेश फर्किएको अर्थमन्त्री गुरुङले जानकारी दिए । उनका अनुसार भारतबाहेक तेस्रो मुलुकबाट २ सय २७ जना प्रदेशवासी फर्किएका छन् ।

Advertisement

गण्डकी प्रदेशका ८५ स्थानीय तहबाट हालसम्म १ लाख ७९ हजार ५ सय ५५ परिवारलाई राहत बाँडेको तथ्यांक अर्थमन्त्री गुरुङले संसदमा प्रस्तुत गरे । ती परिवारलाई १९ लाख ३८ हजार ४ सय २१ किलो चामल, १ लाख ५० हजार १५ किलो दाल सहित नुनतेल लगायतका अत्यावश्यक खाद्यान्न राहत स्वरुप बँडिएको उनले बताए ।

कोरोना रोकथाम एवं नियन्त्रणका लागि स्थापना गरिएको कोषमा ३३ करोड ३ लाख १२ हजार रुपैयाँ जम्मा भएको छ । त्यसमा ३० करोड प्रदेश सरकारको हो भने बाँकी सबै रकम विभिन्न व्यक्ति र संघसंस्थाले जम्मा गरेका हुन् । आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापनका लागि केन्द्र सरकारसँग २१ करोड ६० लाख रुपैयाँ माग गरिएको अर्थमन्त्री गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया