भाग्दै युवा, पछ्याउँदै कोरोना

समाधान संवाददाता २०७७ असार ८ गते १२:१२

सुनील सापकोटा
पोखरा, ८ असार

Advertisement

कास्कीको मादी ४ तारकाङका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएका १९ वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीसँगै आएका अर्का १ जनाको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

ओमनबाट आएका १ जना युवाले क्वारेन्टाइन नियम पालना नगरेपछि गाउँमा त्रास फैलिएको छ । क्वारेन्टाइन नियम पालना नगरी वडाध्यक्षलाई नै उनले धम्की दिएपछि प्रहरी नै गुहार्नुपर्‍यो

Advertisement

करिब १ महिनाअघि उनीहरु गाउँ फर्किए । तरकारी बोक्ने गाडीमा सुटुक्क प्रवेश गरेपछि गाउँभरि हल्ला भयो, ‘भारतमा बस्ने गरेका २ जना आएका छन् ।’ बिना जानकारी आएका उनीहरु विद्यालय क्वारेन्टाइनमा बसेनन् । उनीहरुको इच्छा अनुसार होम क्वारेन्टाइनमा राख्ने सहमति भयो ।

भारतबाट आएका २ युवासहित परिवारका अन्य ३ सदस्यको पिसिआर जाँचका लागि २७ जेठमा स्वाब संकलन गरिएको थियो । ७ असारमा मात्रै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले रिपोर्ट सार्वजनिक गर्‍यो, १ जनामा संक्रमण पुष्टि भयो ।

Advertisement

उनीहरु प्रशासनलाई समेत झुक्याउँदै गाउँ पुगेको खुलेको छ । मादी ४ का अध्यक्ष सत्यराज सापकोटाले भने, ‘गाउँपालिकाले गाडी पठाएको भन्दै प्रहरीलाई नै झुक्याएर तरकारी बोक्ने गाडीमा आएका रहेछन् ।’ गाउँ जाँदा भेटघाट भएका व्यक्ति र प्रयोग भएको सवारी र चालकबारे कुनै जानकारी नभएको वडाध्यक्ष सापकोटाले बताए ।

यस्तै ओमनबाट आएका १ जना युवाले क्वारेन्टाइन नियम पालना नगरेपछि गाउँमा त्रास फैलिएको छ । क्वारेन्टाइन नियम पालना नगरी वडाध्यक्षलाई नै उनले धम्की दिएपछि प्रहरी नै गुहार्नुपर्‍यो ।

पोखराको लेकसिटी अस्पतालमा सामान्य स्वास्थ्य जाँचपछि सवारी आफैं खोजेर घर जान सुझाएको प्रहरीले १४ दिन क्वारेन्टाइन नियम पालन गर्न उनलाई भनेको थियोे । गाडी लिएर गाउँ पुगेका उनले घर नपुग्दै अन्य व्यक्तिको सम्पर्कमा गएको समेत खुलेको छ । त्यतिमात्र नभई उनले बेलुका भोज चलाएको र चक्लेट बाँडेको समेत पछि जानकारी भएको वडाध्यक्ष सापकोटाले सुुनाए ।

वडाध्यक्ष सापकोटाले भने, ‘ती युवामा संक्रमण नभए त राम्रै भो, संक्रमण रहेछ भने गाउँ नै सिल गरी पिसिआर जाँच गर्नुपर्ने हुन्छ,’ ‘गाउँका ३ परिवारका करिब २५ जनासँग त उसले खानपान र बसाइँ सँगै गरेको रहेछ,’ वडाध्यक्ष सापकोटाले भने ।

उनले गाउँपालिका कार्यालय तथा स्वास्थ्य शाखासँग सुरक्षा र व्यवस्थापनबारे छलफल पनि भइरहेको जानकारी दिए ।

कास्की प्रशासन तथा प्रहरीले गाउँपालिका र जनप्रतिनिधिसँग समन्वय नगर्दा समस्या देखिएको मादी गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाको भनाइ छ ।

भारतीय सेनाबाट अवकाश प्राप्त १ व्यक्ति होम क्वारेन्टाइनमा गाउँपालिकाले राखेको र अन्य केही व्यक्ति पनि आउँदै गरेको सूचना पाएको वडाध्यक्ष सापकोटाले बताए ।

विदेशबाट आएका व्यक्तिका लापरबाहीले गाउँभरि नै कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीय त्रसित छन् । केही समय अघि गरिएको घरदैलोको तथ्यांक अनुसार मादी ४ का २ सय १४ जना वैदेशिक रोजगारीमा रहेका थिए ।

ती सबैको परिवारलाई विदेशबाट आउनुभन्दा अगाडि नै वडा कार्यालयमा सूचना दिन आग्रह गर्दै गाउँपालिकाले नै सबै व्यवस्थापन गर्ने भन्दै सचेत गराएको थियो ।

मादी ९ को चिलिमे डाँडा सिल

मादी ९ मुग्रीबेंसीको चिलिमे डाँडा गाउँ सिल गरिएको छ ।

१९ महिनाको बच्चामा कोरोना संक्रमण भेटिएको उक्त गाउँ सिल गरी बच्चाको सम्पर्कमा आएका व्यक्तिको पिसिआर जाँच गर्ने तयारी भइरहेको मादी ९ का अध्यक्ष तोरण गुरुङले जानकारी दिए ।

सोही वडाका अर्का संक्रमितको सम्पर्कमा रहेकासमेत गरी करिब ४० जनाको स्वाब संकलन गरिने वडाध्यक्ष गुरुङले बताए ।

तपाईको प्रतिक्रिया