विद्युत शुल्क मिनाह गर्न होटल व्यवसायीको आग्रह

समाधान संवाददाता
पोखरा
पश्चिमाञ्चल होटल संघ पोखराले विद्युतको डिमान्ड शुल्क मिनाह गरिदिन सरकारसँग आग्रह गरेको छ । कोभिड १९ को माहमारीसँगै झण्डै ४ महिनादेखि जारी लकडाउनका कारण बन्द होटल क्षेत्र धरासायी हुने अवस्थामा पुगेको भन्दै संघले त्यस्तो आग्रह गरेको हो ।
संघका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा सोमबार नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय गण्डकी प्रादेशिक कार्यालय पोखरा पुगेको टोलीले लकडाउनका कारण व्यवसाय ठप्प भएका कारण डिमान्ड शुल्क मिनाह भए केही राहत हुने बताए । संघका अध्यक्ष तुलाचनले निर्देशनालयका प्रमुख टेकनाथ तिवारीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरे ।
अध्यक्ष तुलाचनले आगामी आर्थिक वर्षको बजेट आउनु अघि नै उल्लेखित आग्रह सहित केही मागहरु होटल क्षेत्रका तर्फबाट सरकारलाई बुझाइएको भए पनि संवोधन हुन नसकेको भन्दै विद्युतको डिमान्ड शुल्क हटाउन प्राधिकरणको सम्बन्धित विभागको ध्यानाकर्षण गराए ।
होटल क्षेत्रलाई उद्योगको मान्यता दिइएको बताइने गरे पनि सेवा सुविधा र सहुलियतमा भने सरकारका तर्फबाट सो अनुसारको व्यवहार नगरिएको गुनासो पनि तुलाचनले गरे ।
यसैगरी खपत भएको विद्युतको महसुल तिर्न व्यवसायी तयार रहेको तर त्यस्तो शुल्क अवस्था सामान्य भएपछि तिरे हुने व्यवस्थाका लागि समेत व्यवसायीले प्राधिकरण समक्ष आग्रह गरेका थिए । गण्डकी अञ्चल प्रादेशिक प्रमुख तिवारीले व्यवसायीका आग्रह र मागहरु आफूले सम्बन्धित निकायमा सम्प्रेषण गर्ने प्रतिवद्धता जनाए ।
होटल र सिंगो पर्यटन क्षेत्र अहिले कठिन अवस्थाबाट गुज्रिएकोप्रति आफू जानकार रहेको भन्दै उनले व्यवसायीले सहुलियतको कुरा उठाउनु जायज भएको भनाई राखे ।
उक्त अवसरमा व्यवसायीले होटल क्षेत्र बैंकको ऋण, ब्याज र अन्य किस्ताहरु तिर्नुपर्दा घाटाको अवस्थामा रहेको, सरकारले केही सहुलियतको कुनै पनि सहुलियतको कार्यक्रम ल्याउन नसकेको र सरकारका तर्फबाट शुल्क र करका सन्दर्भमा अन्य सामान्य अवस्थामा जस्तो व्यवहार गर्न खोजिएको भन्दै गुनासो गरेका थिए ।
प्राधिकरणले उत्पादित विद्युतलाई खेर जान नदिन महशुल दर घटाउनुपर्ने, खाना पकाउने ग्याँस आयात गर्दा बाहिर जाने पैसा जोगाउन पनि विद्युत खपत बढाउनेतर्फ प्राधिकरणको शोच हुनुपर्ने र सोही अनुसारका योजना र शोच प्राधिकरणले लिनुपर्ने भनाई पनि व्यवसायीका तर्फबाट राखिएको थियो । सरकारले नै लकडाउन गराएर सो अवधिको समेत डिमान्ड शुल्क र महसुल तिर भन्दा व्यवसायी निकै मर्कामा परेको दुखेसो पनि व्यवसायीले गरेका थिए ।
संघ सल्लाहकार परिषद्का संयोजक हरि शर्मा गैह्रे, संघका निवर्तमान अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुली, अर्का सल्लाहकार बच्चुराम तिवारी, प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदी, महासचिव गणेशराज पहारी र सहकोषाध्यक्ष नरेशवहादुर भट्टराईले पनि सो अवसरमा होटल क्षेत्र अहिले प्रताडित अवस्थामा रहेको भन्दै प्राधिकरणले व्यवसायीको समस्या र बाध्यता बुझिदिन आग्रह गरे ।
तपाईको प्रतिक्रिया