आइसोलेसनमा ठाउँ नहुँदा क्वारेन्टाइनमै बास !

आइसोलेसन बनाउन भीमादमा सिटिइभिटीको भवन हेर्यौ । आवश्यकता अनुसार आइसोलेसन बनाइन्छ : बद्रीनाथ अधिकारी, सिडिओ, तनहुँ
सिटिइभिटीको भवनमा आइसोलेसन हाम्रो नगरपालिकाले बनाउने हो । अरु पालिकाकोलाई राख्दैनौं : मेखबहादुर थापा, मेयर, भीमाद नगरपालिका
अनुप पौडेल
पोखरा, ८ असार
तनहुँको रिसिङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ जनामा पछिल्लो ४ दिनमा कोरोना पुष्टि भयो । तीमध्ये ३ जनालाई बेलचौतारको जिपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा लगियो । बाँकी २१ संक्रमितलाई राख्न आइसोलेसनमा बेड नै खाली भएन ।
तनहुँमा आइसोलेसन वार्ड भएका मात्रै २ ठाउँ छन्, एउटा जिपी कोइराला श्वासप्रश्वासकेन्द्र र दमौलीको एउटा किरियापुत्री भवन । आइसोलेसन भरिएपछि सबै संक्रमितलाई क्वारेन्टाइनमा छुट्टै राख्नुबाहेक अरु विकल्प भएन ।
‘सामाजिक विकास मन्त्रालयबाट आफै व्यवस्था गर्नुस् भन्ने आयो । त्यसपछि जुन क्वारेन्टाइनमा बसिरहँदाकोरोना पुष्टि भयो, त्यही क्वारेन्टाइनमा संक्रमितलाई छुट्टै राख्यौं,’ रिसिङ गाउँपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक लोकबहादुर थापाले भने ।
तनहुँमा अहिलेसम्म ८९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ७ जना निको भएर घर फर्किसकेका छन् । संक्रमितको संख्या ह्वात्तै वृद्धि हुँदा जिल्लाका संक्रमित क्वारेन्टाइनमै बस्नुपर्ने बाध्यता आइलागेको छ ।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले भने, ‘एकैचोटि बढ्छ भन्ने सोचाइ भएन । बाजा बजाएर आउने पनि होइन । अझै ४ सय जनाको रिपोर्ट आउनै बाँकी छ ।’ जिल्लामा संक्रमितको संख्या वृद्धिलाई हेर्दा २ सय बेडको आइसोलेसन बनाउनुपर्ने देखिएको उनले बताए ।
जिल्लाका अरु ठाउँमा आइसोलेसनका लागि ठाउँ हेरिएको र आवश्यकता अुनसार आइसोलेसन थप गरिने सिडिओ बद्रीनाथ अधिकारीले जानकारी दिए । उनले भने, ‘आइसोलेसन बनाउन भीमादमा सिटिइभिटीको भवन हे¥र्यौं । निर्णय गर्ने अधिकार भीमाद नगरपालिकालाई छोडेका छौं । आवश्यकता अनुसार आइसोलेसन बनाइन्छ ।’
‘अरु ठाउँकालाई राख्दैनौं’
प्रजिअ अधिकारीले संक्रमितराख्न सिटिइभिटीको भवनलाई आइसोलेसन बनाउने बताइरहँदा भीमाद नगरपालिाले भने उक्त भवनमा अरु पालिकाका संक्रमितलाई नराख्ने जनाएको छ । नगरप्रमुख मेखबहादुर थापाले आफूले प्रजिअ र स्वास्थ्य निर्देशकलाई अरु पालिकाका संक्रमितलाई राख्न नसक्नेबारे जानकारी गराइसकेको बताए ।
उनले भने, ‘त्यहाँ संक्रमित राख्ने गरी तयारी हुँदैछ । भीमाद नगरपालिकाले अरु पालिकाकालाई राख्नुपर्छ भन्ने कतै छैन । हामीले पोखराको टोली र सिडिओ साबलाई भनेका छौं ।’
कोरोना संक्रमितको व्यवस्थापनमा प्रदेश र केन्द्र सरकारको कुनै भूमिका नरहेको नगरप्रमुख थापाले बताए । तनहुँका संक्रमित रिसिङ गाउँपालिकाका ३२, घिरिङ गाउँपालिकाका २४, बन्दीपुर गाउँपालिकाका १०, व्यास नगरपालिकाका ८, शुक्लागण्डकी नगरपालिकाका ५, भानु नगरपालिकाका ४, आँबुखैरनी गाउँपालिकाका ३ र भीमाद नगरपालिकाका ३ जना छन् ।
शुक्लागण्डकी नगरपालिकाको जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा ३० बेड र दमौलीको किरियापुत्री भवनमा १६ बेडको आइसोलेसन बनाइएको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
जिल्लामा अरु ठाउँमा पनि आइसोलेसन बनाउने तयारी भइरहेको प्रमुख अधिकारीले बताए । जिपी कोइरालामा सुरुमा १० बेडको आइसोलेन बनाइएकोमा जिल्लामा संक्रमित बढेपछि थप गरेर ३० बेड पु¥याइएको हो ।

तनहुँमात्रै होइन प्रदेशका अरु जिल्लामा पनि संक्रमितको संख्या ह्वात्तै बढ्दा सुरुमा आइसोलेसनको समस्या देखिएको थियो । संक्रमितको संख्या ह्वात्तै बढ्दा छिमेकी जिल्लाको आइसोलेसनमा बाध्यता खेप्नुपर्ने जिल्लामध्ये एक हो, नवलपुर । नवलपुरले सुरुमा चितवनको भरतपुर अस्पतालमा संक्रमितको उपचार गथ्र्यो ।
चितवनमा पनि संक्रमित बढ्दै जाँदा नवलपुरले अहिले रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई अस्थाइ कोरोना अस्पताल बनाएको छ ।
‘सुरुमा ह्वात्तै संक्रमित बढ्दा राख्नलाई समस्या भयो । जिल्ला अस्पतालमा ५ बेडभन्दा थिएन, संक्रमितलाई भरतपुर पठायौं,’ नवलपुरका निमित्त प्रजिअ आनन्द शर्मा भुसालले भने, ‘अहिले समस्या छैन । रजहरको सामुदायिक चिकित्सालयमा राखेका छौं ।’
संक्रमित थपिएसँगै चिकित्सालयको भवनमा बेड विस्तार गरिँदै आएको उनले बताए । मंगलबारसम्म उक्त भवनलाई १ सय ८५संक्रमित अट्ने क्षमताको बनाइने निमित्त प्रजिअ भुसालले जानकारी दिए । नवलपुरमा हालसम्म १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भदौसम्म संक्रमित ५ हजार पुग्ने अनुमान
स्वास्थ्य मन्त्रालयले आउँदो भदौसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरेको छ । केन्द्र सरकारले हाल संक्रमितको अवस्थालाई अध्ययन गर्दा ४० हजार संक्रमित पुग्ने अनुमान गरिरहँदा गण्डकीमा भदौसम्म संक्रमितको संख्या ५ हजार पुग्ने अनुमान गरिएको छ ।
हालकै अवस्थामा संक्रमित बढिरहे भदौको मध्यसम्म गण्डकी प्रदेशमा संक्रमित ५ हजार पुग्ने अनुमान गरिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले बताए ।
‘कन्ट्याक ट्रेसिङ गर्ने क्रममा एउटा व्यक्तिबाट अर्कोमा कति गएको छ । अहिले समुदायमा गएको छ वा छैन । भुसको आगोजस्तै पूर्वानुमान गर्न सकिँदैन,’ निर्देशक शर्माले भने, ‘अहिलेको अवस्था हेर्दा साउनको मध्यदेखि भदौको मध्यसम्म यो पिकमा पुग्छ ।’
संक्रमित बढ्दै जाँदा आइसोलेसनको क्षमता बढाउने गरी छलफल भइरहेको निर्देशक शर्माले बताए । उनले भने, ‘आइसोलेसन व्यवस्थापनमा केही समस्या हो । जिल्लामा आइसोलेसनको संख्या बढाउने गरी छलफल गरेका छौं । अहिले संक्रमित बढेसँगै निको हुने पनि बढी हुनुहुन्छ ।’
तपाईको प्रतिक्रिया