कोरोना पुष्टि भएका पोखराका ४५ वर्षे पुरुष ९० वर्षे संक्रमितका आफन्त

समाधान संवाददाता २०७७ असार ८ गते २२:२६

अनुप पौडेल, पोखरा

पोखरामा सोमबार साँझ कोरोना पुष्टि भएका ४५ वर्षे पुरुष वडा नम्बर १४ का रहेको खुलेको छ । संक्रमितको सम्पर्कका पुरुषमा कोरोना पुष्टि भएको पोखरा महानगरपालिकाले जनाएको छ ।

पोखराका ९० वर्षे संक्रमितको कन्ट्याक ट्रेसिङमा परेपछि होम क्वारेन्टाइनमा रहेका उनका आफन्तमा कोरोना पुष्टि भएको महानगर स्रोतले समाधानलाई बतायो ।

Advertisement

उनै ९० वर्षे वृद्धका ४० वर्षे छोरामा आइतबार कोरोना पुष्टि भएको थियो । स्याङ्जाको वालिङ स्थायी घर भइ पोखरा–१४ बस्ने वृद्धमा ३ असारमा कोरोना पुष्टि भएको हो । उपचारका लागि अस्पताल पुगेका वृद्धमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कका ६५ जनाको ४ असारमा स्वाब लिइएको थियो ।

यो पनि – आइसोलेसनमा ठाउँ नहुँदा क्वारेन्टाइनमै बास !

Advertisement

त्यसमा ५३ जना पश्चिमाञ्चल सामुदायिक अस्पतालका कर्मचारी र १२ जना परिवारका सदस्य थिए । अस्पतालका कर्मचारीको भने कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ । ‘वृद्धका अरु १० आफन्तको रिपोर्टबारे जानकारी आइसकेको छैन । अहिले संक्रमितलाई आइसोलेसन ल्याउने तयारी गर्दैछौं,’ स्रोतले भन्यो ।

पोखरासहित गण्डकी प्रदेशमा अहिलेसम्म ५ सय ९३ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ५५ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ।

वृद्धलाई कसरी स–यो कोरोना ?

स्याङ्जाको वालिङ घर भइ २० वर्षदेखि पोखराबस्दै आएका वृद्ध जिल्ला बाहिर गएका छैनन्। उनी उच्च ज्वरो आएपछि २२ जेठमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेका थिए।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका वृद्धलाई क्षेत्रीय अस्पतालले प्रि–आइसोलेसनमा राख्यो। २२ जेठमा नै भारतबाट फर्किएका वालिङ–३ का ५८ वर्षे पुरुष उपचारका लागि क्षेत्रीय अस्पताल आएका थिए। उनमा पनि उच्च ज्वरो थियो।

दुवैलाई ज्वरो आएपछि क्षेत्रीय अस्पतालले कोरोनाको रिपोर्ट नआउँदासम्म शंकास्पद भन्दै प्रि–आइसोलेसनमा राखेको थियो। वालिङका पुरुषमा २५ जेठमा कोरोना पोजेटिभ देखिँदा सँगै बसेका ९० वर्षे वृद्धको भने रिपोर्ट नेगेटिभ आएको थियो। कोरोना संक्रमण नदेखिएपछि २५ जेठमै उनी घर फर्किएका थिए।

वालिङका ५८ वर्षे पुरुषको भने आइसोलेसन भर्ना गर्दाको दिनमै मृत्यु भएको थियो। उनी कोरोनाबाट मृत्यु हुने गण्डकी प्रदेशको पहिलो व्यक्ति हुन्। मृतक पुरुषका श्रीमति र छोरीमा पनि ५ असारमा संक्रमण पुष्टि भएको छ।

रिपोर्ट नेगेटिभ आएपछि क्षेत्रीय अस्पतालले ९० वर्षे वृद्धलाई घर पठायो। तर ज्वरो आएपछि उनी भोलिपल्टै पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल गए।

सामुदायिक अस्पतालले स्वाब संकलन गरेर पठाउँदा रिपोर्ट पोजेटिभ आएपछि अहिले ती वृद्धको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। उनलाई प्रि–आइसोलेसनबाटै कोरोना सरेको अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया