धमाधम बन्दैछ मुस्ताङको चैले–भेना सडक

एसके थकाली
जोमसोम, ९ असार
मुस्ताङको जोमसोम—कोरला १ सय १० किलोमिटर सडकखण्ड अन्तर्गतको चैले–भेना १३ किलोमिटर सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । सरकारले लकडाउनकै क्रममा पछिल्लो समय विकास पूर्वाधारका काम सञ्चालन गर्ने गरी खुकुलो बनाएपछि उक्त खण्डको काम अघि बढेको हो ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत कन्टेक कान्छाराम कोसी एन्ड न्यौपाने जेभीले चैले–भेना सडक बनाउन ४७ करोड ६२ लाखमा सम्झौता गरेको थियो । जोमसोम–कोरला ७ प्याकेजको काम २०७४ साल साउनदेखि सुरु भएको थियो ।
ठेकेदार कम्पनीले चैले–भेना खण्डको ७० प्रतिशत काम सम्पन्न गरेको करिडोर सडकका सब–इन्जिनियर किरण घिमिरेले जानकारी दिए । सडकको ३० प्रतिशत काम मध्ये बिस्फोटक पदार्थ पड्काएर ठूल्ठूला कडा चट्टान काट्ने, सडक चौडा र ग्रेड मिलानको काम भइरहेको सब–इन्जिनियर घिमिरेले बताए ।
करिडोरको जोमसोम–कोरला खण्डको चैले–भेना सडकमा अहिले करिब ४ दर्जन मजदुर कार्यरत छन् । जोमसोम–कोरला सडक खण्डको ७ वटा प्याकेजमध्ये त्यसखण्डको समर–भेना ८ सय मिटर दुरी सबैभन्दा जोखिमयुक्त स्थानमा पर्छ । त्यहाँ सडक बिस्तारको काम समेत चुनौतीपूर्ण छ ।
त्यहाँ सडक फराकिलो पार्न चट्टान काट्ने गर्ने क्रममा १ जना उपकरण चालकले ज्यान गुमाएका थिए । निर्माण कम्पनीले समेत ढिलो गरी काम थालेको थियो । गत वर्षदेखि त्यस खण्डमा ठूल्ठूला पहाड काटी सडक चौडा गर्ने काम भएको थियो ।

कोभिड—१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै त्यसखण्डको काम रोकिएको थियो । यसका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लामा कोरोना जोखिम न्यूनिकरण गर्न विभिन्न सर्त पालना गरी काम गर्न आह्वान गरेको थियो ।
त्यसपछि उक्त खण्डको सडक विस्तारको काम गर्न गत जेठको दोश्रो साता करिडोर सडकका उपकरण चलाउने अपरेटर काममा फर्किएका हुन् । कम्पनीका अनुसार सडक स्तरोन्नतिका लागि ग्रेडर, ब्रेकर, स्काभेटर, ब्याकु, टिपर चालक र सहचालक खटिएका छन् । उनीहरुको व्यवस्थापनका लागि पनि थप मजदुर छन् ।
कोरोना जोखिम कम गर्न सडम स्तरोन्नतिमा खटिएका मजदुरलाई राख्न सडक छेउमा पाल टाँगेर बस्ने व्यवस्था मिलाइएको निर्माण कम्पनीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रवेश गराउँदा मुस्ताङ घासा सीमा नाकामा आरडिटी परीक्षण गराइएको थियो ।
राष्ट्रिय गौरवको जोमसोम कोरला सडकको ७ प्याकेजमध्ये दिवा रौटाहा एपेक्सको छोसेर-कोरोला १४ किमी, दिवा डाफे एपेक्सको ग्रीन ताङ्वेदेखि चैले ११ किमी र बज्रगुरु खड्गकृष्ण जेभीको जोमसोम देखि ताङ्वे १८ किमी सडक करिडोर सडकलाई हस्तान्तरण भइसकेको छ ।
कञ्चनजंगा लामा विल्डर्स विरुवाको भेना-झैते १२ किमी सडकको ९५ प्रतिशत पूरा भएको र बाँकी काम असार मसान्तसम्म सकिने करिडोर सडकका सब–इन्जिनियर घिमिरेले जानकारी दिए ।
उनका अनुसार कञ्चनजंगा लामा मोतिदानको झैते-चराङ १९ किमीको काम ६५ प्रतिशत र तामाङ गौरी पार्वती कोशी एन्ड न्यौपाने जेभीको चराङ/छोसेर प्याकेजको ६० प्रतिशत काम भएको छ । चराङ–छोसेरको बाकी ४० प्रतिशत काम कोरोना कहरका कारण रोकिएको छ । लोेमान्थाङमा काम गर्ने मजदुरलाई काम गर्न रोक लगाइएकाले समस्या भएको हो ।
झन्डै ६ अर्ब बजेटको बेनी–जोमसोम–कोरला विस्तारले गण्डकी प्रदेशको मात्र नभई नेपालकै आर्थिक समृद्धिमा योगदान पुग्ने मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचन बताउँछन् । उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक २०७४ सालबाट सुरु भएको हो ।
तपाईको प्रतिक्रिया