हेडसर संयोजकत्वको समितिले एसइईको नतिजा निकाल्ने

समाधान संवाददाता २०७७ असार १० गते १४:२२

पोखरा

परीक्षा नै नभएको एसइईको नतिजाका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापक (हेडसर) संयोजकत्वको समितिले मूल्यांकन गरी परीक्षाफल निकाल्ने मापदण्ड बनेको छ । राष्ट्रिय परीक्षा बोर्डले यस्तो मापदण्ड बनाएको छ ।

हेडसर संयोजकत्वको समितिमा ३ सदस्य हुनेछन् । विद्यार्थीको विवरण झुठा ठहरेमा वा गलत विवरण पेस गरेको पाइए मूल्यांकन समिति जवाफदेही हुने गरी कार्यविधि बनाईएको छ । झूठा र गलत विवरण पठाए कानुन बमोजिम जवाफदेही मूल्यांकन समिति स्वयं हुने कार्यविधिमा व्यवस्था छ ।

Advertisement

कोरोना भाइरस कोभिड १९ को महामारीका कारण यसपालि एसइई परीक्षा हुन नसकेको हो । चैत ६ गतेदेखि परीक्षा निर्धारण गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले बनाएको माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ तयार पारेको छ । कार्यविधि अनुसार हेडसरको संयोजकत्वमा गठन हुने मूल्यांकन समितिले विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकन विवरण कायम गर्ने व्यवस्था छ ।

Advertisement

विद्यालयले लिएको परीक्षामध्ये अधिकतम पाठ्यक्रम समावेश हुने गरी पछिल्लोपटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णांक अन्तर्गत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने कार्यविधिमा उल्लेख छ ।

यसरी गरिने परिवर्तनका लागि कार्यविधिमा सूत्रसमेत उल्लेख गरिएको छ । विद्यार्थीको प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनु पर्ने व्यवस्था गरिएको छ ।

कार्यविधिले विद्यार्थीको आन्तरिक मूल्यांकन कसरी गर्ने भन्नेबारे प्रष्ट खुलाएको छ । ग्रेटवृद्धि वा खुलातर्फबाट एसईई दिने विद्यार्थीका सन्दर्भमा पनि कार्यविधिमा व्यवस्था छ । कार्यविधिअनुसार सम्बन्धित विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनका आधारमा विद्यार्थीले नम्बर पाउनेछन् ।

जेठ २८ को मन्त्रिपरिषद बैठकले विद्यार्थीको आन्तरिक मूल्यांकनबाटै एसइईको परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो । गत वर्ष एसइईका लागि चार लाख ८२ हजार दुई सय १९ विद्यार्थीले आवेदन दिएका थिए ।

बोर्डकाअनुसार यस वर्ष ग्रेडवृद्धि परीक्षा हुने छैन । ‘पूरक ग्रेडवृद्धि परीक्षासम्बन्धी कार्य यो वर्ष हुने छैन,’ कार्यविधिमा प्रष्ट भनिएको छ ।

तपाईको प्रतिक्रिया