आँधीखाेलाले ल्यायाे ४६ कराेडकाे बजेट

समाधान संवाददाता २०७७ असार १० गते १७:४५

समाधान स‌ंवाददाता

स्याङ्जा

आँधीखोला  गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष शर्मिलादेवी पाैडेलले ४६ करोड ६ लाख ६० हजार बराबरको बजेट गाउँसभामा बुधबार पेस गरेकी छन् ।

Advertisement

भौतिक पूर्वाधारका कामहरू तीव्र गतिमा सञ्चालन भइरहेको स्याङ्जाको आँधीखोला गाउँपालिकाले पूर्वाधारको विकास मात्रै नभएर कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार तथा क्वारेन्टाइन व्यवस्थापन को साथै रोजगार विहीन नागरिकहरूलाई लक्षित गरी रोजगार र कृषिमा जोड दिँदै आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रम तथा वजेट सार्वजनिक गरेको छ ।

कृषि उद्योग पर्यटन एवम् श्रम मार्फत रोजगार सिर्जना गर्न रु ३ करोड ३४ लाख बजेट छुट्याएको छ । कुल बजेटको ४० प्रतिशत अर्थात् करिब १७ करोड बजेट भौतिक पूर्वाधार क्षेत्रमा विनियोजन गरेको आँधीखोला गाउँपालिकाले आगामी आर्थिक वर्षको सुरुवातमै सुविधा सम्पन्न प्रमुख प्रशासकीय भवनको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

Advertisement

पूर्वाधार विकासको बजेटमध्ये सबै वडा कार्यालयसम्म पुग्ने बाटो स्तरउन्नति एवमं पिच गर्ने नीति तथा कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा न ४ मा रहेको सेपत बाङ्सिङ पञ्चासे सडकको स्तरउनन्तिक लागि बहुवर्षीय कुल १० करोडमध्ये आगामी आर्थिक वर्षको लागि ४ करोड बजेट विनियोजन भएको गाउँपालिकाको उपाध्यक्ष पौडेलले बताइन् । वडा नं १ पञ्चमुल सिरुवारी जोड्ने सडक र वडा नं ३ मा फूलबारी पुवाँडाडा सडक खण्डको स्तरउन्तिको काम हाल तीव्र गतिमा भइरहेको छ भने वडा नं २ को वडा कार्यालय जोड्ने सडकको स्तरउन्नति तथा पिचको काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

वडा नं १ र ३ मा नयाँ वडा कार्यालय भवन बनिसकेको छ भने हाल वडा नं ४ मा काम भइरहेको छ । त्यस्तै आगामी आर्थिक वर्ष वडा नं २ को वडा कार्यालय भवन निर्माण गर्न बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै अत्याधुनिक सुविधा भएको सपिङ कम्प्लेक्स सहितको बहुउद्देश्यीय सभाहल निर्माणकाे अन्तिम चरणमा छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमध्ये लुतर्फकोआर्थिक,  सामाजिक, सांस्कृतिक, सामाजिक,  सुशासन, न्याय तथा समानता, लैंगिक तथा समावेशीकरण एवं कार्यालय संचालन तथा प्रशासनिक तर्फ ७ करोड ३७ लाख, पुजीँगत खर्च तथा पूर्वाधार विकास, निर्माण तर्फ रु १८ करोड ५५ लाख र शशर्त कार्यक्रम तर्फ २० करोड १४ लाख बजेट विनियोजन गरेको गाउँपालिकाको उपाध्यक्ष शर्मिला देवी पौडेलले जानकारी दिइन् ।

गाउँपालिकाको शिक्षा क्षेत्रमा कुल वजेटको ३३ प्रतिशत अर्थात् १४ करोड ५० लाख वजेट बिनियोजन गरेको छ भने स्वास्थ्य तर्फ ३ करोड २८ लाख वजेट विनियोजन गरेको छ । नीति तथा कार्यक्रममा प्रस्तुत भएका गौरवका आयोजनाहरूलाई पूर्ण रुपमा सम्पन्न गर्ने वजेटले लक्ष्य लिएको छ। कोरोना रोकथाम, नियन्त्रण र उपचार एवम् क्वारेन्टाइन व्यवस्थापनको लागि रु ४० लाख बजेट विनियोजन गरेको छ । श्रमिकको लागि काम तथा रोजगारीको लागि ८१ लाख ९२ हजार बजेट विनियोजन गरेको छ । सिंचाइ खानेपानी , काठेपोल विस्थापन लगायत सामाजिक न्याय र समानता, समावेशिकरण,आर्थिक, सामाजिक , सास्कृतिक क्षेत्रको विकासमा वजेटले जोड दिएको छ । नीति तथा कार्यक्रम र बजेट आज नै पारित भएको छ ।

तपाईको प्रतिक्रिया