घरपझोङको बजेट ३० करोड ७० लाख

पालिकाले कारोना भाइरसका कारण पर्यटन क्षेत्रमा परेको प्रभावलाई सम्वोधन गर्दै व्यवसायीलाई २५ प्रतिशत कर मिनाहा दिने भएकाे छ ।
एसके थकाली
जोमसोम
मुस्ताङको घरपझोङ गाउपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउपालिकाले कुल ३० करोड ७० लाख रुपैयाको बजेट प्रस्तुत गरेको हो ।
गाउँपालिकाले बुधबार आयोजना गरेको बजेट सार्वजनिक कार्यक्रममा उपाध्यक्ष शर्मिला गुरुङले आगामी आर्थिक वर्षको उक्त बजेट प्रस्तुत गरेकी हुन् । पालिकाले कुल बजेटमध्ये चालु खर्चतर्फ ५ करोड ३२ लाख ९४ हजार र पुँजीगत विकासतर्फ खर्च २५ करोड ३७ लाख ५३ हजार रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष गुरुङले जानकारी दिइन् ।
उपाध्यक्ष गुरुङले सार्वजनिक गरेको बजेट वक्तव्यमा जनाइए अनुसार विषयगत समिति मार्फतको पूर्वाधार विकासतर्फ ३ करोड ५१ लाख, आर्थिक विकासतर्फ ३ करोड ६४ लाख ६९ हजार, सामाजिक विकासतर्फ ३ करोड १ लाख, वन वातावरण तथा विपत् व्यवस्थापनतर्फ ३ करोड ७६ लाख ५० हजार र सुशासन तथा संस्थागत विकासतर्फ ५० लाख विनियोजन गरेको छ ।
पालिकाको कुल बजेट अन्तर्गत शसर्त अनुदान १० करोड ६९ लाख, विषयगत क्षेत्र आयोजनाका लागि १४ करोड ६८ लाख विनियोजन गरेको छ । यस्तै, संघीय सरकारको वित्तीय समानीकरण बजेट ६ करोड ७१ लख र प्रदेश वित्तीय समानीकरण बजेट १ करोड २१ लख छ ।
संघीय सरकारको राजश्व बाडफाँटतर्फ ३ करोड ५९ लाख र प्रदेश तर्फको राजश्व १० लाख ५ हजार छ । यस्तै संघीय सरकारको विशेष अनुदान ४ करोड ५० लाख र प्रदेशको समपूरक तथा विशेष अनुदान १ करोड ५० लाख रहेको जनाइएको छ ।
बजेटमा गाउँपालिकाले सामाजिक विकास, प्रकृति संरक्षण र संस्कृति, कृषि, पर्यटन, पर्यावरण र पूर्वाधार विकासका योजनालाई प्राथमिता दिएको उपाध्यक्ष गुरुङले बताइन् । पालिकाले विश्वव्यापी माहामारीको रुपमा फैलिएको कारोना भाइरसका कारण पर्यटन क्षेत्रमा परेको प्रभावलाई सम्वोधन गर्दै व्यवसायीलाई २५ प्रतिशत कर मिनाहा दिने जनाएको छ । आगामी आर्थिक वर्षमा कोरोना रोकथाम तथा नियन्त्रण र यसको व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरेको छ । पालिकाले कोरोना कोष खडा गरेको र त्यसमा २० लाख जम्मा भएको जनाएको छ । उक्त कोष मार्फत विभिन्न कार्यक्रममा खर्च समेत भएको उपाध्यक्ष गुरुङले जनाइन् ।
पालिकाले आगामी आर्थिक वर्षका लागि पालिकाका गौरवको आयोजना मिनि मुस्ताङका लागि १ करोड बजेट र क्याम्प भवन पूर्वाधार निर्माणका लागि १ करोड ५० लाख विनियोजन गरेको उपाध्यक्ष गुरुङले सुनाइन् ।
तपाईको प्रतिक्रिया