पोखरामा ४ सहित गण्डकीमा थपिए १३ संक्रमित

समाधान संवाददाता २०७७ असार १० गते १९:०५

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिकामा ४ पुरुष सहित गण्डकी प्रदेशका अन्य २ जिल्लामा गरेर १३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार साँझ कास्की ४, गोरखा २, स्याङ्जामा ७ जना गरी १३ जना थप संक्रमित पुष्टि गरेको हो । योसँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ४२ पुगेको छ ।

Advertisement

कास्कीमा थपिएका ४ जना पुरुष नै पोखरा महानगरपालिकाका भएको निर्देशनालयले जनाएको छ । गोरखा गण्डकी गाउँपालिका र कास्कीको पोखरामा थपिएकाको परीक्षण पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा भएको थियो । स्याङ्जामा थपिनेमध्येका १ जना ४२ वर्षीया महिला र अन्य ६ जना पुरुष हुन् । उनीहरु सबै गल्याङ नगरपालिकाका हुन् । स्याङ्जा संक्रमितको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण भएको निर्देशनालयले जनाएको छ ।

स्याङ्जामा पुष्टि भएका सबै संक्रमितलाई आइसोलेसनमा राखिसकिएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोविन्दु शर्माले जानकारी दिए । अन्यलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले बताए ।

Advertisement

बुधबार बिहान ८ जिल्लाका ३२ जनामा संक्रमण पुष्टि भएको थियो ।
गण्डकीमा हालसम्म ९१ जना निको भएर घर फर्किएका छन्, भने वालिङका ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया