घरपझोङ गाउँपालिकाकाे बजेटकाे पूर्णपाठ

समाधान संवाददाता २०७७ असार १० गते १९:४५


आर्थिक वर्ष २०७७/७८ को

वार्षिक विकास योजना

Advertisement

घरपझोङ गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय, मुस्ताङ

Advertisement

गण्डकी प्रदेश

नेपाल

घरपझोङ गाउँपालिका, जोमसोम, मुस्ताङको छैटौं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष एवम् बजेट तथा कार्यक्रम तर्जूमा समितिका संयोजक श्री सर्मिला गुरूङज्यूले प्रस्तुत गर्नुभएको

आ.व. २०७७|७८ को वार्षिक विकास योजना

मिति २०७७|०३|०८ गते

घरपझोङ गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय, मुस्ताङ

गण्डकी प्रदेश

नेपाल

गाउँपालिकाको छैटौं गाउँ सभाको यस गरिमामय बैठकको अध्यक्षता गरिरहनुभएका गाउँ सभा अध्यक्षज्यू, गाउँ सभाका सबै सदस्यज्यूहरू, प्रमुख प्रशासकीय अधिकृत समेत उपस्थित कर्मचारी मित्रहरू ।

  • विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न असामान्य परिस्थितिमा यस गाउँपालिकाको छैटौं गाउँ सभामा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७|७८ को वार्षिक विकास योजना प्रस्तुत गर्न लागिरहेकोछु । आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट प्रस्तुत हुने यस सभामा उपस्थित सबै सभाका सदस्यज्यूहरूलाई स्वागत गर्न चाहन्छु ।
  • विश्वव्यापी कोरोना महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । यस महामारीको कारणबाट नेपालमा समेत केही व्यक्तिहरूको निधन भईसकेको छ र हजारौं नेपालीहरू संक्रमित भएका छन् । नेपाल लगायत विश्वका अन्य मुलुकहरूमा कोरोनाको कारणबाट ज्यान गुमाएका नेपाली तथा गैर नेपाली सबै मानव समुदायप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र सबै संक्रमित विरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछु ।
  • कोरोना महामारी विश्व समुदायको लागि मुख्य चुनौतिको रूपमा रहेकोछ । यस महामारीको संक्रमण नेपालमा पनि वढ्दो रूपमा फैलिदै गईरहेको अवस्था छ । आजको यस जटील अवस्थामा यस गाउँपालिका क्षेत्र लगायत मुस्ताङ जिल्लामा यसको संक्रमण हालसम्म एक जनामा पुष्टी भएकोछ ।
  • मुस्ताङ जिल्लामै पहिलोपटक यस महामारीको संक्रमण देखिएको स्थान १ नं. वडा छैरो क्याम्पका टिवेटियन शरणार्थी समूह तथा छैरो निवासी आम जनता, १ नं. वडा निवासी सबै जनताहरू एवम् सबै मुस्ताङबासी महानुभावहरुमा संयमित बन्न र भयभित नभईकन यस महामारीका विरूद्धमा लाग्न अनुरोध गर्दछु । यस विश्वव्यापी महामारीसँग जुध्नको लागि गाउँपालिका सबै जनतासँगै साथै रहेको बेहोरा पनि अनुरोध गर्न चाहन्छु । कोरोना संक्रमित व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
  • आजको दिनसम्म त कोरोना संक्रमण सम्बन्धमा हाम्रो लागि सहज परिस्थिति नै थियो । कोरोनाको थप संक्रमण हुन नदिन हामीहरू अझै सजग र सचेत रहनुपर्ने र सघन रूपमा लागिरहनुपर्ने अवस्था छ । आजको परिस्थितिमा सचेत र सजग भई नेपाल सरकारको निर्णय बमोजिम नियन्त्रित लकडाउनको पालना गर्न  सबै गाउँपालिकाबासीहरूलाई विनम्र अनुरोध पनि गर्न चाहन्छु । हालसम्म लकडाउनको पालना गरिरहनुभएकोमा सबै जनतालाई धन्यवाद ज्ञापन गर्दछु ।
  • नेपाल सरकारको निर्णय बमोजिम नेपाल राज्यभर गत वर्षको चैत्र ११ गतेबाट लागू भएको लकडाउनको आदेश बमोजिम अधिकांश सरकारी कार्यालयहरू झण्डै झण्डै बन्दको अवस्थामा थिए । स्थानीय सरकारको कार्यालय भएको हुनाले यस गाउँ कार्यपालिकाको कार्यालयबाट एकातिर कोरोना रोकथाम तथा न्यूनीकरण, राहत र उद्धारको काम गर्नु थियो भने अर्कोतिर विकास निर्माणका कार्यहरू समेत अगाडि बढाउनुपर्ने निकै चुनौतिपूर्ण कार्यजिम्मेवारी हामीमा थियो ।
  • यस्तो विषम् तथा त्रासदीपूर्ण वातारणमा  कार्यालय एकदिन पनि बन्द नगरिकन सेवाप्रवाह सुचारू गर्ने सबै राष्ट्रसेवक कर्मचारी तथा मुर्धन्य साथ र सहयोगको लागि सबै जनप्रतिनिधी साथीहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।
  • नेपालमा सङ्‍घीय व्यवस्था स्थापना पश्चात जारी भएको नेपालको संविधान बमोजिम देशमा तीन तहका सरकारहरू क्रियाशिल छन् । स्थानीय सरकारको स्थापना पश्चात निर्वाचित घरपझोङ गाउँपालिकाको छैटौं गाउँ सभामा आगामी आर्थिक वर्ष २०७७|७८ को वार्षिक बजेट पेश गर्न पाउँदा म आफूलाई खुशीको अनुभूति भएको महशुस गरिरहेकोछु ।
  • सङ्‍घीय लोकतान्त्रिक गणतन्त्र समेत देशमा अग्रगामी राजनीतिक परिवर्तन गर्न विभिन्न राजनीतिक सङ्‍घर्षमा आफ्नो जीउज्यानको आहूति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात सहीदहरूलाई भावपूर्ण श्रद्धान्जली अर्पण गर्न चाहन्छु । साथै, अग्रगामी राजनीतिक परिवर्तनको लागि महत्त्वपूर्ण योगदान पुर्याउनुहुने सबै राजनीतिक दलका यौद्धा नेताहरूलाई समेत यस घडीमा स्मरण गर्न चाहन्छु ।

अध्यक्ष महोदय तथा सभाका सदस्यज्यूहरू

  • अव म यस गरिमामय सभामा चालू आर्थिक वर्षमा गाउँपालिकाले सम्पादन गरेका केही महत्त्वपूर्ण योजना तथा कार्यक्रमहरूको विषयमा जानकारी गराउने अनुमति चाहन्छु ।
  • यस वर्षको हिउँद याम सकिएर सबै नागरिकहरू आ-आफ्नो गाउँटोलमा फर्की सामान्य जीवन शुरू गर्नै लाग्दा कोभिड १९ को सन्त्रासले गत वर्षको चैत्र एघार गतेबाट देशैभर लकडाउनको आदेश जारी भयो र सबैको ध्यान त्यतैतर्फ मोडियो । अत्यावश्यक सेवा प्रवाह गर्ने केही कार्यालयहरू बाहेक सबै कार्यालयहरू बन्दाबन्दीको अवस्थामा गए । गाउँ कार्यपालिकाको कार्यालयको ध्यान प्रथमतः नागरिकहरूको जिउज्यानको सुरक्षामा लाग्नुपर्यो । गाउँपालिकाको सबै संयन्त्र कोभिडको संक्रमण विरूद्धमा लागी परिरह्यो ।
  • कोभिड १९ को विरूद्धमा अहोरात्र खटिइरहनुहुने गाउँपालिकाका अध्यक्षज्यू, सबै वडा अध्यक्षज्यूहरू, कार्यपालिकाका सदस्यज्यूहरू, वडा सदस्यज्यूहरू समेत सिंगो गाउँसभाका तपाईँ सबै सदस्यज्यूहरू एवम् कार्यालयका सबै कर्मचारी साथीहरू एवम् विशेषगरी गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई घरपझोङ गाउँपालिका हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
  • कोभिड विरूद्धको लडाईँमा साथ र सहयोग पु-याउनुहुने मुस्ताङ जिल्लामा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरू तथा निकायहरू, सरकारी तथा गैरसरकारी संघ संस्थाहरू र स्थानीय स्तरमा गाउँ मुखियाहरू, स्थानीयवासी जनता सबैमा गाउँपालिकाको तर्फबाट आजको यस अवसरमा धन्यवाद दिन चाहन्छु ।
  • जिल्ला समन्वय समिति, मुस्ताङ, जिल्ला प्रशासन कार्यालय, मुस्ताङ तथा सुरक्षा निकायका सबै कर्मचारी तथा सुरक्षा संयन्त्रलाई धन्यवाद दिन चाहन्छु । विश्वव्यापी महामारीमा मार्गदर्शन, साथ र सहयोगका लागि सदाझै राजनीतिक दलका नेता तथा कार्यकर्ता साथीहरू, यस जिल्लाबाट गण्डकी प्रदेश सभा र प्रतिनिधी सभामा प्रतिनिधित्व गर्ने सबै माननीय सांसद्ज्यूहरूप्रति गाउँपालिका आभार प्रकट गर्दछ ।
  • स्थानीय कोरोना राहत कोषमा रकम प्रदान गर्ने सबै दानवीर दाताज्यूहरूमा मुरी मुरी धन्यवाद दिन चाहन्छु ।
  • गाउँ कार्यपालिकाको कार्यालयमा कोभिड विरूद्धको लागि राहत, उद्धार र उपचार समेतका लागि कोष स्थापना गरी हालसम्म रू २० लाख ७३ हजार ८२७ उक्त कोषमा    जम्मा भएकोछ भने गाउँपालिका भित्रका दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरूको लागि राहत सामग्री वितरण, क्वारेण्टीन निर्माण/ व्यवस्थापन तथा क्वारेण्टीन बसेकाहरूको खाना खाजा खर्च समेत हालसम्म कूल १३ लाख ५६ हजार ५७६ खर्च भएको मध्ये राहत सामग्री वितरणमा रू. ३ लाख ५३ हजार ३७ र क्वारेण्टिन निर्माण व्यवस्थापनमा रू. २ लाख ६६ हजार १ सय ६६, मुस्ताङ जिल्ला विपद् व्यवस्थापन कोषमा रू. २ लाख एवम् विविध फिर्ता रकम रू. ४५ हजार ३ सय १६ रहेकोछ ।
  • नियमित औषधी सेवन गर्ने गाउँपालिका क्षेत्रभित्रका सबै विरामीहरूको लागि १ महीना बराबरको औषधी निःशुल्क वितरण गरिएकोछ यस कार्य समेत मास्क, स्यानीटाइजर र कोरोना परीक्षण सम्बन्धी उपकरणहरू खरीदमा रू. ५ लाख २१ हजार ५७ खर्च भएकोछ । उक्त राहत तथा उद्धार कोषमा आजका दिनसम्म रू. ७ लाख १७ हजार २५१ मौज्दात रहेकोछ ।
  • हालसम्म यस गाउँपालिकामा क्वारेण्टीनमा बसेका व्यक्तिहरूको सङ्‍ख्या  २२ जना पुगेकोछ भने २१ जना  डिस्चार्ज भईसकेका छन् । गाउँपालिकामा जम्मा  क्वारेण्टिन बेड सङ्‍ख्या ५७ रहेकोछ । ती मध्ये गाउँपालिकाको केन्द्रमा ४१ बेड र अन्तर्गत वडाहरूमा १६ बेडहरू रहेकाछन् ।
  • छिमेकी गाउँपालिकाहरू लोमन्थाङ र लोघेकर दामोदरकुण्डका निवासीहरूलाई पनि आवश्यकता अनुसार यसै गाउँपालिकाको क्वारेण्टिनमा राख्ने गरी व्यवस्था मिलाईएकोछ । ती गाउँपालिकाहरू सदरमुकाम जोमसोमबाट टाढा रहेका र चिकित्सक तथा सुरक्षा बन्दोबस्तिका लागि जोमसोममा नै राख्नु श्रेयकर देखिएकाले यस विषम् परिस्थितिमा  एक असल छिमेकी गाउँपालिकाले मानवीय संवेदना प्रकट गर्नुपर्छ भन्ने मनसायले यो व्यवस्था मिलाईएको हो ।

अध्यक्ष महोदय तथा सभाका सदस्यज्यूहरू

  • देशका अधिकांश स्थानीय तहमा कोरोना महामारीको कारणबाट विकास निर्माण कार्य झण्डै ठप्प भएको अवस्थामा यस गाउँपालिकामा भने हप्ता दश दिन बाहेक स्थानीय विकास निर्माणको कार्य रोकिएन । सम्भव भएसम्मका उपायहरू अवलम्बन गरी विकास निर्माण कार्यलाई तदारूकताका साथ अगाडि बढाइएको छ । जसको फलस्वरुप चालू आर्थिक वर्षमा विकास बजेटको झण्डै      ७५ प्रतिशत खर्च हुने प्रारम्भिक अनुमान छ । यो कार्य देशका अन्य स्थानीय तहहरूका लागि एक उदाहरणीय कार्य हो ।  
  • यस गाउँपालिकाको समृद्धि कृषि, पशुपालन तथा पर्यटन प्रवर्द्धनमा निर्भर रहेको विषयमा गाउँपालिका जानकार रहेकोछ र तिनै क्षेत्रहरूमा प्राथमिकता दिइएको छ । गाउँपालिका क्षेत्रभित्रका कृषियोग्य खेतहरूलाई तारवार लगाउने कार्य अघि बढिरहेकोछ । चिमाङ, जोमसोम तथा ठिनी गाउँका कृषियोग्य जमिनहरूलाई तारबार लगाउने कार्य अन्तिम चरणमा पुगेकोछ । आगामी आर्थिक वर्षमा ती गाउँका जमीनहरूमा तारवार लगाउने कार्य पूरा हुनेछ ।
  • मार्फा देखि धवान, याकखर्क, आलुवारीसम्मको कृषि सडक आगामी आर्थिक वर्षको शुरूका महीनाहरूमा पूरा हुनेछ । जसबाट आलुवारीमा रहेको कृषियोग्य जमीनमा खेती गर्न पुनः सुरूवात हुनेछ । यसबाट मार्फाका कृषकहरू लाभान्वित हुनेछन् । गाउँपालिका क्षेत्रमा रहेका साना सिचाईँ, ढल निकास तथा बाटोघाटो निर्माणमा गाउँपालिकाले उच्च प्राथमिकता दिएर योजना तथा कार्यक्रमहरू कार्यान्वयन गरिरहेकोछ ।
  • गाउँपालिकाको केन्द्र जोमसोम बजारमा मुस्ताङ जिल्ला अस्पताल छ । मार्फा र ठिनीमा स्वास्थ्य चौकीहरू रहेका छन् भने वाँकी गाउँहरू चिमाङ र स्याङमा हालसम्म सामुदायिक स्वास्थ्य इकाईहरू रहेकोमा चालू आर्थिक वर्षमा नै सङ्‍घीय सरकारको सहयोगमा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूको भवन निर्माण गर्ने कार्य शुरू भएकोछ । आगामी आर्थिक वर्षमा ती भवनको निर्माणकार्य पूरा हुनेछ र ती स्थानहरूमा समेत आधारभूत तहको स्वास्थ्य सेवा उपलब्ध हुनेछ । गाउँपालिका क्षेत्रका सबै स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य कर्मीहरूको दरबन्दी संख्याको आधारमा पदपूर्ति गरिएकोछ ।
  • गाउँपालिकाको केन्द्रमा रहेको जनहित माध्यमिक विद्यालयलाई नमूना विद्यालयको सूचीमा सूचिकृत गरी नमूना विद्यालय निर्माणको आयोजना कार्यान्वनमा आएकोछ । आगामी १/२ वर्षमा यस परियोजना सम्पन्न हुनेछ भने उक्त विद्यालयमा प्राविधिक धार तर्फको इन्जिनियरिङको पढाई प्रारम्भ भएकोछ । सो विद्यालयलाई सुविधासम्पन्न बनाउन गाउँपालिकाको तर्फबाट विभिन्न योजना तथा कार्यक्रमहरू प्रस्ताव गरिएकोछ र ती आयोजनाहरू क्रमैसँग कार्यान्वयन भई रहेकाछन् । 
  • जनहित माध्यमिक विद्यालयमा आगामी आर्थिक वर्षमा प्राविधिक धार तर्फको छुट्टै भवन निर्माण गर्ने कार्य प्रारम्भ हुनेछ ।
  • गाउँपालिकाको अर्को माध्यमिक तहको विद्यालय जनवाल माध्यमिक विद्यालय, मार्फालाई भौतिक संरचनाले सुविधा सम्पन्न बनाउने योजनाको शुरूवात गर्न लागिएकोछ ।उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रमका लागि उक्त विद्यालयलाई छनौट गरिएकोमा विद्यमान कोरोना महामारीको कारणबाट उक्त योजना चालू आर्थिक वर्षमा लागू हुन सकेन । दाता राष्ट्रबाट उक्त प्रस्ताव स्वीकृत भएको खण्डमा आगामी आर्थिक वर्षमा उक्त परियोजनाको लागि विस्तृत परियोजना प्रतिवेदन तयार भई योजना कार्यान्वयनमा आउनेछ । तत्पश्चात उक्त विद्यालयको सुविधासम्पन्न छात्रवास सहित पठनपाठन परिस्कृत हुँदै जानेछ ।
  • गाउँपालिका क्षेत्रका सबै शैक्षिक संस्थाहरूमा पठनपाठन तथा भौतिक संरचनाहरूको सुधार गर्दै लानेमा गाउँपालिका दृढसंकल्पित छ ।  

अध्यक्ष महोदय

  • गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालयहरूलाई प्रविधिमैत्री बनाईएकोछ । सबै वडा कार्यालयहरू समेत गाउँ कार्यपालिकाको कार्यालयमा छिटो गतिको इन्टरनेटको प्रवन्ध मिलाईएकोछ । गाउँ कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका वडा कार्यालयहरूमा स्वीकृत दरबन्दी बमोजिम कर्मचारीहरूको व्यवस्थापन भएकोछ । वडा कार्यालयहरूको पत्राचार तथा घटना दर्ताका सबै कामकारवाहीहरूलाई विद्यूतीय माध्यमबाट गर्ने गरिएकोछ ।
  • गाउँ कार्यपालिकाको कार्यालयले सबै तहका कार्यालयहरूबाट चिठीपत्र आदानप्रदान गर्दा पूर्ण रूपमा विद्यूतीय प्रविधि अवलम्बन गरेकोछ । सेवाप्रवाह छिटो, छरितो र चुस्त बन्दै गईरहेकोछ । वडा कार्यालय व्यवस्थापनलाई क्रमैसँग परिस्कृत तथा सुधार्दै लगिएकोछ ।
  • युवा क्लव तथा समाजघरहरूको भौतिक निर्माणमा उल्लेख्य योगदान गरिएकोछ । वडा नं. ३ स्याङमा आकर्षक झोनाघाङ पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेकोछ । आगामी आर्थिक वर्षमा सो पार्कको निर्माण कार्य पूरा हुनेछ र त्यसको आकर्षणले पर्यटक आवागमनमा वृद्धि हुने अपेक्षा लिएकोछु ।
  • ढुम्बा ताल व्यवस्थापनलाई गाउँपालिकाको गौरवको आयोजनामा सूचिकृत गरी कार्यक्रमहरू अघि बढाइरहेकोछ । उक्त तालको व्यवस्थापनको लागि अघिल्ला वर्षहरू जस्तै चालू आर्थिक वर्षमा पनि ताल क्षेत्रमा भौतिक निर्माण गर्ने कार्यलाई निरन्तरता दिइएकोछ । सङ्‍घीय तथा गण्डकी प्रदेश सरकार समेतको सहलगानीमा आगामी वर्षहरूमा समेत ती योजनाहरूलाई निरन्तरता दिइनेछ ।
  • गाउँपालिका क्षेत्रका सबै दलित तथा विपन्न घरपरिवारमा निशुल्क सौर्य ऊर्जा जडान गर्ने कार्य यसै आर्थिक वर्षको अन्त्यसम्ममा पूरा हुनेछ भने क्रमैसँग अन्य घरपरिवारहरूमा समेत सो ऊर्जा प्रणाली जडान गरिनेछ । यसबाट विद्यूतको विकल्प स्थापना हुनेछ ।
  • यसै गाउँपालिका अन्तर्गत स्याङमा उद्योग ग्राम स्थापना गर्नको लागि कार्यालयको तर्फबाट सबै दस्तावेजहरू तयार गरी सम्बन्धित निकायहरूमा पठाइएकोछ । आगामी आर्थिक वर्षमा यसको सम्भाव्यता अध्ययन गाउँपालिकाको तर्फबाट गरी उद्योग ग्राम स्थापनाका लागि भौतिक निर्माण कार्य प्रारम्भ हुनेछ । उद्योग ग्रामको स्थापना पश्चात मुस्ताङ जिल्लाकै साना उद्योगी लाभान्वित हुनेछन् भने रोजगारीको अवसरहरू समेत वृद्धि हुनेछन् ।
  • तीनै तहका सरकारहरूको सहलगानीमा यस गाउँपालिकाको वडा नं. ४ जोमसोममा सुविधासम्पन्न इन्डोर खेलकूद हल निर्माण गर्ने कार्यको थालनी यसै आर्थिक वर्षबाट प्रारम्भ भएकोछ । आगामी आर्थिक वर्षहरूमा समेत यस आयोजनाले निरन्तरता पाउनेछ र केही वर्षमै उक्त परियोजना पूरा गर्ने लक्ष्य गाउँपालिकाले लिएकोछ । चालू आर्थिक वर्षमा उक्त खेलकूद हलको निर्माणको लागि गाउँपालिकाले करीब १ करोड बराबरको निर्माणकार्यको व्यवस्थापन मिलाएकोछ ।
  • गाउँपालिकाको प्रशासकीय भवन निर्माणको कार्य थालनी गरिएकोछ । आगामी दुई आर्थिक वर्षमा यो भवनको निर्माण कार्य पूरा भई सोही भवनबाट प्रशासनिक काम कारवाही प्रारम्भ हुनेछ । जसबाट सेवाप्रवाह अझै प्रभावकारी र चुस्त दुरुस्त हुनेछ भने गाउँपालिकाको प्रशासनिक भवन सँगै बहुउद्देश्यीय सभाहल निर्माणको कार्य समेत द्रुतगतिमा भईरहेकोछ ।

अध्यक्ष महोदय

  • हामीले गाउँपालिकाको नेतृत्व समालेपछाडि केही उल्लेख्य ठूला आयोजनाहरूको निर्माण कार्य प्रारम्भ गरेकाछौं । यी ठूला स्केलका आयोजनाहरूले पक्कै पनि दूरगामी प्रभाव छाड्नेछ भन्नेमा म विश्वस्त छु । जोमसोम स्थित सशस्त्र प्रहरी बलको नं. ३३ गुल्मको कार्यालय देखि कालीगण्डकी नदीको पक्की पुलसम्म दुवैतर्फ कालीगण्डकी नदीमा पक्की तटबन्धन गर्ने कार्य प्रारम्भ भईसकेकोछ । यस तटबन्धनको निर्माण कार्य आगामी आर्थिक वर्षमा पूरा हुनेछ । यसबाट जोमसोम बजारमा नदी कटानबाट हुने क्षति न्यूनीकरण हुनेछ भने तटबन्धनको दायाँ वायाँ सयौं रोपनी खेतियोग्य जमिन निस्कनेछ । यस तटबन्धनलाई गण्डकी प्रदेशकै अनुकरणीय बनाउन गाउँपालिका लागीपरेकोछ ।
  • जोमसोम बजारकै नजिकै हाल गाउँ कार्यपालिकाको कार्यालय रहेको स्थान नजिकैदेखि जोमसोम भ्यूटावर जाने सुविधासम्पन्न पदमार्ग बनाउने कार्य पनि यसै आर्थिक वर्षदेखि प्रारम्भ भएकोछ । यो परियोजना पनि आगामी आर्थिक वर्षमा पूरा हुनेछ र पर्यटकहरूको जोमसोम बसाई यस परियोजनाले कम्तिमा एक दिन बढाउनेछ ।
  • देशकै लागि नौलो मिनी मुस्ताङ पार्कको विस्तृत परियोजना प्रतिवेदन तयार गरी गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूको उपस्थितिमा सो प्रतिवेदनको प्रस्तुति समेत गरी हाल सबै तहका सरकारहरूको सहलगानीमा सो परियोजनको निर्माण कार्य यसै आर्थिक वर्षबाटै प्रारम्भ गरिएकोछ ।
  • मिनी मुस्ताङ पार्कको निर्माण पश्चात मुस्ताङ जिल्लाका मुख्य मुख्य धार्मिक तथा पुरातात्विक महत्त्वका धरोहरहरूको सूक्ष्म रूप यस गाउँपालिकाको केन्द्र जोमसोम बजारमै अवलोकन गर्ने अनौठो अवसर उपलब्ध हुनेछ । यस परियोजनाले मुस्ताङ जिल्लामा पर्यटकहरूको आगमनमा उल्लेख्य बढोत्तरी हुनेछ भने पर्यटकहरूको मुस्ताङ बसाईलाई समेत लम्भ्याउनेछ । मुस्ताङका महत्त्वपूर्ण धरोहरहरूको सूक्ष्म रूप जोमसोममा नै अवलोकन गरेपश्चात पर्यटकहरू वास्तविक धरोहरहरूको अवलोकन भ्रमणमा समेत आकर्षित हुनेछन् र घरपझोङ गाउँपालिका तथा अन्य सबै गाउँपालिकाहरूमा पर्यटकहरूको आवागमनमा उल्लेख्य रूपमा बढोत्तरी हुनेछ । यो परियोजना निश्चय पनि ठूलो लगानीको र चुनौतिपूर्ण रहेतापनि असम्भव भने छैन ।
  • मुस्ताङ जिल्लाको एकमात्र बहुमुखी क्याम्पसको रूपमा तेज निराला जनहित क्याम्पस रहेकोछ । यस क्याम्पसको भौतिक निर्माणमा गाउँपालिका जुटिरहेकोछ । जिल्लाकै एकमात्र क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा मुस्ताङका सबै स्थानीय तहरुको ध्यान जानु जरूरी छ । आगामी आर्थिक वर्षमा यस क्याम्पसका लागि सङ्‍घीय विशेष अनुदानबाट क्याम्पस भवनको निर्माण कार्य शुरू गरिनेछ । आगामी आर्थिक वर्षका लागि यस क्याम्पसको भौतिक निर्माणमा रू. १ करोड ५० लाख बजेट विनियोजन गरिएकोछ ।
  • जोमसोम- ठिनी- छैरो- मार्फा चक्रपथको प्रारम्भिक कार्य यसै गाउँपालिकाले शुरू गरेको हो  । अहिले यस चक्रपथको निर्माणकार्य प्रदेश सरकारको सहयोगमा जारी रहेकोछ । यस सडकको निर्माण निर्धारित समयमानै पूरा गराउनेतर्फ गाउँपालिका लागीरहनेछ । यो सडकको निर्माणले जोससोम, ठिनी, छैरो, चिमाङ र मार्फाका जनताहरूको भावनात्मक एकता बलियो बनाउनेछ र भौगोलिक दूरीलाई कम गरी आवागमनलाई सहजता गराउनेछ । ढुवानी पैठारी कार्यलाई सर्वसुलभ बनाउनेछ । यसै चक्रपथको मुख्य हिस्सा मार्फा छैरो जोड्ने पक्की पुलको निर्माणकार्यलाई यथासम्भव छिटो पूरा गर्न गाउँपालिकाले परिणामुखी पहल गर्नेछ ।
  • माथि उल्लिखित चक्रपथमा पर्ने ढुम्बाखोला र ठिनीखोलामा मोटरेवल पुल निर्माणका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार र नेपाल सरकारसँग समन्वयात्मक रुपमा कार्य गर्नेछ । परिणामस्वरूप ती स्थानहरूमा पक्की पुल निर्माण भई स्थानीय जनता प्रत्यक्ष रूपमा लाभान्वित भई उत्पादन र उत्पादकत्व बृद्धि हुनेछ ।

अध्यक्ष महोदय तथा सभाका सदस्यज्यूहरू

  • आजको युग भनेको सूचना प्रविधिको युग हो । नेपालको संविधानले सबै नेपाली नागरिकहरूको लागि सूचनाको हक प्रत्याभूत गरेकोछ । आजको दिनमा मुस्ताङ जिल्लाबाट प्रकाशन हुने विद्यूतीय समाचारपत्र (News Portal) नरहेको अवस्था छ । यसै रिक्ततालाई पूरा गर्न गाउँपालिकाले एक न्यूज पोर्टल mustangkhabar.com को निर्माण गरेकोछ । यस न्यूज पोर्टल हाल ट्रायल भर्जन demo.mustangkhabar.com मा रहेकोछ । केही कानूनी तथा प्रकाशकीय प्रकृयाहरू पूरा गरी आगामी आर्थिक वर्षको शुरूबाटै यसको नियमित प्रकाशन प्रारम्भ हुनेछ । यसको प्रकाशन पश्चात मुस्ताङ जिल्लाका सबै महत्त्वपूर्ण घटनाहरूलाई देशविदेशबाट जानकारी तथा अवलोकन गर्ने अवसर उपलब्ध हुनेछ ।
  • जोमसोममा रहेका सबै होटलहरूलाई विद्यूतीय सञ्जाल (Networking) मा आवद्ध गर्ने कार्य अन्तिम चरणमा पुगेकोछ । सबै होटलहरूको संक्षिप्त परिचय सहित एक छुट्टै वेभसाइट निर्माण कार्य पूरा हुने क्रममा रहेकोछ । आउँदो आर्थिक वर्षको शुरूवाती महीनासँगै जोमसोम भ्रमण गर्ने सबै आगन्तुक तथा पर्यटकहरूले ऊनीहरूको रोजाईको होटल ऊनीहरूकै घरठेगानाबाट अग्रीम बुकीङ गरी आउनसक्ने प्रवन्धको सुनिश्चितता हुनेछ । यस कार्यबाट दुबैपक्षः होटल व्यवसायी तथा पर्यटकहरू लाभान्वित हुनेछन् ।
  • गाउँ कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका वडा कार्यालयहरूमा हुने राजस्व संकलन कार्यलाई अझै व्यवस्थित बनाउनको लागि राजस्व संकलन सफ्टवेयर सबै वडा कार्यालय तथा गाउँ कार्यपालिकाको कार्यालयमा जडान गरिसकिएकोछ । यस सफ्टवेयरको मद्दतले कार्यालयमा कार्यरत कर्मचारीहरूलाई कार्यसञ्चालनमा चुस्तता बढाउनुको साथै आम्दानी तथा खर्च सम्बन्धी प्रतिवेदन कार्यलाई समेत सहजता पैदा हुनेछ ।
  • गाउँपालिकाको मुख्य प्रशासनिक कार्यालयमा लेखा व्यवस्थापन सम्बन्धी सफ्टवेयर SuTRA को प्रयोग भने विगतका आर्थिक वर्षहरूबाटै शुरू गरी यद्यपी सुचारू भईरहेकोछ । यस सफ्टवेयरको प्रयोगले गर्दा सबै आर्थिक कारोबारहरूको लेखांकन नेपाल सरकारले तय गरेको प्रणालीमा सञ्चालन हुनुको साथै सङ्‍घीय तथा प्रदेश सरकारका निकायहरूले उक्त प्रणालीबाटै यस गाउँपालिकाको आम्दानी तथा खर्च सम्बन्धी विवरणहरू प्राप्त गर्न सहजता भईरहेकोछ ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रत्येक वडाहरूका साना साना विकास निर्माणका कार्यहरू भईरहेका छन् । यसबाट एकातिर विकास निर्माणका कार्यहरू भएका छन् भने अर्कोतर्फ वेरोजगार युवा जमातलाई कम्तिमा पनि न्यूनतम् रोजगारीका अवसरहरू प्राप्त भईरहेका छन् । आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझै परिस्कृत गरी स्थानीय जनतालाई रोजगारी बढाउनुको साथै सीप विकासका अवसरहरू प्रदान गरिनेछ ।सीप विकास गर्दै जाँदा स्थानीय जनता स्वरोजगार उन्मुख बन्नेछन्  । आगामी आर्थिक वर्षमा कूल ५२ लाख ३ हजार बजेटको प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरिनेछ ।

अध्यक्ष महोदय,

  • अव म आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले तयार गरेको वार्षिक बजेटको  संक्षिप्त प्रारूप पेश गर्ने अनुमति चाहन्छु ।
  • आगामी आर्थिक वर्ष २०७७|७८ को वार्षिक बजेट तयार गर्दा प्रचलित कानूनहरूले निर्दिष्ट गरेबमोजिमका सबै प्रकृयाहरूको अवलम्बन गरिएकोछ । वस्तिस्तरबाट संकलित योजनाहरूलाई विषयगत समितिहरुमा छलफल गरी बजेट तथा कार्यक्रम तर्जूमा समिति मार्फत् कार्यपालिकामा पेश गरी कार्यपालिकाको निर्णय बमोजिम आजको यस सभामा पेश गर्ने व्यवस्था मिलाएकोछु ।
  • आगामी आर्थिक वर्षका लागि वार्षिक बजेटका मुख्यतया देहाय बमोजिमका उद्देश्यहरू किटान गरेकोछु ।
  • विद्यमान कोरोना महामारीको संक्रमणलाई न्यूनीकरण गर्ने एवम् उक्त कार्यको लागि श्रोतको सुनिश्चतता गर्ने ।
  • पुराना र अधुरा आयोजनाहरूलाई प्राथमिकता दिने ।
  • गाउँपालिकाका गौरवका आयोजनाहरूमा श्रोतको विनियोजन गर्ने ।
  • गरीबी न्यूनीकरणलाई टेवा पुर्याउने योजना तथा कार्यक्रमको छनौट गर्ने ।
  • विकास निर्माणमा भौगोलिक समानता र समता कायम गर्ने ।
  • बस्तिस्तरबाट छनौट भई आएका आयोजनाहरूलाई प्राथमिकता दिने ।
  • जनसहभागिता अभिवृद्धि गराउन सकिने आयोजनाहरू छनौट गर्ने ।
  • सहभागितामूलक योजना निर्माण प्रकृयालाई प्रश्रय गर्ने ।
  • जनचाहना बमोजिमका आयोजनाहरू छनौट गर्ने ।
  • आयोजना निर्माणसँग सम्बन्धित सबै विषयक्षेत्रहरूमा बजेट विनियोजन गर्ने ।
  • कालीगण्डकी तटबन्धनलाई उच्च प्राथमिकतामा राख्ने ।
  • पर्यटन प्रवर्धनमा जोड दिने ।
  • समावेशी र समन्यायीक विकास प्रयासलाई प्रश्रय दिने ।
  • रोजगारी उन्मूख आयोजनाहरूको छनौटमा जोड दिने ।
  • श्रोत र साधनको अधिकतम् उपयोग गर्ने र प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्ने योजनाको छनौटमा जोड दिने ।
  • आगामी आर्थिक वर्षको बजेट मुख्य रूपमा देहायका दस्तावेज समेतको आधारमा तयार पारेकोछु ।

क)  नेपालको संविधान

ख) नेपाल सरकारले तयार पारेको चालू आवधिक योजना

ग) स्थानीय सरकार सञ्चालन ऐन, २०७४

घ) दीगो विकास लक्ष्यहरू

ङ) गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम

च) सङ्घीय सरकार तथा अन्तर्गतका निकायहरूबाट बेला बेलामा भएका निर्देशन, दिग्दर्शन, परिपत्र तथा कार्यविधि

छ) गण्डकी प्रदेश सरकारको आवधिक योजना तथा सो सरकारका निकायहरूबाट भएका परिपत्र, निर्देशन तथा कार्यविधि

ज) मुस्ताङ जिल्लाबाट प्रतिनिधी सभा तथा गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने   माननीय सांसद्‍ज्यूहरूका सल्लाहसुझावहरू

झ) गाउँ कार्यपालिकाबाट भएका निर्णयहरू

ञ) योजना छनौटको क्रममा वस्तीस्तरबाट सिफारिस भई आएका योजना तथा   कार्यक्रमहरूको विवरण

ट) राजस्व परामर्श समिति तथा विषयगत समितिहरूबाट भएका निर्णयहरू

ठ) अन्य सान्दर्भिक विषयहरू  ।

आर्थिक विकास

  • यस गाउँपालिकाको मुख्य आर्थिक उपार्जन गर्ने क्षेत्र भनेको कृषि, पशुपालन तथा पर्यटन क्षेत्र नै हो । आगामी आर्थिक वर्षमा कृषि तथा पर्यटन क्षेत्रको प्रवर्धनका लागि विशेष योजना तथा कार्यक्रमहरू प्रस्ताव गरेकोछु ।  छैरो सिंचाई योजना विस्तारको कामलाई निरन्तरता दिएकोछु । विभिन्न वडाहरूमा सामूहिक वाख्रापालन कार्यक्रमलाई बजेट व्यवस्था गरेकोछु । ती कार्यक्रमहरूबाट मूलतः दलित तथा विपन्न तथा फरक क्षमता भएका घरपरिवारका सदस्यहरू लाभान्वित हुनेगरी कार्यक्रम तथा बजेट व्यवस्था गरेकोछु । मार्फा कृषि सहकारी संस्था लिमिटेडको अधुरो कृषि उपज संकलन केन्द्र निर्माणको लागि आवश्यक बजेटको व्यवस्था मिलाएकोछु ।
  • वडा नं. ३ स्याङमा निर्माणधिन झोनाघाङ पार्कको निर्माणकार्य आगामी आर्थिक वर्षमा पूरा गर्नेगरी बजेट व्यवस्था गरेकोछु । जोमसोम तथा ठिनी खेतमा तारबार लगाउने कार्य आगामी आर्थिक वर्षमा सम्पन्न हुनेगरी बजेटको व्यवस्था मिलाएकोछु । यी कार्यबाट उत्पादित कृषि उपजहरूको संरक्षण तथा संवर्द्धन भई सम्बन्धित वडाका कृषकहरू लाभान्वित हुने विश्वास लिएकोछु । आगामी आर्थिक वर्षमा प्रत्येक वडामा कृषि तथा पशु व्यवसायी लाभान्वित हुनेगरी विभिन्न कार्यक्रमहरूको प्रस्ताव गरेकोछु । यसका अलावा कृषि क्षेत्रको लागि थप छुट्टै कार्यपालिकाबाट पछि कार्यक्रम तय हुनेगरी हालका लागि रू. २६ लाख ४४ हजार बजेटको व्यवस्था मिलाएकोछु भने पशुसेवा क्षेत्रका लागि सशर्त अनुदानका कार्यक्रमका अलावा आवश्यकतामा आधारित कार्यक्रम छनौट गर्न थप रू. ५ लाख बजेट व्यवस्था गरेकोछु । सङ्‍घीय सरकारबाट सशर्त अनुदानतर्फ प्राप्त हुने कृषि तर्फका कार्यक्रमहरूलाई यथावत प्रस्ताव गरेकोछु ।
  • आगामी आर्थिक वर्ष नेपाल सरकारको एवम् गण्डकी प्रदेश सरकारको आवधिक योजनासँग तादाम्यता कायम हुनेगरी यस गाउँपालिकाको आवधिक योजनाको निर्माण सम्पन्न गरिनेछ । यस कार्यमा प्रदेश सरकारबाट प्राविधिक तथा आर्थिक सहयोग समेत प्राप्त हुनेछ । यी सबै कार्यको लागि गाउँपालिकाको तर्फबाट रू. १५ लाख बजेट व्यवस्था गरेकोछु ।
  • यस गाउँपालिकाको गौरवको आयोजना मिनी मुस्ताङ पार्कको लागि  रू १ करोड बजेट विनियोजन गरेकोछु । यो रकम गाउँपालिकाको तर्फबाट प्रस्ताव गरिएको हो । यस योजनालाई सङ्‍घ सरकार तथा प्रदेश सरकारबाट समेत बजेट विनियोजन गराउनको लागि विशेष पहल गरिनेछ ।
  • आगामी आर्थिक वर्षका लागि समपूरक योजनाहरू कार्यान्वयन गर्न रू ७५ लाख बजेट विनियोजन गरेकोछु । यसबाट प्रदेश सरकार तथा सङ्‍घीय सरकारबाट  आउने समपूरक आयोजनाहरू कार्यान्वयन गर्ने व्यवस्था मिलाएकोछु ।
  • विपद् व्यवस्थापन समेत अन्य कोषहरुको लाग रू. २५ लाख बजेट प्रस्ताव गरेकोछु । यसबाट गाउँपालिका अन्तर्गत रहेका विभिन्न कोषहरू व्यवस्थित हुनेछन् 
  • आर्थिक विकासतर्फ आगामी आर्थिक वर्षका लागि यस गाउँपालिकाको तर्फबाट कूल बजेट रू. ३ करोड ६४ लाख ६९ हजार विनियोजन गर्ने प्रवन्ध मिलाएकोछु ।

अध्यक्ष महोदय

अब म पूर्वाधार विकास तर्फका योजना तथा कार्यक्रमको विषयमा बजेट पेश गर्न चाहन्छु ।

पूर्वाधार विकास

  • पूर्वाधार विकास तर्फ आगामी आर्थिक वर्षमा चिमाङ इन्डोर ताराखेल खेलमैदानको निर्माणकार्य पूरा गर्नेगरी बजेटको व्यवस्था मिलाएकोछु  । छैरो आमा समूह भवनको छत ढलान, मार्फा गाउँभित्र विद्यूत प्रशारण लाईन अण्डर ग्राउण्ड गर्ने, मार्फामा कालीगण्डकी तटबन्धन गर्ने, वडा नं. ३ पुल्चोक क्षेत्रमा तटबन्धन योजना समेतका लागि आवश्यक बजेटको व्यवस्था मिलाएकोछु । जनहित क्लवको पुस्तकालय भवन निर्माण तथा ठिनी खेल मैदान, ढुम्बा सम्ले गाउँ सिचाईँ कूलो निर्माण तथा ढल निर्माण समेतका लागि आगामी आर्थिक वर्षमा बजेटको प्रस्ताव गरेकोछु ।
  • गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्नको लागि रू १ करोड बजेटको प्रवन्ध मिलाएकोछु । गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान मार्फत् सोही प्रशासनिक भवन निर्माणका लागि रू ५० लाख बजेटको प्रवन्ध मिलाइएकोछ। प्रदेश समपूरक अनुदान अन्तर्गत नै चालू आर्थिक वर्षमा नै ठेक्कापट्टा सम्पन्न भएको मार्फा याकखर्क कृषि सडक निर्माणमा आगामी आर्थिक वर्षमा भुक्तानी व्यवस्थापन गर्न रू ५० लाख बजेटको प्रवन्ध मिलाएकोछु ।
  • यी र यस्तै योजनाहरूमध्ये आगामी आर्थिक वर्षमा पूर्वाधार विकास तर्फका योजना तथा कार्यक्रमहरूको लागि कूल ३ करोड ५१ लाख बजेट प्रस्ताव गरेकोछु ।

सामाजिक विकास

  • कोरोना महामारीले अहिले विश्व समुदाय नै आक्रान्त भईरहेकोछ । यस महामारीको त्रासदी यस गाउँपालिका क्षेत्रमा पनि रहेकोछ । आजका दिनसम्म यस गाउँपालिका समेत सिङ्गो मुस्ताङ जिल्लामा १ जनामा संक्रमण पुष्टी भएको छ । आगामी आर्थिक वर्षका लागि यस महामारीको थप संक्रमण हुन नदिन तथा अन्य राहत तथा उद्धार तथा क्वारेण्टीन तथा आइसोलेसन निर्माण तथा व्यवस्थापनका लागि आवश्यक खर्चको न्यूनता नहोस भनेर कोरोना रोकथाम तथा न्यूनीकरण, राहत तथा उद्धार समेतका लागि रू २५ लाख थप बजेटको व्यवस्था गरेकोछु ।
  • शिक्षातर्फ सङ्‍घीय सरकारबाट हस्तान्तरित कार्यक्रमहरूलाई यथावत राखी थप परीक्षा व्यवस्थापन, साथी दौतरी शिक्षा कार्यक्रम, पढाई उत्सव, विद्यालय छापामय कार्यक्रम, खेलकूद तथा अतिरिक्त क्रियाकलाप, वाल विकास शिक्षक तलब थप प्रोत्साहन, उत्कृष्ठ शिक्षक तथा विद्यालय पुरस्कार, युवा लक्षित थप कार्यक्रम, कम्प्यूटर शिक्षा तालीम समेतका कार्यक्रमहरूमा बजेट विनियोजन गरेकोछु । गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरूमा आवश्यक पर्ने थप पाठ्यपुस्तक निर्माण तथा खरीदका लागि आवश्यक पर्ने बजेट गाउँपालिकाको तर्फबाटै बेहोर्ने गरी कार्यक्रम तय गरेकोछु ।
  • आगामी आर्थिक वर्षमा चालू आर्थिक वर्षकै जस्तै जनहित माध्यमिक विद्यालयलाई नमूना विद्यालय बनाउनको लागि सङ्‍घीय सरकारबाट सशर्त अनुदान प्राप्त हुनेछ भने प्रदेश सरकारबाट प्राविधिक धार तर्फ भवन निर्माण कार्यको लागि रू ५० लाख रकम प्राप्त हुनेगरी कार्यक्रम तय गरेकोछु ।
  • स्वास्थतर्फ आगामी आर्थिक वर्षमा चिमाङ र स्याङको आधारभूत स्वास्थ्य केन्द्रहरूको भवन निर्माण कार्य सम्पन्न गरिनेछ । आगामी आर्थिक वर्षको शुरू महीना साउनबाटै लागू हुनेगरी ती केन्द्रमा उपयुक्त स्वास्थ्य जनशक्ति तथा औजार तथा स्वास्थ्य सामग्री एवम् औषधीको व्यवस्था गरी नियमित रूपमा सञ्चालन गर्नेगरी सबै तयारी पूरा गरिसकेकोछु । साउन महीनाको शुरूबाटै ती स्वास्थ्य इकाईहरूबाट सेवाप्रवाह प्रारम्भ हुनेछ ।
  • जोमसोम स्वास्थ्य चौकी, ठिनी तथा मार्फा स्वास्थ्य चौकी, मार्फाका लागि अत्यावश्यक भौतिक निर्माण तथा औषधी तथा औजार खरीद गर्ने तथा अन्य आवश्यक कार्यका लागि आवश्यक बजेटको प्रवन्ध मिलाएकोछु । पूर्ण संस्थागत सुत्केरी तथा सुनौला १००० दिन कार्यक्रम कार्यान्वयन, मुस्ताङ अस्पतालमा फार्मेसी सञ्चालन गर्न कर्मचारीको व्यवस्था, मुस्ताङ सामुदायिक दन्तसेवा केन्द्रलाई दन्त चिकित्सक वापत अनुदान, गाउँघर क्लिनिक फर्निचर व्यवस्था, दलीत तथा विपन्नहरूको स्वास्थ्य उपचारको लागि आर्थिक सुविधा समेतका लागि गाउँपालिकाको तर्फबाट सशर्त अनुदानका अलावा छुट्टै थप बजेटको व्यवस्था मिलाएकोछु ।
  • महिला संस्था समिति तथा आमा समूह व्यवस्थापन, लैंगीक हिंसा निवारण कोष, महीलाहरूको सीप क्षमता अभिवृद्धिका लागि तालीमहरू, विभिन्न दिवसहरू सञ्चालन खर्च, वालवालिकाहरू, जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरू लाभान्वित हुनेगरी चालू आर्थिक वर्षका कार्यक्रमहरूलाई निरन्तरता दिँदै सो क्षेत्रका लागि थप कार्यक्रमहरू प्रस्ताव गरी आवश्यक बजेट विनियोजन गरेकोछु ।
  • आगामी आर्थिक वर्षका लागि सामाजिक विकास तर्फ सङ्‍घीय विशेष अनुदान समेत कूल ३ करोड १ लाख बजेटको व्यवस्था मिलाएकोछु ।

वातारण तथा विपद् व्यवस्थापन

  • यस गाउँपालिका नदीजन्य कटानको उच्च जोखिममा रहेको स्थानीय तह हो । हालसम्म कालीगण्डकी तथा अन्य खोलाहरूको कटानबाट सैयौं रोपनी खेतियोग्य जमीन बगरमा परिणत भएकोछ । यसै कुरालाई मध्यनजर गरी गाउँपालिकाले नदीजन्य कटानबाट हुने क्षति न्यूनीकरण गर्न तटबन्धनको कार्यलाई पहिलो प्राथमिकतामा राखेकोछु । सशस्त्र प्रहरी बलको नं. ३३ गुल्मको कार्यालय देखि कालीगण्डकी नदीमा रहेको पक्की पुलसम्म दोहोरो तटबन्धन गर्न सङ्‍घीय सरकारको सहयोगमा कालीगण्डकी तटबन्धन कार्य प्रारम्भ भएकोछ  । आगामी आर्थिक वर्षको अन्त्यसम्ममा यो परियोजना पूरा गर्ने लक्ष्य सहित काम धमाधम भईरहेकोछ । आगामी आर्थिक वर्षमा यस परियोजनाका लागि थप रू ३ करोड बजेट सङ्घीय सरकारबाट स्वीकृत भई आएकोछ । चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा यस योजनाको लागि कूल बजेट करीब रू. १० करोड खर्च हुनेछ र यो खर्चका लागि सङ्‍घीय सरकारको सहयोगमा श्रोतको सुनिश्चितता भईसकेकोछ ।
  • आगामी आर्थिक वर्षमा सम्ले गाउँ संरक्षण पहिरो नियन्त्रण तथा ल्हेकोथाङदेखि स्याङ पुलसम्म कालीगण्डकी नदी नियन्त्रणका लागि बजेट विनियोजन गरेकोछु । जोमसोममा कालीगण्डकी नदी नियन्त्रणका लागि बजेट व्यवस्था गरेकोछु । स्याङ खोलामा तटबन्धन, वडा नं. ३ कै शिवमन्दिर नजिक भलपानी नियन्त्रण, मार्फा बस्ति पछाडी ढल निकास तथा वृक्षारोपण योजना, मार्फा फोहरमैला संकलन केन्द्र निर्माण, छैरो क्याम्पदेखि छैरो पुलसम्म कालीगण्डकी तटबन्धन, छैरो छहरा गुम्बा मर्मत एवम् गाउँपालिका स्तरीय फोहरमैला व्यवस्थापन तालीमका लागि आवश्यक बजेटको प्रवन्ध मिलाएकोछु  ।
  • मुस्ताङ जिल्लामै आजको दिनसम्म पनि शबबाहन नभएकाले अनेकन कठिनाई भईरहेको अवस्थामा आगामी आर्थिक वर्षमा गाउँपालिकाले एक शबबाहन खरीद गरी अन्य निकायलाई व्यवस्थापनको जिम्मेवारी सहित हस्तान्तरण गर्नेछ । यसको लागि १५ लाख बजेट व्यवस्था गरेकोछु । यो समेत यस्तै विनियोजन विधेयकमा सूचिकृत वातावरण तथा विपद् व्यवस्थापन तर्फका योजना तथा कार्यक्रमहरूको लागि सङ्‍घीय विशेष अनुदान समेत कूल बजेट रू. ३ करोड ७६ लाख ५० हजार  प्रस्ताव गरेकोछु ।

अध्यक्ष महोदय र सभाका सदस्यज्यूहरू

बार्षिक विकास योजना प्रस्तुतिकरणको अवको चरणमा म सुशासन तथा संस्थागत विकास तर्फका योजना तथा कार्यक्रमहरूको विषयमा प्रकाश पार्ने अनुमति चाहन्छु ।

सुशासन तथा संस्थागत विकास योजना

  • कुनैपनि निकायको सफलता त्यसमा संलग्न मानवश्रोतमा निर्भर गर्नेमा दुईमत रहँदैन ।  विकासका आयामहरू मध्ये मानवश्रोतको विकास पनि एक आयाम हो । यिनै मानव जनशक्तिहरूको क्षमता अभिवृद्धि तथा प्रविधिमैत्री विकासका लागि आगामी आर्थिक वर्षका लागि विभिन्न कार्यक्रमहरूको प्रस्ताव गरेकोछु ।
  • आउँदो आर्थिक वर्षदेखि गाउँपालिकाले कार्यान्वयन गर्ने योजना तथा कार्यक्रमहरू योजना व्यवस्थापन सफ्टवेयरबाट व्यवस्थित गरिनेछ । उपभोक्ता प्रशिक्षण कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएकोछु । कर्मचारी क्षमता अभिबृद्धि कार्यक्रम, युवाहरूको लागि लोकसेवा तयारी कार्यक्रम, पत्रकारिता सम्बन्धी तालीम, सहकारी व्यवस्थापन तालीम, गाउँपालिका स्तरीय उद्‍घोषण तथा भाषणकला तालीम, कानूनी साक्षरता तालीम समेतका लागि आवश्यक बजेटको विनियोजन गरेकोछु ।
  • त्यस्तैगरी, मेलमिलापकर्ता तालीम, घरपझोङ गाउँपालिकाको बस्तुस्थिति सहितको अद्यावधिक विवरण प्रकाशन (Gharapjhong Facts Publication), न्यायीक समिति व्यवस्थापन खर्च, गाउँपालिका भरीका सबै सडकवत्तीहरूको महसुल खर्च, होमस्टे व्यवस्थापन तथा सञ्चालन सम्बन्धी तालीम तथा वडा कार्यालयहरूमा हटरूम बनाउनको लागि आवश्यक बजेटको प्रवन्ध मिलाएकोछु ।
  • अतिरिक्त समयमा काम गरे वापत कर्मचारी प्रोत्साहनभत्ता तथा पदाधिकारीहरूको सुविधाका लागि बजेटको प्रस्ताव गरेकोछु । कोरोना महामारीको न्यूनीकरण राहत तथा उद्धारमा खटिएका कर्मचारीरूलाई जोखिम भत्ता प्रस्ताव गरेकोछु । कोभिड १९ का लागि गाउँपालिकाको तर्फबाट सबै कर्मचारी तथा पदाधिकारीहरुको वीमा गर्ने कार्यलाई अगाडि बढाउने गरी प्रकृया मिलाएकोछु । यी सबै कार्यहरूले पदाधिकारी तथा कर्मचारीहरूको मनोबल उच्च भई कार्यसम्पादनको स्तर अभिवृद्धि हुनेछ र जनसन्तुष्टीको स्तर बढ्नेछ ।
  • मुस्ताङ जिल्लाभित्रका सबै पाँच वटै गाउँपालिकाहरूको पारस्परिक तथा समन्वयात्मक विकासले मात्र मुस्ताङ जिल्लाको समग्र विकास सम्भव हुनेहो । यसै विषयलाई हृदयंगम गरी आगामी आर्थिक वर्षदेखि मुस्ताङ जिल्लाका सबै स्थानीय तहहरूको पारस्परिक सहयोग, समन्वय तथा अनुभव आदानप्रदान गर्ने हेतूले अन्तरपालिका परिषद् बैठकको आयोजना गर्न यस गाउँपालिकाले अग्रसरता लिनेछ । यस्तो बैठक प्रत्येक गाउँपालिकाहरूको व्यवस्थापनमा तत् तत् गाउँपालिकामा आयोजना हुनेछ । यसले गर्दा मुस्ताङ जिल्लाको सन्तुलित तथा व्यवस्थित विकास प्रयासमा एक पहलकदमी हुनेछ । यस परिषद्को सफल अभ्यास हुनसकेमा अन्य जिल्लाहरूका लागि समेत अनुकरणीय कार्य हुनेछ । यी र यस्तै कार्यक्रमहरूका लागि समग्र सुशासन तथा संस्थागत विकास योजनातर्फ कूल ५० लाख बजेटको व्यवस्था गरेकोछु ।
  • विश्व महामारीको रूपमा संक्रमण फैलिंदै गईरहेको कोरोना भाइरसको सम्भावित संक्रमणको परिमाण अहिले पूर्वानुमान गर्नसक्ने अवस्था छैन । कथमकदाचित यो महामारीको संक्रमणले प्रस्तावित बजेट तथा उपलब्ध अन्य श्रोतले नपुगेका आगामी आर्थिक वर्षका कुनैपनि योजना तथा कार्यक्रमहरूलाई  कार्यपालिकाको निर्णयबाट बजेटको शीर्षक संशोधन गर्न सक्ने गरी विनियोजन विधेयक तयार पारेकोछु ।
  • अपेक्षित राजस्व तथा अनुदान प्राप्त हुन नसकेमा तथा कोरोनाको न्यूनीकरणमा बजेट अपुग हुन गएमा यो व्यवस्था आकर्षित हुने गरी यस सभामा स्वीकृतिको लागि प्रस्ताव पेश गरेकोछु ।
  • सशर्त तर्फका सबै योजना तथा कार्यक्रहरूलाई हुबहू प्रस्ताव गरेकोछु र यसैसाथ संलग्न विनियोजन विधेयक, २०७७ को अनुसूचीमा सूचिकृत गरी राखेकोछु ।

अध्यक्ष महोदय

  • अव म आगामी आर्थिक वर्षको लागि अनुमानित आय र व्ययको अनुमान यस गरिमामय सभामा पेश गर्ने अनुमति चाहन्छु । हालसम्म प्राप्त हुन आएका कार्यक्रमहरूको आधारमा आगामी आर्थिक वर्षको लागि अनुमानित बजेटको आकार रू. ३० करोड ७० लाख १३ हजार ५३ को हुनेछ । यसै बमोजिमको बजेटको संरचनामा सामाजिक सुरक्षा वापतको रकम संलग्न गरिएको छैन । सामाजिक सुरक्षा वापत वितरण गरिने रकम कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सम्बन्धित व्यक्तिहरूको खातामा स्थानान्तरण हुने हुनाले यस गाउँपालिकाको बजेटमा संलग्न नगरिएको हो ।  कूल प्रस्तावित बजेट मध्ये चालू तर्फ जम्मा ५ करोड ३२ लाख ९४ हजार खर्च हुने पूर्वानुमान रहेकोछ । बाँकी हुन आउने रू. २५  करोड ३७ लाख १९ हजार ५३ मध्ये सशर्त अनुदान तर्फका कार्यक्रमहरूको लागि कूल १० करोड ६९ लाख खर्च हुनेछ भने बाँकी बजेट रू. १४ करोड ६८ लाख १९ हजार ५३ विभिन्न विषयक्षेत्रगत आयोजनाहरू र तीनको व्यवस्थापन र समपूरक कोष निर्माण एवम् विभिन्न कोषहरूको व्यवस्थापनमा खर्च हुनेगरी बजेटको आँकलन गरेकोछु । आगामी आर्थिक वर्षका सबै योजना तथा कार्यक्रमहरू यसैसाथ संलग्न विनियोजन विधेयकको अनुसूचीमा सुचिकृत गरेकोछु । विस्तृत विवरण सोही विधेयकबाट जानकारी लिनुहोला ।
  • कूल बजेट मध्ये आगामी आर्थिक वर्षमा सङ्‍घीय सरकारबाट वित्तीय समानीकरणबाट रू. ६ करोड ७१ लाख, वित्तीय समानीकरण गण्डकी प्रदेश सरकारबाट १ करोड २१ लाख २५ हजार, सङ्‍घीय सरकारको राजस्व वाँडफाँडबाट रू ३ करोड ५९ लाख ३ हजार ५३, गण्डकी प्रदेश सरकारको सवारी साधन कर वाँडफाँडबाट रू १० लाख ५ हजार, सङ्‍घीय सरकारको सशर्त अनुदान तर्फ रू. १० करोड ६९ लाख, सङ्घीय विशेष अनुदान रू ४ करोड ५० लाख, गण्डकी प्रदेश सरकारको विशेष र समपूरक अनुदान कूल रू १ करोड ५० लाख र गाउँपालिकाको आन्तरिक श्रोत तर्फको रकम रू ८४ लाख ३० हजार रहनेछ । उल्लिखित खर्च संरचनामा आम्दानी र खर्चको प्रक्षेपणमा जम्मा रकम रू १ करोड ५५ लाख ५० हजार न्यून हुन आउनेछ । उक्त न्यूनपूर्ति चालू आर्थिक वर्षमा खर्च नभई बचत हुन आउने रकमबाट गर्नेगरी सम्पूर्ण बजेट संरचनालाई प्रस्तुत गरेकोछु ।
  • अव म यस सभामा यस गाउँपालिका क्षेत्रभित्र आगामी आर्थिक वर्षमा लगाइने कर तथा गैरकर दस्तुर समेतको विषयमा जानकारी गराउने अनुमति चाहन्छु । स्थानीय सरकारको मुख्य आन्तरिक श्रोत भनेको कर तथा शुल्कहरूबाटै संकलन हुने रकम हो । चालू आर्थिक वर्षकै जस्तो करका दरहरू प्रस्ताव गरेकोछु । चालू आर्थिक वर्षभन्दा केही करका क्षेत्रहरूमा दायरा विस्तार गर्ने प्रवन्ध मिलाएकोछु । गाउँपालिकाको राजस्व परामर्श समितिको सिफारिसमा तय गरिएका राजस्व संकलनका दरहरूको प्रस्तावित विवरण यसैसाथ संलग्न आर्थिक विधेयक, २०७७ मा प्रस्तुत गरेकोछु ।
  • विद्यमान कोरोना महामारीको कारणबाट चालू आर्थिक वर्षका पछिल्ला ४ महीना सबै उद्यमी व्यवसायीहरूका लागि प्रतिकूल हुन पुगे । यस गाउँपालिकाको आर्थिक ऐन, २०७६ ले प्रस्ताव गरेका कर तथा शुल्कहरू तोकिए बमोजिम उद्यमी, व्यवसायीहरूसँग उठाउँदा उनीहरूलाई मर्का पर्ने देखियो । यसै कारणबाट राजस्व परामर्श समितिको सिफारिसमा आर्थिक ऐन, २०७६ को अनुसूची १ को खण्ड १ देखि ५ सम्मका करका दरहरूमा सम्बन्धित व्यवसायीहरूलाई चालू आर्थिक वर्षका लागि २५ प्रतिशतले छुट दिने गरी निर्णय भएकोमा सो निर्णय समेत यस गाउँसभाको बैठकबाट अनुमोदनका लागि पेश गरेकोछु । यस कार्यले गाउँपालिका सबै जनताको दुःखसुखको साथी हो भन्ने भावनाको विकास गराईएकोछ ।
  • आगामी आर्थिक वर्ष स्थानीय सञ्चित कोषबाट व्ययभार हुने रकम सहित विभिन्न कार्यक्रम तथा आयोजनाहरूको सूचि सहितको विनियोजन विधेयक, २०७७ समेत यसैसाथ पेश गरेकोछु ।
  • आगामी आर्थिक वर्षका लागि विभिन्न योजना तथा कार्यक्रमहरू सहितको वार्षिक विकास योजना निर्माण गर्नको लागि संघ सरकार तथा प्रदेश सरकारबाट विशेष अनुदान तथा समपूरक अनुदान सहित अन्य साधनश्रोत जुटाउनमा अति महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने मुस्ताङ जिल्लाबाट  गण्डकी प्रदेश सभा तथा प्रतिनिधी सभाकामा प्रतिनिधित्वि गर्नुहुने माननीय सांसद्‍ज्यूहरूलाई मुरी मुरी धन्यवाद प्रकट गर्न चाहन्छु ।
  • ्जुनसुकै बजेटको प्रभावकारिता त्यसको कार्यान्यनमा निर्भर गर्दछ । उल्लिखित बजेटको सफल कार्यान्वयनका लागि यस गरिमामय गाउँसभाका सबै सदस्यज्यूहरू, कर्मचारी, आम जनता, वुद्धिजिवी तथा सबै सरोकारवाला घरपझोङवासीको साथ र सहयोगको अपेक्षा लिएको छु । सरोकारवाला सबैको साथ र सहयोगले नै घरपझोङ गाउँपालिकाको “समावेशी, सामाजिक रूपान्तरण, प्रकृति संरक्षण र संस्कृति”,: “कृषि, पर्यटन, पर्यावरण, पूर्वाधार, घरपझोङको समृद्धि”  भन्ने गाउँपालिकाको नारा तथा गण्डकी प्रदेश सरकारले अवलम्बन गरेको समृद्ध प्रदेश, सुखी नागरिकको दीर्घकालिन सोंच र नेपाल सरकारले अवलम्बन गरेको समृद्ध नेपाल, सुखी नेपाली को नारा पूरा हुनेछ भन्नेमा विश्वास लिएकोछु ।
  • अन्त्यमा, आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माणका लागि सुझाव तथा  सहयोग पु-याउनु हुने गाउँपालिकाका श्रदेय अध्यक्ष ज्यू,  सबै निर्वाचित जनप्रतिनिधीज्यूहरू, राजनीतिक दलहरूका जिम्मेवार पदाधिकारीहरू, विषयगत समिति लगायत अन्य समितिका सदस्यज्यूहरू, गाउँ कार्यपालिकाका सबै साथीहरूलाई आभार प्रकट गर्दै बजेट निर्माणको प्राविधिक पाटो व्यस्थापनमा सहयोग गर्नुहुने प्रमुख प्रशासकीय अधिकृत लगायत संलग्न सबै कर्मचारी मित्रहरूमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । धन्यवाद ।

प्रस्तुतकर्ता

सर्मिला गुरुङ

उपाध्यक्ष तथा संयोजक

घरपझोङ गाउँपालिकाको बजेट  तथा कार्यक्रम तर्जूमा समिति

तपाईको प्रतिक्रिया