फेदीखोलाको नीति कार्यक्रम उद्यमशीलतामा केन्द्रित

समाधान संवाददाता २०७७ असार १० गते २०:१३

Advertisement

समाधान संवाददाता
फेदीखोला

कोभिड–१९ को संक्रमणकैबीच बुधबार पारित फेदीखोला गाउँपालिकाको नीति तथा कार्यक्रमले महामारीका कारण गाउँ फर्कन चाहेका वा गाउँमा व्यावसायिक बन्न खोजेका नागरिकलाई उद्यमशील बनाउने लक्ष्य लिएको छ ।

Advertisement

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीद्वारा आर्थिक वर्ष ०७७/०७८ का लागि प्रस्तुत उक्त कार्यक्रमले स्वदेश तथा विदेशबाट रोजगारी गुमाएर गाउँ फर्किएका एवं गाउँमा नै व्यावसायिक बन्न चाहेका व्यक्तिलाई लक्षित गरेको हो ।


उद्यमशीलतालाई व्यावसायिक कृषिसँग जोडेर पालिकाको कृषि उत्पादनमा उल्लेख्य बढावा ल्याउने योजना गाउँपालिकाको छ । महामारीको कारण आगामी दिनमा हुन सक्ने खाद्य संकट, नाजुक अर्थव्यवस्था तथा बेरोजगारीलाई व्यवस्थापन गर्न कृषि तथा व्यावसायिक उद्यमशीलता भरपर्दो माध्यम रहेको अध्यक्ष सुवेदीले बताए ।

Advertisement

कृषि उत्पादन बढाउन बाँझो जग्गा प्रोत्साहन, पकेट क्षेत्र, एक गाउँ एक उत्पादन, नमुना कृषि गाउँ, एक घर एक टनेल अभियानलाई बढावा दिने नीति पालिकाले अपनाएको छ । उत्पादित बस्तुलाई सहज ढुवानी तथा बजारिकरणको लागि कृषि उत्पादन संकलन केन्द्रलाई बढाउने तथा बजारमा पुरयाउन कृषि एम्बुलेन्स सञ्चालन गर्ने नीति छ ।

उत्पादन संकलन गर्न संचालनमा ल्याइएको शितभण्डारलाई प्रभावकारी बनाउने तथा उन्नत बिउ उत्पादन, भण्डारण तथा प्रशोधन केन्द्र स्थापना गर्ने जनाइएको छ । त्यसैगरि हाइटेक कृषि नर्सरी, भूमि बैंकको स्थापना गरी करार खेती, चक्लाबन्दी र सामुहिक खेतीमा जानेलाई प्रोत्साहनले प्राथमिकता पाएका छन् । पशु तथा बाली बिमालाई निरन्तरता दिदै कृषिमा उत्पादकत्व वृद्धि गर्न कृषक एवम् कृषि समूहलाई कागती, सुन्तला, एभोगाडा, अलैंची, अम्रिसो, टिमुर, कफीका बेर्ना वितरण गरिने पालिकाको कार्यक्रम रहेको छ ।

विशेषत कृषि तथा उत्पादनमुलक व्यवसायमा आर्कषण बढाउन युवा उद्यम कार्यक्रमको पुजीमा न्यूनतम १ करोड थप्ने गाउँपालिकाले योजना बनाएको छ । संघ सरकारको पहल तथा वित्तिय साझेदारीमा उक्त पुँजी बढाउने योजना पालिकाको छ । युवालाई उद्यमी बनाउन न्युनतम ५ देखि १० जनाको संलग्नतामा गठित समूहलाई उत्पादनशिल क्षेत्रमा लगानी गराउन पालिकाले युवा उद्यम कार्यक्रम संचालन गर्दै आएको छ ।

२ वर्षको अवधिमा हालसम्म १५ वटा समूहलाई समेटेको कार्यक्रमले यस वर्ष मात्र २० देखि ३५ वटा समूहमा लगानी गर्ने योजना बनाएको छ । बिना व्याज, विना धितो रकम प्रदान गरिने उक्त कार्यक्रम अन्र्तगत समूहले पालिकाभित्र उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने छ सो उद्यमको नियमन पालिकाले गर्दछ । ठूलो लगानीको हकमा सहुलियत ऋणका लागि वित्तीय संस्थाहरुसँग समन्वय तथा सहजीकरण पालिकाले नै गरिदिने नीतिमा उल्लेख छ ।

पालिका भित्रका युवाहरुलाई उद्यमी बनाएर उक्त युवाहरुबाट अन्य स्थानीयलाई रोजगारी सिर्जना गराउने नीति अनुरुप स्थापनार्थ युवा रोजगार बैंकलाई थप बजेट छुट्याउने नीति पालिकाको छ । कोभिड–१९ को महामारीबाट स्वदेश तथा विदेशबाट रोजगारी गुमाएका व्यक्तिहरुलाई लक्षित गरी खाद्यान्नको लागि रोजगार, प्रधानमन्त्री रोजगार तथा कृषि रोजगारमा लगाउने बताइएको छ । सडक पुर्वाधारतर्फ सबै वडा सदरमुकामसम्म कालोपत्रे पक्की सडकको पहुँच पुरयाइने नीति रहेको छ । त्यसैगरि मुख्य सडकहरुलाई ब्राह्रै महिना चल्ने सडकको रुपमा सञ्चालन गर्न सडकलाई नियमत मर्मत संभारकार्ता नियुक्त गर्ने, गाउँपालिकाको केन्द्रमा रहेको निर्माणाधिन चक्रपथलाई निरन्तरता दिने तथा कुभिण्डेदेखि भालुपहाडसम्मको सिद्धार्थ राजमार्गमा जारी सड्क चक्लाउने कार्यलाई सहज बनाइने जनाइएको छ ।

गाउँपालिका क्षेत्र भित्र आवश्यक पुलहरु मध्ये ४ वटा यही आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने ५ वटा पुलको निर्माण प्रारम्भ गरिने बताइएको । थप ३ वटाको सर्वेक्षण यही आर्थिक वर्ष भित्र गरिने र महत्वकांक्षी योजनाको रुपमा रहेको भालुपहाड पर्यटकीय गुरुयोजना अन्र्तगत दुई थुम्को जोड्ने झोलुंगे पुल यही आर्थिक वर्षमा सम्पन्न गरिने पालिकाले जनाएको छ ।

कोभिड–१९ को रोकथाम र संक्रमण व्यवस्थापनमा निकै सक्रियता देखाएको पालिकाले प्रयोगमा ल्याइएको क्वारेन्टाइन र आइसोलेसन कक्षलाई आगामी दिनमा प्रयोग हुनेगरि वैकल्पिक व्यवस्था सहित थप व्यवस्थित गर्ने जनाएको छ । एम्बुलेन्स खरिद, स्वास्थ्य प्रयोगशाला तथा संस्थालाई भौतिक तथा प्राविधिक रुपमा सम्पन्न बनाउन पूर्वाधार विस्तार, समुदायस्तरमा संचालित गाउँघर क्लिनिक थप सुविधासम्पन्न, ज्येष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम, स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईमा वर्थिङ सेन्टर तथा टेलि मेडिसिन सेवा, गर्भवती महिलाको सुविधाको लागि अपनाइएको मेडिक मोवाइल प्रविधिको निरन्तरताले प्राथमिकता पाएका छन् ।

कृषि प्राविधिक शिक्षालय सम्बन्धन, शिक्षामा प्रविधि, स्थानीय पाठ्यक्रम, सेनिटरी प्याड वितरण, प्राविधिक शिक्षा तथा प्रदेश र पालिकाको गौरवको आयोजना गण्डकी प्राविधिक प्रतिष्ठान शिक्षा नीतिमा समेटिएका विषय हुन् । त्यसैगरि ठूला बहुबर्षिय खानेपानी आयोजना समयमै सम्पन्न गरि एक घर एक धारा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने पालिकाले जनाएको छ । निर्माणाधीन मट्टिखान, ढाक्रेबास–भाटखोला, सर्केटारी, आरुखर्क, बाँगेफड्के एकीकृत, च्याउखोला, नुवाकोट, देउराली, फेदीखोला बजार बृहत खानेपानी योजनालाई यथाशिघ्र सम्पन्न गरिने गाउपालिकाले जनाएको छ । वडा नं. ४ स्थित गलेममा साहसिक पर्यटन स्थल प्याराग्लाइडिङको उडान सुरु गरिने नीतिमा उल्लेख छ । काठेपोल विस्थापन गरी हाल भइरहेको सामुदायिक विद्युत आपुर्तिको सट्टा सम्पुर्ण विद्युत आपुर्ति नेपाल विद्युत प्राधिकरण मार्फत गराउने तथा गाउँपालिकको लागि छुट्टै फिडर लाइन यसै आर्थिक वर्षमा सम्पन्न गरिने पालिकाले जनाएको छ ।

सम्पन्न सातौ सभामा फेदीखोला गाउँपालिका उपाध्यक्ष देवी थापाले आगामी वर्षको विनियोजन ऐन, आर्थिक ऐन, प्रस्तावित आय व्यय प्रस्तुत गरेकी थिइन भने विधेयक समितिको संयोजक देउकुमारी गुरुङले संशोधित शिक्षा ऐन पेश गरेकी थिइन । सभाले प्रस्तावित सम्पूर्ण ऐन तथा नीति तथा कार्यक्रम पारित गरेको छ ।

तपाईको प्रतिक्रिया