पाल्पाली सहकारी संस्थाको दोस्रो वार्षिकोत्सवमा रक्तदान

समाधान संवाददाता २०७७ असार ११ गते २०:०९

पोखरा

पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.को दोस्रो वार्षिकोत्सव अवसरमा पोखरामा बिहीबार रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ४७ यूनिट रगत संकलन भयो ।

कोभिड–१९ को कारण नियमित रक्तदान कार्यक्रम नहुँदा रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव हुन सक्ने भएकोले सहकारीको वार्षिकोत्सव अवसर पारेर सो कार्यक्रम गरिएको सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जानकारी दिए ।

Advertisement

पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि. र पाल्पाली समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग थियो । ब्राउन आइज पार्टी प्यालेसमा भएको कार्यक्रममा सामाजिक दूरी अपनाइएको थियो । जसमा सहकारी तथा पाल्पाली समाजका सदस्य, सल्लाहकार, शुभचिन्तक एवं सर्वसाधारणले रक्तदान गरेका हुन् ।

प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले पहिलो रक्तदाता समाजका अध्यक्ष कुलप्रसाद घिमिरेलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् ।

Advertisement

सोक्रममा मन्त्री पुनले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणमा प्रदेश सरकार लागिपरेको दाबी गरिन् । उनले विषम परिस्थितिमा पनि पुण्य काम रक्तदान गर्नु सह्राहनीय भएको भन्दै समाज र सहकारीको कार्यको प्रशंसा गरिन् । सरकारले स्वास्थ्य र रोजगारीलाई अहिले प्राथमिकतामा राखेको भन्दै सीप सिक्नु ठूलो कुरा हो भनिन् । सहकारीको प्रगतिको लागि सबै सदस्यको समान भूमिका हुने उनको धारणा छ ।

पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष तेजनारायण अधिकारीले पाल्पाली समाजको पछिल्ला गतिविधिले अन्यलाई पनि सामाजिक कार्यमा उत्प्रेरणा मिलेको बताए । कार्यक्रमको संयोजन सहकारीका शिक्षा समिति संयोजक बालचन्द्र परियारले गरेका थिए ।

पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पाल्पाली समाजका अध्यक्ष कुलप्रसाद घिमिरे र संचालन सचिव रेशम रचकले गरेका थिए ।

सहकारीले शनिबारदेखि पोखरा नयाँबजारस्थित कार्यालयबाट पाल्पाली उत्पादन ढाकाका सामान, पाल्पाली करुवा लगायत सामानको बिक्री कक्ष शुभारम्भसमेत गर्दैछ ।

तपाईको प्रतिक्रिया