गुरुयोजनाको वाहानामा कोराला भ्रमणमा प्रदेश सरकारको टोली

समाधान संवाददाता २०७७ असार ११ गते २१:०९

एसके थकाली
जोमसोम

मुस्ताङ जिल्लाको प्रमुख पर्यटकीय गन्तब्य पहिचानका लागि पर्यटन गुरुयोजना कार्यक्रमसहित गण्डकी प्रदेशको एक टोली बुधबार मुस्ताङ आएको छ । टोलीले पर्यटन गुरुयोजना कार्यक्रम पूर्व चिनसँग सीमाना जोडिएको उत्तरी नाका लगायतको भ्रमण गरी जोमसोम फर्कियो । त्यसपछि उनीहरुले स्थानीय तहका जनप्रतिनिधिबीच जोमसोममा गुरुयोजना सम्वन्धि अन्तरक्रिया गरे ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव डिल्लीराम रिजाल, भिजिट नेपाल २०२० का प्रदेश संयोजक जुद्ध गुरुङ र नेस्ट—पिकासो—नेपाल आर्किटेक्टस् कन्सल्ट जेभीका टिम प्रमुख योगेशपूर्ण श्रेष्ठ लगायतको ५ टोली मुस्ताङ आएको हो ।

Advertisement

गण्डकी प्रदेशमा पछिल्लो समय करिव ७ सय ६८ जना कोरोना संक्रमितको अवस्था र मुस्ताङ पनि कोरोना मुक्त नरहेको संक्रमणकालिन अवस्थामा पर्यटन गुरुयोजनाको कार्यक्रम लिएर मुस्ताङ आएपछि स्थानीयले बेमौसमको बाजाको संज्ञा दिएका छन् ।
कोरोना कहरको विषम अवस्थमा सरकारले सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएको

अवस्थामा प्रदेश सरकार पर्यटन मन्त्रालय मातहतको टोली मुस्ताङ आएपछि स्थानीयले चर्को आलोचना गरेका छन् । तर, प्रदेश मन्त्रालयको टोलीले कोरोना कहरका बेला सरकारले पर्यटन गुरुयोजना कार्यक्रमका लागि खटाएको बताएका छन् । उनीहरुले लकडाउनका बेला मुस्ताङ घुम्ने रहर नभई कार्यक्रम गर्ने बाध्यता आइपरेको उल्लेख गरेका छन् । गण्डकी प्रदेशमा दिगो तथा योजनाबद्ध पर्यटन विकासका लागि प्रदेश पर्यटन गुरुयोजना निर्माण गर्न टोली मुस्ताङ आएको मन्त्रालयका सहसचिव डिल्लीराम रिजालले जानकारी दिए ।

Advertisement

गुरुयोजना अन्तरक्रियामा ५ तहमा केही जनप्रतिनिधि र कर्मचारी मात्र उपस्थिती थियो । तर पर्यटनसंग जोडिएको अन्तरक्रियामा स्थानीय पर्यटन व्यवसायी तथा सरोकारवाला निकायले कोरोना कहरका कारण उपस्थिती जनाउन सकेनन् । नेष्ट—पिकासो—नेपाल आर्किटेक्टस् कन्सल्ट जेभीका टिम प्रमुख योगेशपूर्ण श्रेष्ठले गुरुयोजनाका सम्वन्धमा प्रस्तुतीकरण गरेका थिए ।सो अवसरमा संविधान सभाका सदस्य चन्द्रबहादुर गुरुङ तथा जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले गुरुयोजना सम्वन्धी प्रश्न गरेका थिए ।

गण्डकी प्रदेशले एक वर्षअघि १ सय १० पर्यटकीय गन्तब्य सूचीकृत गरेको थियो । प्रदेशले जिल्लाको प्रमुख पर्यटन गन्तब्य पहिचान तथा त्यसको दिर्घकालीन विस्तृत गुरुयोजना निर्माण गर्न पहल गरेको टोलीले जनाएका छन् ।

गण्डकी प्रदेशकै मुख्य पर्यटकीय हबको रुपमा रहेको मुस्ताङमा यसप्रकारका दर्जनौ गुरुयोजना निर्माण भएपनि कार्यान्वयन भने हुन नसकेको स्थानीय जनप्रतिनिधिले जनाए । गण्डकी प्रदेशले चालु आर्थिक वर्ष लोमान्थाङ, लोघेकर गुम्बा, घरपझोङ र थासाङको टिटी ताल संरक्षणका लागि ४० लाख बजेट विनियोजन गरेको थियो ।

गण्डकीका ११ जिल्लामा ३ चरणको जोन बर्गीकरण गरी पर्यटन गन्तब्य गुरुयोजना निर्माणका लागि मन्त्रालयले पहल गरेको जनाइएको छ । जसमध्ये मुस्ताङ पहिलो नम्बर परेको र दोश्रोमा स्याङ्जा र तनहु त्यसपछि गोर्खाका लागि प्राथमिकतामा राखिएको बताएको छ ।

प्रदेशले दीर्घकालीन महत्वका ४ सय २५ प्रमुख तथा सहायक पर्यटकीय गन्तब्य सूचीकृत गरिन लागिएको जनाइएको छ । जसअनुसार मुस्ताङ, कास्की, पर्वत, म्याग्दी र बाग्लुङ जोन वा मा राखिने भएको छ । प्रदेशले पञ्चवर्षीय, १० वर्षीय र २५ वर्षीय पर्यटन दिर्घकालीन योजनाका लागि पर्यटन ट्रान्जिटसँग जोडिने सम्भावना भएका स्थानको खोजी गरेको हो । पर्यटकको बसाई लम्ब्याएर स्थानीयको जीवनस्तर उकास्ने योजनासहित प्रदेशले बृहत पर्यटन गुरुयोजना ल्याउन लागेको कार्यक्रममा बताइयो ।


गण्डकीको पर्यटन मन्त्रालयको टोलीले पर्यटन गुरुयोजना दस्ताबेजको रुपमा नभई प्राथमिकता आधारमा कार्यान्वयन हँुदै जाने बताए । गुरुयोजनाको लक्ष्य २ वा २ भन्दा बढी पर्यटकीय गन्तव्यलाई जोड्ने गरी गुरुयोजनाको खाका तयार हुने उनीहरुको भनाइ छ । गण्डकी प्रदेशले ११ वटै जिल्लामा ३ चरणगरी गुरुयोजनाका सम्वन्धमा छलफल चलाएको कल्सटेन्सीका टिम प्रमुख श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया