…त्यसपछि ‘एसएलआर राइफल’ बाट चल्यो ८ राउन्ड गोली

समाधान संवाददाता २०७७ असार १२ गते ९:१०

गृहकार्यमा कमी भयो – डा. कपिल अधिकारी, बुद्धिजीवी

उपयुक्त ठाउँ त्यही हो – मेयर, मानबहादुर जिसी

अनुप पौडेल, पोखरा

Advertisement

गण्डकी प्रदेशमा कोरोनाबाट बुधबार राति स्याङ्जाका ५५ वर्षे पुरुषको मृत्यु भयो । कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो भने होइनन् । स्याङ्जाकै वालिङ नगरपालिका ३ का ५८ वर्षे पुरुषको २५ जेठमा कोरोनाकै कारण मृत्यु भएको थियो ।

मृगौलाले काम गर्नै छोडिसकेको थियो, उच्च रक्तचाप, रक्तअल्पताको समस्याले पनि शरीरलाई सताइरहेको थियो । २५ जेठको मध्यरातमा अस्पतालको आइसोलेसनमै अस्ताएका उनको अन्तिम संस्कार गर्न १९ घन्टा लाग्यो ।

Advertisement

पोखरा–११ र २० का स्थानीयले शव व्यवस्थापनमा अवरोध गरेपछि प्रहरीले लाठीचार्ज नै ग¥यो । २६ जेठको जस्तै घटना बिहीबार पनि दोहोरियो । पोखरा–३२ मजुवामा शव व्यवस्थापनका लागि पुग्दा स्थानीयले टायर बालेर प्रदर्शन गरे । जेनतेन मृतकको शव व्यवस्थापन गरियो । तर स्थानीयले विरोध गर्न छाडेनन् ।

शव व्यवस्थापन गरेर फर्किने बेला स्थानीय प्रहरी पोस्ट तोडफोडमा उत्रिए । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले बाध्य भएर एसएलआर राइफलबाट ८ राउन्ड हवाई फायर ग¥यो ।

‘हामी शव व्यवस्थापन गरेर फर्किँदै थियौं। त्यस क्रममा स्थानीयबासी मजुवाको प्रहरी पोस्ट तोडफोड र ढुंगामुढामा उत्रिनुभयो,’ कास्की प्रहरीका प्रवक्ता सुवास हमालले भने, ‘त्यसपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर भएको हो।’

कोरोनबाट मृत्यु भएका ५५ वर्षे पुरुषको शव व्यवस्थापन गर्दा भएको झडपमा सशस्त्र प्रहरीको भ्यान र नेपाल प्रहरीको मोटरसाइकल तोडफोड भएको छ । शव व्यवस्थापन गर्न नदिने अडानसहित विरोधमा उत्रिएका स्थानीयले नेपाल प्रहरीको २ बाइक, १ स्कुटर र सशस्त्रको एउटा भ्यानमा तोडफोड गरेका हुन् ।

तोडफोड गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ३२ का ५० वर्षीय भीमराज गुरुङ, १७ वर्षीय रितबहादुर गुरुङ, २६ वर्षीय अमृत गुरुङ, ४७ वर्षे लिलबहादुर गुरुङ, २२ वर्षीय समिर गुरुङ छन् । त्यसबाहेक ३३ वर्षीय भक्तबहादुर गुरुङ, ३० वर्षीय सोनु गुरुङ, सिता गुरुङ र उदयपुर घर भई तनहुँको शुक्लागण्डकी नगरपालिका २ बस्ने ४१ वर्षे भक्त राई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उपचारका लागि गत ८ असारमा पोखरा आएका स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको बुधबार मध्यराती मृत्यु भएको हो ।डाइबेटिज र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो । योसहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

पहिलो मृतकको शव व्यवस्थापन गर्दा पनि पोखरामा प्रहरी र स्थानीय बीच झडप भएको थियो । प्रदेश सांसद, वडाका जनप्रतिनिधि र स्थानीय विरोधमा उत्रिएपछि त्यतिबेला प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेको थियो ।

‘होमवर्क कम भयो’

डा. कपिल अधिकारी
बुद्धिजीवी

सरोकारवाला प्रशासनले स्थानीयबासीलाई त्यसबाट कुनै असर पर्दैन भनेर बुझाउनुपर्ने थियो । यसतर्फ गृहकार्य कम भएकोजस्तो मलाई लाग्छ ।

बाटो बनाउँदा, धारो राख्दा विश्वास दिलाउनुपर्छ भने शव व्यवस्थापन त झन संवेदनशील कुरा हो । विवाद गर्नुपर्ने ठाउँ थिएन, तर पनि विवाद भयो भनेको राम्रोसँग सुसूचित गर्न नसकिएको हो ।

अन्तिममा गएर बल प्रयोग गर्नु भनेको सुरुमा कमजोर हुनु हो । यस्तो विषयमा भावनासँग नखेलेको भए हुन्थ्यो, पहिल्यै विश्वास दिलाउन सक्नुपथ्र्यो । कोरोना भाइरसबाट मृत्यु भए के गर्ने कहाँ गर्ने भनेर तयारी हुनुपर्ने हो नि ! शव व्यवस्थापन गर्दा जनताले अवरोध गरे के गर्ने भन्ने तयारी हुनुपर्ने हो ।

गोली पड्काउनु त तयारी होइन नि । जनतालाई भेडा भन्न सजिलो छ । तर प्रशासनले जुन तहको तयारी गर्नुपर्ने थियो, त्यसमा होमवर्क कम भएको हो ।

‘उपयुक्त ठाउँ त्यही हो’

मानबहादुर जिसी
मेयर, पोखरा महानगरपालिका

हामीले शव व्यवस्थापनका लागि केही ठाउँमा स्थानीयसँग कुरा गरेका हौं । विरोध समिति र सरोकार समिति बनाएर अवरोध गर्ने वातावरण २/३ ठाउँमा बन्यो ।

स्थानीयलाई पहिल्यै जानकारी दियो भने कहीं छिर्नै दिँदैनन् । त्यहाँ कसैलाई धुलोमुलो लाग्दैन । मजुवामा शव व्यवस्थापन गर्दा खासखास मान्छेसँग कुराकानी भएको हो । तर, नागरिक स्वतः स्फूर्त रुपमा निस्किए ।

दुईपटक विवाद भयो, अब तेस्रोपटकमा निष्कर्ष निस्केला ।हामीले शव व्यवस्थापनका लागि देखेको उपयुक्त ठाउँ मजुवा नै हो । कसैलाई केही असर नपर्ने ठाउँ अन्त छ जस्तो मलाई लाग्दैन ।

हाइवेबाट कसैको वस्ती नछोइ जाने ठाउँ त्यही हो । त्यसैले त्यही ठाउँ उपयुक्त छ र त्यसैलाई स्थायी बनाउनुपर्छ भन्ने सोच महानगरपालिकाको छ ।

तपाईको प्रतिक्रिया